बिर्तामोड । जनता समाजवादी पार्टी नेपालको युवा संगठन समाजवादी युवा संघ नेपालका कोशी प्रदेश अध्यक्ष टाइसन केरुङसहित विभिन्न पार्टीका सयौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्र प्रदेश कमिटीले शनिबार झापाको विर्तामोडमा आयोजाना गरेको कार्यक्रममा नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको हो ।
पार्टी प्रवेश गर्नेमा समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष केरुङसहित प्रदेश उपाध्यक्ष दिपेन लिम्बु, सहसचिव दिपेन जबेगु, प्रदेश सदस्य तेन्जिङ लामा, नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य राजभक्त योङ्ग्या, नेकपा एमाले झापाका पूर्व जिल्ला सदस्य छवि गहतराज, महिला उद्यमी जय सुब्बा, नर्वदा कार्कीलगायत छन । योङ कम्युनिस्ट लिग (वाइसीएल)को पहलमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सयौँको संख्यामा युवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा केरुङले आफूसँगै समाजवादी युवा संघ नेपालको सिङ्गो कमिटी माओवादीमा प्रवेश गरेको बताए । माओवादी कमजोर हुँदा प्रतिक्रियावादीहरू सलबलाउन थालेको बताउँदै उनले संघीयता, धर्म निरपेक्षता, पहिचान लगायतका मुद्दा उठाउने पार्टीलाई सशक्त बनाउनका लागि आफूहरू माओवादीमा प्रवेश गरेको बताए ।
एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका छविराज गहतराजले समावेशिता, संघीयता, धर्मनिरपेक्षतालगायतका मुद्दा माओवादी केन्द्रले उठाएको बताउँदै आफू माओवादी केन्द्रमा प्रवेश गरेको उल्लेख गरे । उनले माओवादीलाई २०६४ सालको अवस्थामा पुर्याउँन सबै सच्चा कम्युनिष्टहरू माओवादी केन्द्रमा गोलबन्द हुनुपर्ने बताए ।
नेपाली कांग्रेस परित्याग गरी पार्टी प्रवेश गरेका रामभक्त योङ्याले १९ वर्षपछि आफू आफ्नै घरमा फर्किएको बताए । परिवर्तनको पक्षधर माओवादीप्रति ठूला दलले घेराबन्दी गरेको बताउँदै उनले पहिचान पक्षधर एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले झापामा २०६४ सालको अवस्था आउने बताए । माओवादी जनयुद्धको नेतृत्व पश्चिमले गरेको बताउँदै अब समाजवादी क्रान्तिको नेतृत्व पूर्वले गर्ने उनले उल्लेख गरे । २०७० सालमा संविधानमा माओवादीका एजेण्डा स्थापित हुन नदिनका लागि कांग्रेस र एमालेले सरकार बनाएको स्मरण गराउँदै उनले भने, ‘त्यो बेला सदन र सडकबाट सङ्घर्ष गरेर हामीले अग्रगामी संविधान बनायौं । अहिले त्यो संविधानलाई परिवर्तन गर्नका निमित्त फेरि प्रमुख दुई दलले सरकार बनाएका छन् ।’
प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार लगायतका विषयमा जनपक्षीय काम गर्न थालेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय दबाबमा दुई दल मिलेको गजुरेलको दावी छ । सबै माओवादी घटक एक ठाउँमा उभिने अवस्था आएको भन्दै उनले पार्टी र नेतृत्व कमजोर नहुने दाबी गरे ।
पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मौसमले मुलुकको राजनीतिक परिवर्तन माओवादीकै कारण भएको बताए । प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व पार्टीको रहेको बताउँदै उनले माओवादीलाई घेराबन्दी गर्न कांग्रेस एमालेले मध्यरातमा सहमति गरेकोले त्यसको भण्डाफोर गर्नुपर्नेमा जोड दिए ।
पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले यो पार्टी प्रवेश कार्यक्रम कास्टिङ मात्र भएको बताउँदै कांग्रेस एमालेका केन्द्रीय तहका नेतासहित ठूलो पंक्ति माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा रहेको खुलासा गरे । उनले भने, ‘हामी निरन्तर छलफलमा छौं छिट्टै अर्को भव्य कार्यक्रम गरेर ठूलो संख्यामा पार्टी प्रवेश गराउने तयारी भइरहेको छ ।’
पार्टी प्रवेश गर्नेहरु सबैलाई उपयुक्त जिम्मेवारी दिने माओवादी केन्द्रले जनाएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरिकुमार राना, ,सदस्य धर्मशिला चापागाईं, झापा संयोजक राजु आचार्य अग्नि, वाइसीएलका केन्द्रीय सचिव डम्बर पुलामीलगायतले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए ।
good