उदयपुरका हिमाल कार्की मन्त्री बन्न गुट परिवर्तन गर्दै

शेखरलाई २ मन्त्री दिन शेरबहादुर तयार, तीन जनाको नाम टुंगिएको दाबी

काठमाडौं । नेपाली काँग्रेसबाट कोशी प्रदेश सरकारमा सहभागी हुने तीन जना सांसदको अन्तिम नामावली तयार भएको छ । अरू २ जनाको नाम फाइनल गर्ने अन्तिम तयारीमा रहेको काँग्रेस स्रोतले जनाएको छ ।

नेपाली काँग्रेस कोशी प्रदेशका उपसभापति रमेशजङ्ग रायमाझीले खोटाङका भुपेन्द्र राई, ताप्लेजुङका खगेनसिं हाङ्गामलाई फूल मन्त्री र सोलुखुम्बुकी डोल्मा तामाङलाई राज्यमन्त्री बनाउने विषयमा लगभग टुंगो लागिसकेको बताए । ‘यी नामहरुको यसअघि नै टुंगो लागिसकेको हो । तर, अहिले परिस्थिति फेरबदल पनि हुनसक्छ,’ उनले भने ।

यसैबीच स्रोतले दिएको जानकारी अनुसार उदयपुरका हिमाल कार्की मन्त्री बन्नकै लागि गुट परिवर्तन गर्ने तहमा पुगेको बताइएको छ । ‘अबको तीन दिनभित्रमा मन्त्रीको नामावली टुंगो लाग्छ । संस्थापन पक्षबाट एक जना फूल मन्त्री र एक राज्य मन्त्री लिने तथा डाक्टर शेखर कोइराला पक्षलाई दुईवटा फूल मन्त्री दिने कुरामा सहमति भएको बुझेको छु,’ स्रोतले भन्यो ।

उक्त स्रोतका अनुसार कार्कीले केही दिन अगाडि पार्टीका महामन्त्री विश्वप्रकाशलाई लिएर उपसभापति पूर्णबहादुर खड्कासँग मन्त्री बनाउने लविङका लागि पुगेका थिए । त्यही कारण पनि पुर्णबहादुर खड्काले कार्कीलाई मन्त्री बनाउन जोड गरेको बुझिन्छ । यसअघि संस्थापन पक्षमै रहेका उपसभापति खड्काले हाल क्याम्प परिवर्तन गर्दै आफ्नै समूह निर्माणमा लागेको बताइन्छ ।

कार्की पनि यसअघिसम्म संस्थापन पक्षमै थिए । यद्यपि विद्यार्थी राजनीतिदेखि नै उनी महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग नजिक थिए । नेपाली काँग्रेस उदयपुरका सभापति समेत रहेका कार्कीले यसअघि जिल्लामा आयोजित एक कार्यक्रममा महामन्त्री गगन थापालाई प्रमुख अतिथि बनाएर कार्यक्रम गरेका थिए । त्यसपछि कार्कीसँग देउवा चिढिएको कतिपय बताउँछन् । अहिले पनि देउवा समूहबाट हिमाल कार्की, अमृत अर्याल, प्रदिपकुमार सुनुवार, खगेनसिंह हाङ्गाम पनि मन्त्री बन्ने लविङमा छन् ।

मङ्गलबार, २९ साउन, २०८१, दिउँसोको ०१:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर