विराटनगर । विराटनगरस्थित कोशी अस्पतलामा खुल्ला विनाप्रतिस्पर्धा नौ जना चिकित्सक नियुक्ति गरेको पाइएको छ । परीक्षा लिएर खुला प्रतिस्पर्धामार्फत योग्य चिकित्सक छनोट गर्ने बाटो छलेर अस्पताल विकास समितिले आफुखुसी ९ जना चिकित्सक नियुक्ति गरेको हो ।
भदौ २ गते अस्पताल विकास समितिका अध्यक्ष डा.फरवार्ड सिलवालको अध्यक्षतामा बसेको बैठकले ६ जना विशेषज्ञ र तीन जना मेडिकल अफिसर नियुक्त गरेको हो । नियुक्त हुनेहरूमा नाक, कान, घाँटी रोग विशेषज्ञ डा.रौनक दाहाल, कन्सल्टेण्ड डर्माटोलोजिष्ट डा.ज्योती कार्की, मनोचिकित्सक डा.सविता खड्का, पेटरोग विशेषज्ञ डा.रोहित यादव, एनएसथेसियाहरु डा.प्रविन झा र डा.राजन राई छन् ।
यसैगरी मेडिकल अपिसरहरुमा डेन्टल विभागमा कार्यरत रहने गरी डा. निमिसा दास, आकस्मिक कक्षको लागि डा.मनोज मनिष साह र आइसियूको लागि डा.विशका गुरुङलाई नियुक्ति गरेको छ । उनीहरुलाई सुरूमा अस्पताल विकास समितिले एक महिना करार अवधि दिएर नियुक्त गरेको छ । तर, उनीहरुको करार थप गर्ने आन्तरिक सहमति रहेको स्रोतले जनाएको छ ।
अस्पतालमा नेपाल सरकारको दरबन्दीमा करारमा ९ तहमा कार्यरत चिकित्सकलाई तह घटुवा गरेर ८ तहमा नियुक्त गरिएको छ । डा.रौनक, डा.ज्योति र डा.रोहित नेपाल सरकारको रिक्त दरबन्दीमा ९ औं तहमा करारमा कोशीमै काम गर्दै आएका थिए । सरकारी दरबन्दीमा सरकारले अर्को स्थायी चिकित्सक पठाउँदा जागिर जाने भएपछि उनीहरुलाई नियमित जागिर खुवाउन विकास समितिको दरबन्दीमा नियुक्ति गरिएको छ ।
अस्पताल विकास समितिबाट एक पटक नियुक्त भएका चिकित्सकलाई हटाउन नसकिने भएकोले कारणले उनीहरुले पहुँचको भरमा विनाप्रतिस्पर्धा नियुक्ति पाएका हुन् । विनाप्रतिस्पर्धा चिकित्सक नियुक्ति गर्दा अस्पतालका कर्मचारी र अन्य चिकित्सकले भने लेनदेन गरेको आरोप लगाएका छन् ।
यसअघि अस्पताल विकास समितिका अध्यक्ष डा.फरर्वड सिलवाल, र मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाको पालामा पनि तीन जना मेडिकल अपिसर नियुक्त गर्ने भनेर दरखास्त आह्वान गरिएको थियो । त्यसबेला पनि निकटलाई नियुक्त गर्ने प्रयास भएको थियो । त्यसबारे समाचार सार्वजनिक भएपछि अस्पतालले विज्ञापन नै स्थगित गरेको थियो ।
कर्मचारी यूनियनले पनि त्यसबेला अस्पतालले चलखेल गरी चिकित्सक नियुक्ति प्रक्रिया नसच्याए आन्दोलनमा उत्रने पनि चेतवनी दिएका थिए । अस्पताल प्रशासनले निकालेको विज्ञापनको चौतर्फी रुपमा आलोचना भएपछि बाध्य भएर तत्कालिन मेसु झा र अस्पताल विकास समिति अध्यक्ष सिलवालले बैठक बसाएर ११ फागुनको लागि लिने भनेको अन्र्तवार्ता स्थगित गरेका थिए ।
त्यसबेला मेसु झा हुँदा विज्ञापन आव्हान गरि अन्तरवार्तासम्म लिने तयारी गरिएको थियो । तर, अहिले ९ जना चिकित्सक नियुक्त गर्दा ठाडो नियुक्ति दिइएको छ । विज्ञापन आव्हन नगरी सुटुक्क नियुक्त गरिनुले मिलेमतो र लेनदेन स्पष्ट हुने अस्पतालका एक जना चिकित्सकले दावी गरेका छन् । ‘योभन्दा ठूलो बद्मासी अर्को हुनै सक्दैन’ उनले भने, ‘त्यसमा आर्थिक लेनदेन लिएर नियुक्त गरिएको हुनसक्छ । यसमा छानविन हुनुपर्दछ ।’
अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.रविराज सिंहले अस्पताल विकास समितिले निर्णय गरेर पुरानो अस्पतालमै काम गर्दै आएका चिकित्सकलाई नियुक्त गरेको बताए । ‘विकास समितिले नियुक्त गर्ने निर्णाय गरेपछि एक महिनाको लागि करारको लागि राखिएको हो,’ उनले भने, ‘अहिले नियुक्त भएका धेरै अस्पतालमा काम गर्दै आएका पुराना चिकित्सकहरु हुन् । विकास समितिको नियमावली अनुसार नियुक्त गरिएको हो ।’
अस्पताल विकास समितिका अध्यक्ष फरवर्ड सिवालले विगत लामो समयदेखि काम गरिरहेका र ज्यालादारीमा काम गरेकोलाई नियुक्ति गरिएको बताए । ‘ज्यालादरीमा काम गरेर अफ्टेरोमा परेकालाई सहजिकरण गरिएको हो’ उनले भने, ‘बाहिरको नयाँ नियुक्त गरेको छैन ।’नयाँ नियुक्त नगरेको अध्यक्ष सिलवालले दावी गरेपनि डा.विशका र डा.सबिता नयाँ हुन् ।
आवश्यक नभएको विभागमा नियुक्ति
अस्पतालमा आवश्यक नभएको विभागमा पनि चिकित्सक नियुक्ति गरेको पाइएको छ । कोशीमा एक दर्जन बढी विभागहरु रहेका छन् । तर, चिकित्सक चाहिएका विभागमा नियुक्ति नगरेर धेरै चिकित्सक भएको विभागमा मेडिकल अफिसर नियुक्त गरेको पाइएको छ ।
कोशीको डेन्टल विभागमा नेपाल सरकारको दरबन्दी, विकास समिति र छात्रवृत्ति करारका गरि ९ जना चिकित्सक कार्यरत छन् । डेन्टलको ओपीडीमा दैनिक ७० देखि ९० जना विरामी आउने गर्दछन् । ९ जना चिकित्सकको भागमा दैनिक बढीमा १० जना विरामी सरदर हेर्दै आएका छन् । सोही विभागमा एक जना मेडिकल अफिसर नियुक्त गरिएको छ ।
‘यसअघि नै चिकित्सकलाई बस्ने कुर्सी नभएको विभागमा फेरि चिकित्सक नियुक्त गरेर कोशीमा छुट्टै डेन्टल अस्पताल चलाउन लागे जस्तो छ’ एक चिकित्सकले भने, ‘अस्पतालमा न्यूरो सर्जरी विभाग र एनआइसियू सञ्चालन गर्न चिकित्सक आवश्यक भएपनि त्यहाँ नियुक्त भएन ।’
जनशक्ति नहुँदा न्युरोमा समस्या
कोशी अस्पतालको न्यूरो सर्जरी सेवा सुरु भएको दुई वर्ष हुन लागेको छ । दुई वर्ष हुन लाग्दा पनि एक जना न्यूरो सर्जनले अस्पतालको न्यूरो विभाग थेगिरहेका छन् । न्यूरो सर्जरी विभागको लागि एक जना मेडिकल अधिकृत राख्नुपर्ने माग भएपनि सुनुवाई भएको छैन ।
न्यूरो सर्जरी विभागमा दैनिक ३० देखि ४० जना ओपीडिमा विरामी आउने गरेका छन् । हप्ताको प्रत्येक मंगलबार शल्यक्रिया हुने गरेको छ । शल्यक्रियापछि विरामीलाई न्यूरो आइसियूमा राख्नुपर्ने हुन्छ । तर, कोशीमा छुट्टै न्युरो आइसियू छैन ।
न्यूरो आइसियू छुट्टै राख्नुपर्ने अस्पतालका चिकित्सकले माग गर्दै आएका छन् । तर, अहिलेसम्म कुनै सुनवाइ भएको छैन । शल्यक्रिया गरिएको विरामीलाई अहिले जनरल आइसियूमा राखेर उपचार गरिदै आएको छ ।