कोरियन विश्वविद्यालयद्वारा पूर्वाञ्चल विश्वविद्यालयलाई तीन हजार डलरको छात्रवृत्ति दिने

विराटनगर । कोरियन विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षा अध्ययरत विद्यार्थीलाई वार्षिक तीन हजार अमेरिकी डलरको छात्रवृत्ति दिने भएको छ ।

लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेसन चाङवन युनिभर्सिटी दक्षिण कोरियाका निर्देशक प्राध्यापक दा योङ जङ र पूर्वाञ्चल विश्वविद्यालय शिक्षा संकायका डीन प्रा. डा. अनिल पोखरेलबीच शुक्रवार विराटनगरमा छात्रवृत्ति सम्बन्धमा हस्ताक्षर भएको हो । कोरियन विश्वविद्यालयले यसअघि वार्षिक तीन सय अमेरिकी डलर छात्रवृत्ति दिँदै आएकोमा दश गुणा बढाएर तीन हजार डलर पु¥याएको हो । कोरियन विश्वविद्यालयले छात्रवृत्ति रकम दश गुणा बढाएकोमा डीन पोखरेलले कोरियाली विश्वविद्यालय र प्रा. जङलाई धन्यवाद ज्ञापन गरे ।

प्राध्यापक जङले विशेष आवश्यकता शिक्षाका विद्यार्थी तथा प्राध्यापकहरूसँग अन्तरकृया समेत गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपती प्रा. डा. बिजुकुमार थपलियाको निमन्त्रणा स्वीकार गर्दै प्राध्यापक जङले पूर्वाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पस र केन्द्रीय कार्यालयको अवलोकन भ्रमण गरेका छन् ।

विशेष आवश्यकता शिक्षाको स्नातक तहको अध्यापन पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोकमा हुँदै आएको छ । विद्यार्थी र प्राध्यापक आदान प्रदान कार्यक्रम अन्तर्गत विशेष आवश्यकता शिक्षामा अध्ययनरत तीन जना विद्यार्थी र एक जना प्राध्यापक केही साता पछि कोरिया जाँदैछन् । विद्यार्थी तथा प्राध्यापक आदान प्रदान कार्यक्रममा कोरिया जाने प्रकृया शुरू भइसकेको क्याम्पस प्रमुख महेश प्रसाद निरौलाले जानकारी दिए ।

शनिबार, १२ साउन, २०८१, रातीको ०९:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर