डा. चन्द्र उपाध्याय
सहर वा नगरको एकल परिभाषाको अभाव छ । मानव विकासको क्रमसँगै सहरको निर्माण हुँदै आएको छ । सहरहरुको विकाससँगै कुनै पनि स्थानको सामाजिक र भौतिक वातावरण परिवर्तन भएको छ ्र यसैले गर्दा पनि आधुनिक समयमा सहर भनेको के हो भन्ने परिभाषा खोज्नु साँच्चै गाह्रो काम भएको छ । यद्यपि कुनै एक सहरको परिचयले कुनै निश्चित ठाउँ र त्यहाँको सामाजिक र भौतिक वातावरण अरूभन्दा फरक छ भन्ने महसुस र अनुभूत गराइरहेको हुन्छ ।
वर्तमान कोशी प्रदेशको राजधानी विराटनगरको नाम नेपालका सहरहरुमा अग्रपंक्तिमा आउँछ । नेपालको समग्र राजनीति र अर्थतन्त्रमा विराटनगरले ऐतिहासिक महत्व बोकेको छ । विराटनगर बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक जनताको सहर हो । विराटनगर नेपालको राजनीतिक सहर हो । विराटनगरलाई क्रान्तिकारीहरुको सहरसमेत भनिन्छ ।
विराटनगर औद्योगिक सहर पनि हो । नेपालका ठूला उद्योगहरुमध्येको पहिलो, विराटनगर जुटमिल, सन् १९३६ मा विराटनगरमा स्थापना भएको थियो । भारतसँग सीमा जोडिएको विराटनगरमा अरु केही ठूला औद्योगिक विकासक्रमहरु छन् र यसले देशको औद्योगिक र व्यापारिक केन्द्रको रूपमा सहजीकरण भएको हो । विराटनगर महानगरपालिकामा करिब ३ सय साना, मझौला र ठूला उद्योग सञ्चालनमा रहेका र करिब २० वटा होटल रहेका छन् । नेपालमा स्थापित सबै वाणिज्य बैंकहरुको विराटनगरमा शाखाहरु छन् ।
२०७४ साल जेठ ८ गते महानगरपालिका घोषित र १९ वटा वडामा विभाजित वर्तमान विराटनगर महानगरपालिका नेपालको दोस्रो ठूलो सहरको रूपमा एसियाका चार देश भारत, चीन, भुटान र बंगलादेशको प्रवेशद्वार हो । भौगोलिक दृष्टिले ठूलो महत्व बोकेको यो सहर नेपाली समाजको बारेमा जान्न प्रयोगशाला हुनेछ । ७७ वर्ग किलोमिटर क्षेत्रफल भएको विराटनगर महानगरपालिकामा करिब तीन लाख जनसंख्या रहेको छ । देशको दोस्रो ठूलो सहरको रुपमा विराटनगरले नेपालको उदीयमान महानगर र विकासमैत्री सहर भएको सावित गर्नु पनि आवश्यक छ । अपेक्षित लक्ष्यहरू प्राप्त गर्न विराटनगरवासी दक्ष, शिक्षित र सजग भएको पनि विश्वास गरिन्छ ।
पछिल्लो समय विराटनगर स्वास्थ्य र शैक्षिक हबका रूपमा उभिएको पछिल्लो प्रतिवेदन र तथ्यांकले देखाएको छ । सहरमा करिब १७५ विद्यालयहरु छन् भने मेडिकल, नर्सिङ र इन्जिनियरिङ कलेजको संख्या पनि बढ्दै गएको छ । सहरमा करिब १५० वटा निजी स्वास्थ्य संस्थाले सेवा दिइरहेका छन् । नेपालको दोस्रो ठूलो सहर र शैक्षिक हब भएको विराटनगर एक उदीयमान सहरको रुपमा परिचित छ । भौतिक विकास बाहेक सञ्चार सञ्जालको दिगो विकासले विराटनगरलाई नेपालमा ज्ञानमा आधारित सहरको रूपमा विकास गर्न मद्दत गर्नेछ ।
समाजशास्त्रीहरुका विचारमा सहर भनेको संरचनात्मक भिन्नता मात्र होइन । कयौं परिस्थितिमा भौतिक निर्माणलाई मात्र सहरको रूपमा स्वीकार नगरिएको पनि देखिन्छ । अर्को शब्दमा वातावरणले घेरिएको पक्की संरचनाहरु मात्र सहर होइन । भौतिक रुपमा निर्माण गरिएका संरचना र प्रशासनिक संयन्त्रहरु दिगो नहुन सक्छ । तिनीहरुमा सामाजिक र संस्कृतिक जीवन्तता पनि हुँदैन । यस्तो अवस्थामा सामाजिक र सांस्कृतिक वास्तविकता र त्यस भित्रको अन्तरक्रियात्मक सम्बन्धले सहरको परिचय निर्माण हुन्छ । समाजशास्त्री रामचन्द्र बराल भन्नुहुन्छ, ‘एउटा सहर वा वस्तिमा जव कोही व्यक्ति बाबु वा आमा बितेर पनि टुहुरो महसुस नगरि उसको जतन गर्ने सहयोग र त्यागको भावनामा आधारित कुटुम्ब प्रणालीको संस्कृति विकास भएको हुन्छ, त्यो नगर सामाजिक सांस्कृतिक सहर मान्न सकिन्छ । समाजका हरेक समस्या समाधान गर्ने सिकाउने सम्पदापूर्ण संस्कृति जीवन्त रहेको अवस्थामा समाज पनि सभ्य र सुसंस्कृत मानिन्छ ।’
युनिभर्सिटी अफ कोलम्बो अध्यापकद्वय तिलकारत्ना एवं माथोताराछले ‘नगरको सामाजिक संरचना’ भन्ने लेखमा नगरको परिकल्पनाले जनताको मनमा बसेको विचारधारालाई स्पष्ट रूपमा प्रमाणित गर्छ भनी लेखेका छन् । यी अनुसन्धान कर्ताद्वयका अनुसार सहरको धारणा समयसँगै पर्खालले छुट्याइएको परिदृश्यबाट सांस्कृतिक महत्वको ठाउँमा परिवर्तन हुँदै जान्छ । पछिल्लो समय विश्वव्यापीकरणको प्रभावले सहर सम्बन्धी विचारधाराहरुमा व्यापकता थपेको छ, अवधारणागत परिवर्तन ल्याएको छ । मार्च २०२३ मा भारतको सिलिगुडीमा भारतीय नेपाली भाषा विकास मञ्चको आयोजना र तथा बिपी कोईराला ईण्डो–नेपाल फाउण्डेशन र नेपाल दुतावासको सहयोगमा भारतबाट संस्थागत स्थाननाम कोष निर्माण विषयमा दुई दिवसीय अन्तर्रास्ट्रिय कार्यशालामा अतिथिको रुपमा उपस्थित हुँदाको एउटा सन्दर्भ जोडन मन लाग्यो । त्यस कार्यशालामा कुनै पनि स्थानको नामले सम्बधित स्थानको भौगालिक, ऐतिहासिक, सामाजिक र सांस्कृतिक परिचय मात्र होइन त्यहाँको बसोवास, जातीय चिनारी देखि भाषिक महत्व समेतको पहिचान दिन्छ भन्ने कुरालाई स्थापित गराएको थियो । समाजशास्त्री बराल यस सन्दर्भमा थप्नुहुन्छ, ‘सहरको सामाजिक र सांस्कृतिक विकास क्रममा आर्जन गरेका कुराहरुबाट सन्दर्भहरु निर्माण हुन्छन् ।’ उदाहरणका लागि, निक्कै चर्चित कोशी प्रदेश नामाकरणको ऐतिहासिक, सामाजिक र संस्कृतिक सन्दर्भलाई कसरी बुझ्ने भन्ने कुराको सेरोफेरोमा ठिक्कै ठुलो बहस भएको उदाहरण छ । तर ‘वातावरण असन्तुलनले नदीको पानी सुक्ने अनि सहरीकरणको प्रभावले हाम्रा सामाजिक र सांस्कृतिक पहिचान लुक्ने क्रम जारी छ ।’
विराटनगरको सामाजिक पहिचानको सन्दर्भमा सामाजिक अगुवा केशवप्रसाद गौतमको भन्नुहुन्छ, ‘विगतमा विराटनगरको विभिन्न भागलाई विभिन्न विशेषताले चिनिथ्यो । पोखरीहरु भएकोले पोखरिया नाम रह्यो, बरको रुख भएकोले बरगाछी भयो अनि मिल्सहरु रहेकोले मिल्स एरिया बन्यो । यस्ता नामहरुले यो सहरको सामाजिक र सांस्कृतिक प्रतिनिधित्व गरेका थिए । त्यो बेला विराटनगरको बस्ति पातलो थियो तर त्यहाँ एकता थियो, प्रेम थियो । एकले अर्कोलाई सजिलै चिन्न सकिन्थ्यो । सामाजिक विविधता भित्रको एकता अति उच्च थियो । यहाँ पहाडी र मधेशीको मेल अनुपम थियो । पुरानो मारवाडी समुदायको सामाजिक घुलनशीलता उदाहरणीय थियो । विराटनगरमा खेलिने फगुवा र होलीले जनता, प्रशासन, व्यापारी र उद्योगीलाई जोडेको थियो । तर ती विशेषताहरु हराउँदै गएका छन् । स्थानीय सरकारले सामाजिक सहर विराटनगरको पहिचान अक्षुण राख्न सक्नुपर्छ, जातीय, भाषिक र संस्कृतिक धरोहरहरुको जगेर्ना गर्नुपर्छ । यसै क्रममा, लेखक सँगको वार्तामा नागरिक अगुवा दिनेश श्रेष्ठले सहरीकरण सँगसँगै वर्तमान विराटनगरमा सामाजिक, संस्कृतिक र वौद्धिक क्षयीकरण भएकोमा चिन्ता समेत व्यक्त गर्नुभयो । त्यसमानेमा सामाजिक र संस्कृतिक सहर निर्माणको जिम्मेवारी बहुसरोकारको विषय हो ।
सहरीकरणका योजनाबाट प्रभावित भएका समुदायहरूको लागि अपनाइने विकासका नीति र नीति निर्माताहरूमा सामाजिक र सांस्कृतिक अपनत्व आवश्यक छ । नगरवासी प्रत्येक जनसमूह र जनवर्गलाई सहर निर्माण र विकास प्रक्रियामा जोड्न सक्नुपर्छ । प्रा. चैतन्य मिश्र, सामाजिक र सांस्कृतिक सहर निर्माण गर्न, हरेक उमेर, लिङ्ग र वर्ग समूहलाई सामाजिक रुपमा जोड्ने संरचना र प्रक्रिया निर्माण गर्नु पर्नेमा जोड दिनुहुन्छ । खेलकुदस्थल निर्माण र संचालन, पुस्तकालय स्थापना र संचालन, दिवा केन्द्र स्थापना र संचालनदेखि पार्क, रेष्टुरेन्ट, मनोरञ्जन केन्द्र जे–जेले नगरवासीलाई एक आपसमा जोड्छ । त्यसलाई प्राथमिकतामा राख्नु पर्छ । ‘एकलकाटे र मोबाइलमा झुण्डिने युवा खेलकुद मार्फत सामाजिक रुपमा जोदिन्छन्, देश छोडेर विदेशिने नव युवाले सामाजिक र सांस्कृतिक एकतालाई बुझ्न सक्छन्’, प्राध्यापक मिश्र अगाडि भन्नुहुन्छ ।
पछिल्ला वर्षहरुमा नेपालमा सामाजिक र सांस्कृतिक पहिचान र सो पहिचानको संरक्षण र प्रवद्र्धनका सवालहरु जोडदार रुपमा आएका छन् । ती सवालहरुको यथार्थ सम्बोधन पनि आवश्यक छ । हाम्रो दलीय राजनीति र समाजिक संरचना पनि जिम्मेवार हुन नसकेको आरोप छ । प्राध्यापक मिश्र दलले गरेको सामाजिक प्रहारप्रति इंगित गर्नुहुन्छ । सामाजिक आवश्यकता र भोटको सम्बन्ध बुझ्नु जरुरी छ । उहाँकै शब्दमा ‘राजनीतिक छोई–छिटो’ रही रहने हो भने सामाजिक र सांस्कृतिक सहर निर्माण गाह्रो हुन्छ । अनि हाम्रो सामाजिक संरचनमा रहेका त्रुटी र अव्यवहारिकता हटाउनै पर्छ । गैह्र दलित र दलित, बाहुन र दलितबीच मात्रै होइन बाहुन–बाहुन बीच पनि सामाजिक विभाजनको पृष्ठपोषण हुनु चिन्ताजनक छ । इन ग्रुप ईन्टरेष्टको जगेर्ना गर्दा आउट ग्रुप इन्टरेष्टलाई पनि कदर गर्न सक्नुपर्छ ।
तर यसको अर्को पाटो पनि बिर्सन हुँदैन । प्राध्यापक मिश्रकै शब्दमा, सामाजिक र सांस्कृतिक पहिचानकालागि पनि रोजगारी र आर्थिक आम्दानी भने चाहिन्छ्र । अन्यथा सामाजिक र सांस्कृतिक पहिचान बिलाएर जान्छ । सामाजिक र सास्कृतिक सहर निर्माणका विषयमा समाजशास्त्रीय विमर्शहरु यस्तै कयौं परिप्रेक्ष र विचारधाराहरूले भरिएका छन् । तर एउटा सामाजिक र सांस्कृतिक सहरको विकास सँधै मानविय विकासको साथ विकसित हुनेछ र यसको अन्त्य सम्बन्धमा कुनै पनि भविष्यवाणी गर्न सम्भव छैन ।