विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभाका गतिविधिहरुलाई जनताको बिचमा लैजानु पर्ने बताएका छन् ।संसदीय पत्रकार मंच कोशी प्रदेशले शनिबार विराटनगरमा आयोजना गरेको संसदीय पत्रकारिता तालिमको उद्घाटन गर्दै प्रदेश सभाले गरेका कामहरुको बारेमा जनतालाई अझ व्यवस्थित ढंगबाट जानकारी दिन जरुरी रहेको बताएका हुन ।
संसदीय पत्रकारिता गरिरहेका पत्रकारहरुले प्रदेश सभामा हुने काम र यसका गतिविधिहरुलाई जनतामा लैजान विशेष भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले त्यसका लागि सहकार्य गरेर अघि बढ्न प्रदेश सभा सधैँ तत्पर रहेको बताए । प्रदेश सभाबाट सम्पादन भइरहेको कामको विषयमा पर्याप्त जानकारी नहुँदा र अहिलेको व्यवस्थामा प्रदेश सभाले गर्ने काम तथा त्यसको महत्व बुझाउन नसक्दा यसप्रति कतिपय नकारात्मक टिप्पणी हुने गरेको उनले बताए ।
कोशी प्रदेश सभालाई खुला, पारदर्शी र व्यवस्थित बनाउने कार्यमा प्रदेश सभाको नियमित रिपोर्टिङ गर्ने पत्रकारहरुको र संसदीय मंचको भूमिकाको उनले प्रसंशा समेत गरेका छन् । । ‘प्रदेश सभाका गतिविधिहरुलाई सार्वजनिक गर्न पत्रकारहरुले महत्वपूर्ण भूमिका खेल्नुभएको छ यसलाई अझै बढी सार्वजनिक गरौं र जनतालाई सयको महत्वको बारेमा थप प्रष्ट पारौं ।’ सभामुख विष्टले प्रदेश सभाको गतिविधिलाई महत्व दिने एक जना उत्कृष्ट पत्रकारलाई सम्मान गर्ने गरी आगामी वर्ष पत्रकारमैत्री प्रदेश सभा कार्यक्रम राखेको पनि जानकारी दिए ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपसभामुख सिर्जना दनुवारले प्रदेश सभामा भएका गतिविधिलाई सार्वजनिक गर्ने कार्यमा संसदीय पत्रकारिता गर्ने पत्रकारहरुको योगदान महत्वपूर्ण रहेको बताएकि छिन् । संसद र संसदीय पत्रकारहरुबीचको सम्बन्ध कोशीमा अन्य प्रदेशको भन्दा व्यवस्थित रहेकोले त्यसलाई अझ बढी प्रभावकारी बनाउँदै लैजानु पर्ने उनले बताइन । पछिल्लो समय प्रविधिको प्रयोग गर्ने क्रममा संसदमा उपस्थित नभई युट्युव र अन्य माध्यम प्रयोग गर्ने प्रचलन पत्रकारहरुमा बढ्दै जाँदा संसदमा कम उपस्थिति हुनथालेको भन्दै उनले चिन्ता ब्याप्त गरेकि छिन। उपसभामुख दनुवारले संसदमै उपस्थित भएर रिपोर्टिङ गरिदिन पत्रकारहरुलाई विशेष अनुरोध समेत गरीन ।
कार्यक्रमा प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले पत्रकारहरुको सहजताका लागि स्थायी पास लगायत अन्य व्यवस्था र दक्षता अभिवृद्धिका लागि आवश्यक कार्यक्रमहरुमा प्रदेशसभा सचिवालयले सहजीकरण र सहयोग गर्ने बताए । संसदीय पत्रकारिता गरिरहेका र गर्न चाहने पत्रकारहरुले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा संसदीय पत्रकारिता क्षेत्रका विज्ञ शिव गाउँलेलगायतले प्रशिक्षण दिएका थिए ।