सम्पादकीय
स्वास्थ्य विमा प्रभाबकारी नभएको कारण नेपालमा नागरिकहरुले आफ्नो सम्पत्तीको ठूलो हिस्सा स्वास्थ्य उपचारमा खर्च गर्ने गरेका छन् । सरकारी स्वास्थ्य संस्थाको उपचार राम्रो नभएकोले निजी स्वास्थ्य संस्थामा उनीहरु जानुपर्ने बाध्यता हुन्छ । त्यस्ता कतिपय संस्थाहरुले स्वास्थ्यउपचार जस्तो पवित्र र संवेदनशील पेशामा पनि ठगीधन्दा चलाएका छन् । उपचारको लागि आएको विरामीलाई निको बनाउने भन्दा कमाईखाने माध्यम बनाउने नियत राखेको त्यस्ता अस्पतालहरुको विगविगी पाइन्छ । विराटनगरमै पनि नाम चलेका अस्पतालहरुमा त्यस्तो ठगी धन्दा चलेको पाइन्छ । ठगीको एउटा प्रकारण विरामी ल्याउन एम्बुलेन्स चालकहरुलाई मोटो रकम कमिसन दिनु पनि हो । विरामी लगेवापत चालकलाई रकम दिने भएकोले जुन अस्पतालले बढी रकम दियो त्यहि अस्पतालमा एम्बुलेन्स चालकले विरामीलाई पुर्याउने गरेका छन् । कसिसन धेरै दिने अस्पतालको सेवा राम्रो रहेको भन्दै खासगरी ग्रामिण क्षेत्रका विरामी र आफन्तलाई चालकले प्रभावित बनाउने गरेको देखिन्छ । जसबाट विरामीहरु ठगिइरहेका छन् ।
मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरका ३१ वर्षीया रञ्जित टुडु यस्तै ठगीमा परे । पेट दुखेपछि २८ असारमा विराटनगरस्थित कोशी अस्पतालमा उपचारको लागि आएका उनलाई कोशी अस्पतालले थप उपचारको लागि रेफर गरेको थियो । विराट मेडिकल कलेज जान तयार भएका उनीहरुलाई एम्बुलेन्सका चालकले विराटभन्दा राम्रो र सस्तोमा उपचार हुने भन्दै श्री हस्पिटलमा पुर्यायो । सोझासिधा विरामी र आफन्त विश्वासमा परेर श्री हस्पिटलमा पुगे । उनको पेटको शल्यक्रियापछि ३ लाख २० हजारको बिल हस्पिटलले दिँदा मात्र विरामी र आफन्त छाँगाबाट खसेजस्तो भएका थिए । ५०–६० हजारमा उपचार सकिने आसमा रहेका उनीहरुले हस्पिटललाई घरमा भएका चौपाया बिक्री गरेर र ऋण खोजेर १ लाख ४५ हजार बुझाए । तर, हस्पिटलको थप १ लाख ५० हजार र फार्मेसीको ५० हजार गरि थप २ लाख रुपैयाँ नदिएसम्म विरामी लैजान नदिने भन्दै श्री हस्पिटलले उपचार सकिएका विरामीलाई ‘बन्धक’ बनायो । सोझासिधा विरामीलाई कसरी अस्पतालले एम्बुलेन्स चालक प्रयोग गरेर ठगी गर्छ भन्ने त्यो एउटा नमुना हो ।
अस्पतालले ठूलो रकम तिर्नुपर्ने बताएपनि विरामीको परिवारसँग त्यो हैसियत थिएन । त्यसलै उनीहरुले प्रदेशका मन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीसम्मलाई गुहार मागे । तर, हस्पिटलले बाँकी पैसा तिर्नैपर्ने बताएपछि आफू ठगिएको भन्दै पत्रकार सम्मेलनको तयारीमा पीडित परिवार जुट्यो । आफ्नो कर्तुत बाहिर आउने भएपछि हतारहतार हस्पिटलले बाँकी सबै रकम मिनाहा गरिदियो । उपचारको क्रममा यति ठूलो रकम छुट विरलै पाइन्छ । तर, श्री हस्पिटलले चर्को शुल्क असुल्ने प्रयास गरेकैले त्यो रकम छुट गर्न तयार भएको स्पष्ट देखिन्छ । स्वास्थ्य उपचारमा कुन सेवाको कति शुल्क लिने भन्ने मापदण्ड नभएकै कारण अस्पतालहरुले लुट नै मच्चाएका छन् । एम्बुलेन्स चालकलाई कमिसन दिएर विरामी आफ्नो अस्पतालमा ल्याएर चर्को शुल्क असुल गर्न त अपराध नै हो । तर, त्यो काम खुलेआम भइरहेको छ । श्री हस्पिटल मात्र हैन, गोल्डेन अस्पताल, ग्रिनक्रस हस्पिटल, सञ्जीवनी हस्पिटल, लाइफगार्ड अस्पताललगायतले यो धन्दा चलाएका छन् । एम्बुलेन्स चालकले विरामी लगेवापत अस्पतालले रकम दिने स्वीकार गर्छन् । यो प्रकरणको गम्भीर अनुसन्धानको खाँचो छ । उपचारको नाममा ठगी गर्नेहरुलाई कडाभन्दा कडा कार्वाही हुनुपर्छ ।