विराटनगर । कोशी प्रदेश सरकार अन्तर्गतका लेखाका कर्मचारीहरुले मध्य असारमा एकहप्ता भन्दा बढी पेनडाउन गरेका कारण बजेट खर्च विगतमा जस्तो गर्न हम्मे हम्मे पर्ने देखिएको छ । अबको एक सातामा प्रदेश सरकारले ७ अर्बभन्दा बढी भुक्तानी गर्नुपर्ने अनुमान गरिएको छ ।
असार १८ गतेसम्मको भुक्तानीको अवस्था हेर्दा हालसम्म चालूतर्फ ११ अर्ब २ करोड ५५ लाख ४ हजार २८० रुपैयाँ खर्च भएको । यस्तै पूँजीगत तर्फ हालसम्म १२ अर्ब ४ करोड ६२ लाख १ हजार ४५३ रुपैयाँ भएको छ ।
प्रदेश सरकारले चालु वर्षको असार १८ गतेसम्ममा २३ अर्ब ७ करोड १७ लाख ५ हजार ७३४ रुपैयाँ खर्च गरेको छ । जेठ महिनासम्ममा कूल खर्च २० अर्ब १७ करोड ९ लाख थियो । कूल खर्चमध्ये चालूतर्फ ६ अर्ब ८७ करोड ३७ लाख, पूँजीगततर्फ १० अर्ब ६ करोड ८९ लाख र स्थानीय तह अनुदान तर्फ ३ अर्ब २२ करोड ८३ लाख रहेको थियो ।
चालूमा ५४ प्रतिशत, पूँजीगतमा ४९.३ प्रतिशत र स्थानीय तह अनुदान तर्फ ८७.९ प्रतिशत खर्च भएको छ । जेठ महिनामा ४ अर्ब २९ करोड ६ लाख खर्च भएको हो । वैशाख महिनामा यस्तो खर्च २ अर्ब २१ करोड ७२ लाख मात्र थियो ।असारको १८ गते वितिसक्दा प्रदेश सरकारले यो महिना २ अर्ब ९० करोड ८ लाख ५ हजार ७३४ रुपैयाँ खर्च गरेको छ । जसमा चालू तर्फ असार महिनामा मात्रै ९२ करोड ३५ लाख ३१९ र पूँजीगततर्फ १ अर्ब ९७ करोढ ७२ लाख ९७ हजार २१० रुपैयाँ छ ।
प्रदेश सरकारको खातामा असार १८ गतेसम्ममा २९ अर्ब २७ करोड ६५ लाख ३२ हजार २५५ रुपैयाँ जम्मा भएको छ । आयको हिसावले प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट ३० अर्ब हाराहारीको कायम रहने देखिएको छ । ३० अर्ब नै कायम रहेको खण्डमा पनि प्रदेशले शतप्रतिशत बजेट खर्च गर्नका लागि अबको ७ दिनमा झण्डै ७ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ ।
प्रदेशमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजारको बजेट कार्यान्वयन भइरहेको छ । जसअनुसार कोशी प्रदेशको चालूतर्फ १६ अर्ब ३९ करोड ६५ लाख ९२ हजार रुपैयाँ, पूँजीगततर्फ २० अर्ब ४१ करोड २४ लाख ८२ हजार र वित्तीय व्यवस्थातर्फ एक करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ८४ करोड २९ लाख ५० हजार तथा नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार व्यहोर्ने बजेटको अनुमान छ ।