विराटनगरमा मिटरब्याजीको बिगबिगी, पीडितले पाउँदैनन् न्याय !

‘एसपी, सिडियो र डिआइजीसमेतलाई मिलाइदिने भन्दै बिचौलिया सक्रिय’

विराटनगर । विराटनगरका राजु केबट मिटरब्याजीको फन्दामा परे । तीन जना सन्तानका बाबु उनले घर खर्च चलाउन मिटरब्याजीकै साहरा लिनुप¥यो । फार्मेसीमा काम गर्ने उनले मिटरब्याजमा लिएको ५ लाख रुपैयाँको १२ लाख तिरे । तर, थप पैसा तिर्न साहुको ताकेता आएपछि अब नसक्ने भन्दै उनी जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा न्यायको लागि गुहार माग्न गए ।

उनको निवेदनको कुनै सुनुवाई भएन । निवेदनको सुनुवाई नहुँदा उनी आफन्त र साथीभाईसँग गुनासो गर्थे । जिल्ला प्रशासन कार्यालय अगाडि रुन्थे । छोराछोरी र ‘श्रीमतीले दुःख पाउने भए’ भन्थे । यतिकैमा उनले तीन हप्ताअगाडि आत्महत्या गर्न पुगे । उनलाई चिने जानेका साथीहरू भन्छन्, ‘जिल्ला प्रशासनमा उजुरी दिए म सखाप पारिदिन्छु । मर्न सक्छस् । मैले सिडिओ, एसपी सबै मिलाएको छु भनेर मिटरब्याजीले धम्की दिन्थे । त्यही कारण उसले आत्महत्या गर्न बाध्य भयो ।’

मोरङ कटहरी गाउँपालिका–३ का ३२ वर्षीय विनित सोनारले व्यवसाय संचालन गर्नको लागि मिटर ब्याजमा लिएको ७ लाख रुपैयाँ ऋण गलपासो बनेर आयो । पसल चलाउने क्रममा ४ वर्षअघि ७ लाख रुपैयाँ ऋण लिएका उनले १५ लाख तिरेको दाबी गर्दै आएका थिए । ७ लाखको १५ लाख तिर्दासमेत सावाँ र ब्याज चुक्ता नभएको भन्दै अझै १२ लाख तिर्न बाँकी देखाए ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी लेखाएका उनको विषयमा कुनै सहमति भएन । बरु प्रशासन कार्यालयले मिलेर आउन भनेर दुवै पक्षलाई पाँच दिनको समय दियो । तर, आफूले न्याय नपाउने ठानेर सोनारले प्रशासन कार्यालयबाट बाहिरिने क्रममा गोजीमा राखेको विष पिए । विष सेवनबाट गम्भीर बिरामी भएका उनलाई कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो । नोबेलमा उपचारका क्रममा उनको मृत्यु भयो ।

यसरी एकपछि अर्को गर्दै मिटर ब्याजको जालोमा पर्ने उल्लेखित घटना प्रतिनिधिमूलक हुन् । गृह मन्त्रालयले मिटरब्याज पीडितलाई प्रशासनमा उजुरी दिन आव्हान गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा हालसम्म नयाँ र पुराना गरी ९९८ वटा निवेदन परेका छन् । अहिलेसम्म १०३ वटा निवेदनको मात्रै सुनुवाई भएको छ । अहिले पनि जिल्ला प्रशासन कार्यालयको मिटरब्याज उजुरी शाखामा दिनहुँ पीडितहरुको भीड लाग्छ । उजुरी लेखाउने, छलफल गर्ने र मिलापत्रका लिखत तयार पार्न उक्त शाखा व्यस्त देखिन्छ । दिनहुँ हुलका हुल मानिसहरु आउने गरेको शाखाका कर्मचारीहरु बताउँछन् । प्रत्येक पीडितका आ–आफ्नै दुःखर पीडाका कथाहरु छन् । कसैको बस्ने घर हडपिएको छ, कसैको अन्न उब्जाउने खेत खाइदिएका छन् । मानो रोपेर मुरी फलाउने वर्षाको समयमा फित्ते चप्पल लगाएर जिल्ला प्रशासन कार्यालय धाउनेहरुको दर्दनाक कथा भेटिन्छ । देशमा सरकार र न्याय छ छैन भन्ने प्रश्न उब्जन्छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले दिएको तथ्याङ्क अनुसार विराटनगरका मिटरब्याजी विरुद्धका निवेदन मात्रै २ सय ८६ वटा छन् । यस्तै मोरङको सुनवर्षी, रंगेली, जहदा र ग्रामथान गाउँपालिकाका मिटरब्याजीले ठगेको निवेदनहरु पनि उल्लेख्य छन् । कतिपय अवस्थामा मिटरब्याजीहरु जिल्ला प्रशासन कार्यालयको आदेश पनि टेर्दैनन् । उल्टो अदालतमा पीडितकै विरुद्धमा मुद्दा हाल्ने क्रम अहिले पनि रोकिएको छैन ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मिटरब्याजीहरुको गुनासो सम्बोधन गर्न गम्भीरतापूर्वक चासो नदिएको कपितय उजुरी कर्ताको दाबी छ । यस्तै मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले पनि निवेदनहरुको छानविनको लागि सहजीकरण नगरेको पीडितहरू बताउँछन् । ‘सिडियो र एसपी सावले राम्ररी मुद्दा हेर्नुभएको छैन । उतिबेलादेखि परेका निवेदनमा मिलेर आउ भनेर साहुकै पक्षमा हुनेगरी गाउँतिरै पठाउनु हुन्छ । हामी मिटरब्याजीसँग कसरी मिल्नु,’ एक जना मिटरब्याज पीडित भन्छन्, ‘मिल्ने भए हामी आफैं मिलिहाल्थ्यौं नि । घरखेत गएको छ । उठिबास लगाएको छ ।’ सुरक्षा स्रोतका अनुसार मिटरब्याजीहरुले गुण्डागर्दी समेत गर्न थालेका छन् । ‘पैसा दिनु भन्दा अगाडि खाली चेकमा हस्ताक्षर गराउने र आधा दर्जन चेक लिने । चेक बाउन्सको उल्टो मुद्दा पीडितलाई लगाउने र धाक धम्की दिने गरेको देखिन्छ,’ प्रहरी स्रोत नै बताउँछ, ‘तर, प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीले भने मिटरब्याजको निवेदनमा चासो दिए जस्तो देखिएको छैन ।’

प्रमुख जिल्ला अधिकारी भट्टराई भने मिटरब्याजीहरुको हकमा जिल्ला प्रशासन कार्यालयलाई फैसला गर्ने अधिकार नदिएकोले ढिलाइ भएको बताउँछन् । ‘हामीलाई मिटरब्याजको निवेदनमा फैसला गर्ने अधिकार थियो भने चाँडो हुन्थ्यो । हामीले सम्झौता गर्ने अधिकार मात्रै छ । मिटरब्याजीले पैसा दिएको र फिर्ता गरेको कुराको रेकर्ड कायम गर्ने र तपाईले पैसा लिएर पनि किन नलिएको भनेर सोध्छौं । जालसाँज किन गर्नुहुन्छ भनेर भन्छौं । रियलमा मिटरब्याजीहरुले जालसाँज गरिरहेका छन् । पीडितहरुले फिर्ता गरेको पैसाको हिसाब राखेर फस्र्यौट गर्नुपर्ने भएकोले प्रक्रिया ढिला भएको हो ।’

उनले कतिपय मिटरब्याजीको निवेदनहरु मिलाउने भन्दै दलालले समेत पीडितबाट र पीडकबाट पनि रकम असुल गर्ने गरेको संकेत गरे । ‘मिटरब्याजी मिलाइदिन्छु भनेर अर्को दले मार्केटमा घुमिरहेको छ । मैले गोप्य रुपमा सूचना खटाएको छु,’ भट्टराईले भने, ‘मार्केटमा सुनेको छु मैले । म मिलाइदिन्छु भनेका छन् रे । त्यो दलेलाई मैले गोप्य रुपमा सूचना गुप्तचर लगाएर पक्रँदैछु । कहाँ कहाँ छन् भन्ने कुरा थाहा पाएको भए म पक्रिसक्थे ।’

मिटरब्याजको डरलाग्दो अवस्था रहेको बताउँदै उनले भने, ‘कतिसम्म भने ३ लाख रुपैयाँ लगेर ११ लाख लिइसकेको छ । थप २० लाखको चेक पनि लगेको छ । हामीले त्यस्ता मुद्दा फिर्ता गरेको छु ।’ अब एउटै मानिसबाट धेरै ठगी भएको कुरालाई छुट्याएर फाष्ट ट््याकमा निवेदन फस्र्यौट गर्ने उनले बताए । ‘टास्क फोर्स बनाएर काम गर्ने हो कि भनेर सोचिरहेका छौं । अब छिटो निवेदनहरुको फस्यौंट गर्न लाग्छौं,’ उनले भने ।

एकै जनाको नाममा धेरै मुद्दा

जहदा १ का सन्तोषकुमार यादवको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमा ११ वटा निवेदन छन् । उनी मिटरब्याजका चर्चित व्यक्ति हुन् । विराटनगर १५ का ताराचन्द्र साह सुडीको नाममा पाँच वटा निवेदन छन् । यस्तै विराटनगर ११ का जितेन्द्रकुमार यादवको नाममा पाँच, पथरी ९ का इन्द्रकुमार लिम्बूको नाममा चार, जहदा १ की अञ्जुदेवी यादवको नाममा छ वटा मिटरब्याज विरुद्धका उजुरी छन् । इटहरी ४ का सुमन परियारको नाममा तीन वटा, यस्तै रंगेली १ का सुधारु राजवंशीको नाममा दुई वटा उजुरी छन् । विराटनगर ३ का सुदिपराज भण्डारीको नाममा २ वटा निवेदन छन् । विराटनगर ९ का सञ्जयप्रसाद रौनियारको नाममा २, विराटनगर १० का सञ्जयकुमार करवाको नाममा ४, जहदा ४ का मनोज सिंह कोइरीका ५ वटा निवेदन छन् । विराटनगर १८ का बब्लु यादवको २ वटा निवेदन छन् । ‘एकै व्यक्तिको विरुद्धमा यत्रो निवेदन हुँदा पनि त्यो मान्छेलाई पक्राउ गरेर अनुसन्धान गर्न नसक्ने जिल्ला प्रशासन कार्यालयको लापरबाही हो,’ एक अनुसन्धान अधिकृत नै भन्छन् ।

मिलापत्र भएका मुद्दामध्ये विराटनगरका ४६, कटहरीको ६, पथरी शनिश्चरे ९ को ४, ग्रामथानको ४, जहदाको ५, धनपालथानको ३, बुढीगंगाको ४, बेलबारी ३, रंगेली ५, सुनवर्षी ६ वटा छन् । अन्य पालिकामा पनि मिलापत्रको विवरण रहेको छ । जिल्ला प्रशासन कार्यालय भने कतिपय आफैं मिलेका घटनाहरु रेकर्डमा नरहेको बताउँछ ।

मङ्गलबार, ०८ साउन, २०८१, दिउँसोको १२:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर