मेरो इच्छा विपरित सरकारमा जानुपर्ने भो : गगन थापा

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो व्यक्तिगत इच्छा विपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति बनेको दावी गरेका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले सरकार निर्माण एउटा व्यक्ति वा दलको कारण मात्र नहुने बताए ।

‘मेरो इच्छाले हुन्थ्यो भने अहिले पनि त्यही ठाउँमा हुन्थ्यो । यो सरकार बन्ने या नबने भन्ने कुरा व्यक्ति वा दलको कारणले हुँदैन रहेछ’ उनले भने, ‘अहिलेको परिस्थिति बनेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारण नै हो ।‘ प्रचण्डको यतिधेरै अस्थिर चरित्र नभएको भए अहिलेको अवस्था नआउने उनले बताए ।

प्रचण्डले एमालेसँगै सरकार बनाएको चार महिना पनि नपुग्दै अर्कैसँग लसपस गर्न हात खुट्टा पसारेपछि अहिलेको दुर्घटना निम्तिएको थापाको दावी छ । काँग्रेसको नेतृत्वमा बनेको अहिलेको संविधान जोगाउने जिम्मेवारी पनि काँग्रेसकै भएकोले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, समावेशीता, समानुपातिक व्यवस्था, सबैको स्वतन्त्रता, धार्मिक, आर्थिक, सांस्कृतिक स्वतन्त्रता र नेपालको विविधतालाई कसैले भकाउन नसक्ने जिकिर गरे । सबै कुरालाई थप सुदृढ गर्नेगरी संविधानको पुनरावलोकन गर्ने काँग्रेसको प्रस्ताव रहेको उनको भनाइ छ ।

काँग्रेस र एमालेको संख्याले मात्रै संविधान संशोधन गर्न नपुग्ने भन्दै उनले सबैलाई साथमा लिएर संविधान संशोधन गर्ने बताएका छन् । दुईवटा दल मिल्दै गर्दा कहिलेकाँही संख्याको आधारमा कानूनी शासनमा ध्यान नपुग्ला कि भन्ने चिन्ता रहेपनि सरकारभन्दा बाहिर बसेका नेताहरुले यो संसदबाटै खबरदारी गर्ने उनको दावी छ ।

काँग्रेसले महासमितिको बैठकबाट निर्णय गरेर संविधान संशोधन गर्नुपर्ने धाराणा अगाडि बढाएको भन्दै थापाले संविधानकै कारण राजनीतिक स्थिरता कायम गर्न नसकिएको दाबी गरे । २०७० सालमा पनि दुईवटा ठुला दल मिलेर संविधान निर्माण गरेको, २०५६ मा पनि दुईवटा दल मिलेर निर्वाचन गर्ने जिम्मेवारी सम्पन्न गरेको, २०४७ सालमा पनि दुईवटा दल मिलेर चुनाव पनि गराएर संविधान पनि बनाएकोले एमालेसँगको सहकार्य सहि भएको उनको जिकिर छ । दुई वटा ठूला दल मिल्दा संसदभित्र प्रतिपक्ष कमजोर होला कि वा संख्याको आधारमा कानुन शासन लगायतका विषयमा ध्यान नपुग्ला कि भन्ने विषयमा सचेत रहनुपर्ने उनले बताए ।

वर्तमान सरकार सम्पूर्ण रुपमा अल्पमतमा परेको कारण प्रधानमन्त्रीले मार्ग प्रसस्त गर्ने विश्वास व्यक्त गर्दै थापाले प्रधानमन्त्रीले राजीनामा दिएर अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि दलको तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने छलफल सुरु हुने बताए । आफू सरकारमा नजाने संकेत गर्दै उनले भने, ‘म महामन्त्री छँदैछु नि ।’

बिहिबार, २१ असार, २०८१, दिउँसोको १२:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर