विराटनगर । अवैध मानिएको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१५ स्थित सोहिता कर्णको घरबाट क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सप्तरीको खडक नगरपालिका–११ का २२ वर्षीय शिवशंकर यादव, राजगढ गाउँपालिका–३ का २० वर्षीय दीपक मण्डल, मोरङको जहदा गाउँपालिका–१ का २५ वर्षीय रन्जितकुमार यादव, विराटनगर–१६ का ३० वर्षीय जनार्दन यादव, २६ वर्षीय सिकिन्दर यादव र सप्तरी घर भई विराटनगर–१५ मा डेरा गरी बस्ने ३३ वर्षीय सञ्जीवकुमार मण्डल रहेका छन् ।
प्रहरीका अनुसार कर्णको घरको दोस्रो तला भाडामा लिएर क्रिप्टोकरेन्सी कारोबार भइरहेको सूचनाका आधारमा नियन्त्रणमा लिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट परिचालन भएको संयुक्त टोलीले उक्त घर खानतलासी गर्दा १६ थान मोबाइल, विभिन्न बैंकका एटिएम ४४ थान, भारतीय नम्बरको सिम १३ थान, नेपाली नम्बरको सिम १९ थान, विभिन्न बैङ्कको चेक २८ थान, विभिन्न बैङ्कमा रकम जम्मा गरेको भौचर १५ थान, मोटरसाइकल ३ थान, ईलेक्ट्री फ्रिंगर प्रिन्ट १ थान र नगद १ हजार ६ सय रुपैयाँ बरामद गरिएको थियो ।
पक्राउ परेका अभियुक्तहरूलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तहरूले २५ हजारभन्दा बढी डलर क्रिप्टोमार्फत कारोबार गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । क्रिप्टोमार्फत यति धेरै रकमको कारोबार भएको घटना पूर्वमा पहिलो भएको प्रहरीले जनाएको छ ।