विराटनगर । विराटनगर नगर महानगरपालिकाले स्थानीय पाठ्यक्रम स्वीकृत गरी लागू गरेको चार वर्ष पूरा भएको छ । शैक्षिक सत्र २०७७ सालदेखि स्थानीय पाठ्यक्रम अनुसार महानगरमा लागू भएको ‘हाम्रो विराटनगर’ विषयको पठनपाठन चालु शैक्षिक सत्रमा कक्षा १ देखि ८ सम्म अनिवार्य गरिएको छ ।
महानगरले स्थानीय पाठ्यक्रम लागू गरेको यतिका वर्ष बितिसक्दा पनि विद्यार्थीहरुले भने पाठ्यपुस्तक देख्न पाएका छैनन् । हतारमा पाठ्यक्रम लागू गर्ने तर आवश्यक पाठ्यसामग्री उपलब्ध नगराउने प्रवृत्ति विराटनगरमा पनि देखिएको हो ।
प्रारम्भमा कक्षा १ देखि ३ सम्मबाट स्थानीय पाठ्यक्रम लागू गरेको महानगरले चालु शैक्षिक सत्रमा कक्षा ८ मा पनि पाठ्यक्रम अनिवार्य लागू गरेको छ । तर कक्षा १ देखि ८ सम्मकै विद्यार्थीको हातमा भने पाठ्यक्रम पुगेको छैन । यसले विद्यार्थीहरुको पठनपाठनमा समस्या भएको छ । पाठ्यक्रम लागू भएको पाँच वर्षसम्म पाठ्यपुस्तक तयार नगर्दा महानगरको विषयमा विद्यार्थीहरुले एकरुपतामा जानकारी पाउन नसकेको एक जना शिक्षकले बताए । अर्कोतिर तथ्य र तथ्यांकहरुमा पनि एकरुपता नहुने समस्या देखिएको छ । यसले विद्यार्थीहरु अलमलमा पर्ने समस्यासमेत देखिएको छ ।
स्थानीय पाठ्यक्रम लागू गरेको महानगरले हरेक कक्षामा १०० पूर्णङ्कको परीक्षा लिने गरेको छ । सय पूर्णाङ्कको परीक्षाको तयारी गर्नुपर्ने विद्यार्थीलाई सन्दर्भ सामग्रीको अभाव हुँदा शिक्षकले पढाएको सीमित जानकारीमा आधारित हुनुपर्ने समस्या रहेको छ । वर्षमा १२८ घण्टा उक्त विषय पठनपाठन हुनुपर्ने व्यवस्था रहेकोमा विद्यालयहरुले मुस्किलले ३०–४० घण्टा मात्र उक्त विषय पढाउने गरेका छन् । अवस्था कतिसम्म छ भने विराटनगर महानगरपालिकाको नक्शा बनाउन लगाउँदा विद्यार्थीहरुले परीक्षामा नेपालको नक्शा बनाइदिने गरेका छन् । विद्यार्थीहरुले नक्शा अभ्यास गर्ने र महानगरको भूगोलको बारेमा विस्तृतमा अध्ययन गर्ने अवसर नपाउँदा त्यस्तो समस्या आएको ती शिक्षकको भनाइ थियो ।
विराटनगर महानगरपालिकाले अहिलेसम्म कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तकको पिडिएफ सामग्री तयार गरेको जनाएको छ । महानगर शिक्षा समन्वय शाखाका प्रमुख कृष्णप्रसाद भट्टराईले कक्षा ३ सम्मको पाठ्यपुस्तक शिक्षकहरुको हातमा पुगिसकेको जानकारी दिए । उनले बाँकी कक्षाको पाठ्यपुस्तक लेखनको काम पनि सुरु गरेको जानकारी दिए । ‘पाठ्यपुस्तक नभए पनि हामीले पठनपाठनका लागि करिकलम उपलब्ध गराएका छौं, सोही करिकलकमा आधारमा विद्यालयहरुले पठनपाठन गर्दै आएका छन्,’ उनले भने ‘स्थानीय विषयवस्तु र सुनेजानेकै विषय हुने भएकोले पाठ्यपुस्तक जरुरी पर्दैन भन्ने थियो तर शिक्षकहरुले पाठ्यपुस्तकबिना पढनपाठन सहज नहुने बताएपछि हामीले पुस्तक तयार गर्न थालेका छौं, अहिलेसम्म कक्षा १ देखि ३ सम्मको पुस्तक तयार भइसकेको छ, बाँकी कक्षाका पाठ्यपुस्तक लेख्ने काम पनि सुरु गरिएको छ ।’
कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक पनि शिक्षकका लागि मात्र महानगरले उपलब्ध गराएको छ । विद्यार्थीहरुको हातमा पुस्तक पुग्न सकेको छैन । भट्टराईले भने ‘शिक्षकसम्मका लागि पुस्तक उपलब्ध गराएका छौं अब दसैंसम्ममा टेण्डर लगाएर पुस्तक छपाइको काम गर्छौं, हामीलाई पुस्तकको पिडिएफप्रति प्राप्त भइसकेकोले यसै शैक्षिक सत्रमा कक्षा १–३ का विद्यार्थीले स्थानीय पाठ्यपुस्तक ‘हाम्रो विराटनगर’ प्राप्त गर्नेछन् ।’
विराटनगर महानगरले लागू गरेको पाठ्यक्रम महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुका लागि अनिवार्य छ । तर अधिकांश संस्थागत विद्यालयहरुले भने हाम्रो विराटनगरको करिकलम पठनपाठन गराइरहेका छैनन् । लागू गरेका संस्थागत विद्यालयहरुले पनि झारा टार्ने हिसाबले मत्र उक्त विषय अध्यापन गराउने गरेका छन् । चालु शैक्षिक सत्रबाट कक्षा ८ मा पाठ्यक्रम लागू भएको र त्यसको अन्तिम परीक्षा महानगरले नै सञ्चालन गर्ने भएकोले कक्षा ८ मा भने चालु शैक्षिक सत्रबाट पठनपाठन सुरु गरेको संस्थागत विद्यालयहरुले जानकारी दिएका छन् तर त्यो भन्दा तल्ला कक्षाहरुमा भने उक्त विषय केही विद्यालयले मात्र पढाइरहेका छन् । महानगरपालिकाले संस्थागत विद्यालयहरुमा आफूले लागू गरेको पाठ्यक्रम अनुसार पठनपाठन भएनभएको विषयमा अनुगमन गरेको छैन । जसले गर्दा संस्थागत विद्यालयहरुले उक्त विषयलाई प्राथमिकतामा नराखेका हुन् । तर औपचारिकरुपमा भने निजी विद्यालयहरुले स्थानीय पाठ्यक्रमलाई मिलाइजुलाई पढाइरहेको बताउने गरेका छन् । प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठले संस्थागत विद्यालयहरुले स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो विराटनगर’ पढाइरहेको बताए । उनले भने ‘महानगरले लागू गरेको पाठ्यक्रम हामीले पढाइरहेका छौं, तर विद्यार्थीको हातमा पुस्तक दिन भने सकिएको छैन, मिलाएर सबैले पढाइरहेकै छन् ।’
यसैबीच विराटनगर महानगरपालिकाले गतवर्षबाट सुरु गरेको खेल्दै सिक्दै कार्यक्रम सञ्चालन कार्यविधिमा परिमार्जन गरेर चालु शैक्षिक सत्रबाट लागू गरेको छ । हरेक मंगलबारका दिन कम्तिमा पाँच घण्टा विद्यार्थीहरुलाई पाठ्यपुस्तकभन्दा बाहिरको विषयवस्तुमा आधारित ज्ञान दिने गरी तयार गरिएको कार्यविधि परिमार्जन गरी शुक्रबारका दिनलाई बुक फ्रि डे को रुपमा सञ्चालन गर्ने व्यवस्था गरेको छ । यो व्यवस्था सामुदायिक विद्यालयहरुमा करिब लागू गरिएको छ । तर संस्थागत विद्यालयहरु भने सबैले लागू गरेका छैनन् । महानगरपालिकाले बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन, बालबालिकाको सामाजिक, बौद्धिक तथा संवेगात्मक सिपको विकास गर्न, राष्ट्रिय र सामाजिक भावना जागृत गराउन, स्थानीय कला, भाषा, संस्कृति संरक्षणमा योगदान गर्न, शारीरिक तथा मानसिक विकास गराउन, वातावरण, सरसफाइमा अभिप्रेरित गर्दै नेतृत्व क्षमता विकास गर्नका लागि यो कार्यविधि लागू गरेको जनाएको छ । तर त्यस अनुरुप व्यवहारमा कार्यान्वयन नहुँदा अतिरिक्त सिकाइतर्फ विद्यार्थीहरु कमजोर बन्दै गएका छन् ।
महानगरले तयार गरेको कार्यविधिमा शुक्रबारका दिन सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप कसरी सञ्चालन गर्ने, कुन विषयमा कम्तिमा के के सिकाउने आदि विषयलाई स्पष्ट गरेको छ । अतिरिक्त क्रियाकलापमा सम्पूर्ण विद्यार्थी र शिक्षक अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।