विराटनगर । विराटनगरमा आज विगतमा झैं यस पटक पनि राधाकृष्ण रथयात्रा प्रदर्शन हुँदैछ । अपरान्ह ३ बजेबाट रथयात्रा सुरु हुने छ । विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा नगरका ८ किलोमिटर क्षेत्र परिक्रमा गरी पुनः मन्दिरमै पुगेर समापन गरिने छ ।
खटयात्राको रुपमा ९३ वर्ष पहिले सुरु भएको रथयात्रा विराटनगरमा भब्यताका साथ मनाइने गरिएको छ । रथयात्रा अवलोकन गर्न सुनसरी र मोरङका गाउँगाउँबाट साथै भारतका सीमावर्ती गाउँहरुबाट ठूलोसंख्यामा श्रद्धालु भक्तजनहरु विराटनगर आउने गरेका छन् । रथयात्रामा सयौं झाँकीहरु पनि प्रदर्शन गरिनेछ । यसले रथयात्रालाई भव्यता प्रदान गर्न सहयोग गर्दै आएको छ । रथयात्रालाई भब्य बनाउन विभिन्न धार्मिक संघ संस्था, नागरिक समाज र अन्य सामाजिक संस्थाहरुले पनि स्वतःस्फूर्तरुपमा योगदान गर्दै आएका छन् ।
विराटनगरबाहेक सुनसरीको दुहवी, इटहरी, मोरङको ग्रामथान आदि ठाउँहरुमा पनि मंगलबार रथयात्रा निकाल्ने प्रचलन छ । श्रीकृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट आयोजना हुने रथयात्रालाई महत्व दिँदै कोशी प्रदेश सरकारले भदौ ११ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले वार्षिक क्यालेण्डर प्रकाशन गर्दा नै उक्त दिन प्रदेशभर विदा दिने निर्णय गरेको हो । तर यो विदाको विषयलाई लिएर सामाजिक रुपमा विवादसमेत देखिएको छ । विराटनगरमा हुने रथयात्राका लागि प्रदेशभर विदा दिइनु अव्यवहारिक भएको भन्दै उनीहरुले यस्ता साना पर्व र उत्सवहरुका विषयमा निर्णय गर्ने अधिकार स्थानीय तहसँगै रहनुपर्ने बताइरहेका छन् । कोशी प्रदेशमा मोरङ र सुनसरी बाहेक अन्यत्र रथयात्रा गर्ने प्रचलन खासै छैन ।
महानगरले सिसी क्यामेराले निगरानी गर्ने
यसैबीच विराटनगरमा निकालिने ऐतिहासिक राधाधकृष्णको रथयात्रामा आपराधिक गतिविधि हुन नदिन सिसी क्यामराबाट निगरानी गर्ने जनाएको छ ।
महानगरपालिकाको प्रशासनिक भवनस्थित नगर प्रहरीको कन्ट्रोल रुमबाट रथयात्रा हुने आपराधिक गतिविधिको निगरानी गर्ने जनाएको हो । राधाकृष्ण मन्दिरदेखि रोडशेष चोकसम्म जडान गरिएका सिसी क्यामराबाट सूक्ष्म रुपमा निगरानी गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । रथयात्रामा हुने भीडको फाइदा उठाउँदै चोरी, पकेटमारा, महिलामाथि हुने दुव्र्यवहारलगायत सिसी क्यामराबाट निगरानी गरिने पौडेलले बताए । पौडेलका अनुसार कसैले आपराधिक गतिविधि गरेको पाइए तत्कालै नेपाल प्रहरी र सशस्त्र प्रहरीसित समन्वय गरेर नियन्त्रणमा लिइनेछ ।
रथयात्रा निकालिने राधाकृष्ण मन्दिरदेखि रोडशेषसम्मका विभिन्न चोक र स्थानमा महानगरले जडान गरेका ३७ वटा सिसी क्यामरा विगतदेखि नै सञ्चालनमा ल्याएको छ । रोडशेषदेखि बरगाछीसम्म प्रहरीले जडान गरेका क्यामराबाट जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट निगरानी गरिनेछ ।
महानगरले जडान गरेका ३७ वटा क्यामराको प्रहरीले पनि निगरानी गर्नेछ । हरेक वर्ष राधाकृष्ण रथयात्रामा हजारौंको सहभागिता रहँदै आएको छ । रथयात्रामा विराटनगरसहित आसपासका गाउँपालिकाका साथ भारतका विभिन्न स्थानबाट भक्तजनको सहभागिता रहने गरेको छ । यसपटकको रथयात्रामा करिब ५ लाख भक्तजन सहभागी हुने आयोजकले अनुमान गरेको छ ।