विराटनगर । काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा भइरहेको काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि आज नेपालले भारतको सामना गर्दैछ ।
सेमिफाइनलमा नेपालले इरानलाई तथा भारतले श्रीलंकालाई सोझो सेटमा हराएर फाइनल भेट पक्का गरेका हुन् ।
प्रतियोगितामा नेपाल भारतबीच खेल हुन लागेको यो दोस्रो पटक हो । लिग चरणमा नेपालले पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा गत शनिबार भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको त्यो नै पहिलोपटक थियो ।
लिग चरणको प्रदर्शनलाई कायम राख्दै भारतलाई फेरि हराएर उपाधि घरमै राख्ने नेपालको लक्ष्य छ । लिग चरणमा नेपाल र भारतबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । जहाँ नेपालले भारतलाई २५–१८, १२–२५, २५–१७, २५–१ र १५–१३ ले पराजित गरेको थियो ।
पछिल्लो पाँच वर्षमा नेपालले भारतसँग ५ पटक खेल्दा पहिलोपटक पराजित गरेको हो । सन् २०१९ मा काठमाडौंमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल भारतसँग पाँच सेटमै खेलमा पराजित भएको थियो । त्यसअघि समूह चरणमा नेपाल सोझो सेटमा पराजित भएको थियो ।
यस्तै गत वर्ष काठामाडौंमै भएको काभा वुमन्स च्याल्नेज कप र चीनको हान्जाउमा भएको १९ औं एसियाडमा नेपाल भारतसँग समान ४–१ ले पराजित भएको थियो । भारतलाई पहिलोपटक हराउने लक्ष्य पूरा गरिसकेको नेपाल अब फाइनलमा पराजित गर्दै इतिहास रच्ने योजनामा छ ।
अरुणा शाहीको कप्तानीमा रहेको नेपालले लिग चरणमा इरानविरुद्ध प्रतिस्पर्धात्मक खेल हारेको थियो । पछि रणनीतिमा परिवर्तन गर्दै त्यही इरानविरुद्ध सेमिफाइनलमा सोझो सेटमा नेपालले जित निकालेको थियो । यसबाट नेपाली टोली उत्साहित छ ।
नेपालको मुख्य स्पाइकर निरुता ठगुन्ना र उषा भण्डारी हुन् । फाइनलमा पनि दुवैले त्यही लय कायम राखे विपक्षीका लागि यी दुई खेलाडीलाई रोक्न कठिन हुनेछ । उनीहरुलाई मिडल ब्लकर सुमित्रा रेग्मी र अपोजिट हिटर सरस्वती चौधरीले राम्रो साथ दिइरहेका छन् । नेपाली लिबेरो सलिना श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् ।
नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले भारतको स्पाइक र ब्लक नेपालभन्दा राम्रो रहेकोले त्यसलाई रोक्न सके खेल जित्न नेपाललाई सहज हुने बताएका थिए ।
दक्षिण एसियाली स्तरको धेरै खेलकुदमा नेपालको मुख्य प्रतिस्पर्धी भारत रहँदै आएको छ । सन् २०१९ को दक्षिण एसियाली खेलकुद र सन् २०२३ को काभा वुमन्स च्यालेन्ज कपमा नेपालले घरेलु मैदानमा भारतसँग हारका कारण उपाधि गुमाएको थियो ।