पुण्य पि अधिकारी
कांग्रेसका विद्रोही केही सांसदलाई लिएर एमालेसँगको सहकार्यमा प्रदेशको मुख्य मन्त्री भएका केदार कार्की अहिले कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हुन् । मुख्यमन्त्री भएको अवस्थामा केदार कार्की सधैँ चर्चामा रहे । मुख्यमन्त्री हुनकै लागि कांग्रेसभित्र बाट देखाएको साहस होस् वा अटेरीपनले होस् वा लाष्ट वेञ्चर म मुख्यमन्त्री भए भन्ने सार्वजनिक अभिव्यक्तिले केदार कार्की सधैँ चर्चामै रहे ।
हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ती बदरको माग गर्दै अदालत धाउँदा पनि केदार कार्की चर्चामै थिए । अदालतले कार्कीले दायर गरेको रिटमा पूर्ण इजलासमा सुनुवाईमा गर्नुको सट्टा रिट नै खारेज गर्दा पनि पूर्व मुख्यमन्त्री कार्की चर्चामै रहे ।मुख्यमन्त्री पदमा हुँदा जनावरमैत्री अभियान भन्दै चारकोशे झाडी घुमेर होस् वा मुख्यमन्त्रीबाट बाहिरिएपछि कर्मचारीलाई चुट्छु भनि फोनमा दिएको धम्कीले होस् मुख्यमन्त्री चर्चा मै रहे ।
राजनीति गर्नेहरूमा सधैँ मिलनसार व्यवहार र स्वभाव मात्र हुन्न । कहिले काँही विद्रोही स्वभाव पनि हुन्छ भन्ने प्रमाण केदार कार्कीले मुख्यमन्त्रीमा नियुक्त हुँदै गर्दा होस् वा कर्मचारी कुट्ने विषयको सन्दर्भमा होस्, विद्रोही स्वभावको प्रमाण पेश गरेकै थिए ।
केदार कार्की मुख्यमन्त्री हुँदा कोशी प्रदेशका बालबालिकाको निशुल्क उपचार हुने कार्यक्रम प्रदेशवासीले सबैभन्दा रूचाएको कार्यक्रम थियो । गरिब, निमुखा र उपचारबाट वञ्चित हुँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका लागि केदार कार्कीले मुख्यमन्त्री हुँदा ल्याएको बालबालिकाको निशुल्क उपचार कार्यक्रम आँँफैमा महत्वपूर्ण कार्यक्रम थियो । जुन कार्यक्रमका लागि प्रदेशवासीले केदार कार्कीलाई आशिर्वाद समेत दिएका थिए ।
कोशी प्रदेशको सत्ताबाट बाहिरिएको केही समयपछि केदार कार्कीले पुन एउटा विद्रोहको सुरूआत गरेका छन् । जुन सत्तामा हुनेहरूका लागि अरूचिकर भएपनि कार्कीले उठाएका प्रश्नले भने प्रदेशवासी प्रत्येक नागरिकको प्रतिनिधित्व गरेको छ ।
कोशी प्रदेशका बालबालिकाको निशुल्क उपचारका लागि खर्च धान्न नसक्ने भन्दै वर्तमान सरकारले सो कार्यक्रमलाई हटाएको छ । तर, मीतव्ययी खर्चको सट्टा सवारीसाधनको मोह, फजुलको खर्च, कर्मचारीलाई खुशी पार्नकै लागि अनेक शीर्षक र खाजा भत्ता भन्दै जनताको करलाई दुरुपयोग गरिएको विषयलाई केदार कार्कीको विद्रोहीले प्रतिकात्मक रूपमा उठान गरेको छ ।
पूर्वमुख्य मन्त्रीले वर्तमान सरकारविरुद्ध उठाएका प्रश्नहरूको जबाफ सरकारले पक्कै दिन्छ होला । हामीले अहिलेलाई प्रदेश सरकारको जबाफको आशा गर्नु नै आम प्रदेशवासीका लागि श्रेयकर हुनेछ । अन्त्यमा प्रदेशवासीले कोशी सरकारविरूद्ध गर्नुपर्ने विद्रोहको सुरूआत केदार कार्कीले गरेको हो वा होइन खुट्याउन अन्त्यन्त जरूरी छ ।