इटहरी, ३ फागुन
सुनसरीको इटहरीका मेयर द्वारिकलाल चौधरी र खानेपानी संस्था इटहरीका अध्यक्ष रामप्रसाद चौलागाईबीच मिलापत्र भएको छ ।
एकअर्काविरुद्ध सार्वजनिक गालीगलौज गर्दै आएका दुबैजना विगतमा भएका कमिकमजोरी सच्याउँदै पार्टी संगठन सुदृढ बनाउने सहमति गरेका छन् ।
दुवैको आत्मालोचनापछि विगत लामो समयदेखि जारी विवाद समाधान भएको हो । दुवै जनाले हात मिलाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । नेकपा प्रदेश नम्बर १ का इञ्चार्ज भिमप्रसाद आचार्य, सचिब सुरेशकुमार राईसहितको पहलमा दुवै नेताले आफ्नो कमजोरी स्वीकार गर्दै सहमतिमा अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
विगत केही महिनायता रामप्रसाद चौंलागाई बिरुद्ध मेयर चौधरी आक्रामक तरिकाले प्रस्तुत हुँदै आएका थिए । पछिल्लो समयमा चौलागाईसमेत मेयर चौधरीको विरुद्ध खरो उत्रिएका थिए । दुवैको आरोप प्रत्यारोपले इटहरीमा नेकपाको संगठनमा नकारात्मक असर परेको भन्दै नेकपाका नेताहरुले चिन्ता व्यक्त गर्दै आएका थिए ।
चौलागाईंले सार्वजनिक जग्गा अतिक्रमण गरेर घर बनाएको भन्दै मेयर चौधरीले खाली गर्न सूचना टाँसेका थिए । उता चौलागाईले भने खानेपानीको जग्गा खरिदमा ४५ लाख कमिसन चौधरीले मागेकोमा नदिएपछि आफ्नो विरुद्ध लागेको बताएका थिए ।