विराटनगर । मोरङका १७ वटै पालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट, नीति तथा कार्यक्रम ल्याएका छन् । प्रायः सबै पालिकाको प्राथमिकता कृषि र सडक पूर्वाधार नै रहेको छ ।
विराटनगरले ल्यायो ३ अर्ब ४९ करोडको बजेट
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको वार्षिक अनुमान नगरसभामा प्रस्तुत गरेको छ । चौधौं नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले सोमबार महानगरको नीति तथा कार्यक्रम र वार्षिक आयव्यय विवरण प्रस्तुत गरेकी हुन् । उनले प्रस्तुत गरेको विनियोजन विधेयकमा चालु र पुँजीगत तर्फ ३ अर्ब ४४ करोड ९८ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै गरी वित्तिय व्यवस्था तर्फ ५ करोड रुपैयाँ विनियोजन गरी ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो । जुन बजेट चालु आर्थिक वर्षको तुलनामा १३ करोडले बढी हो ।
विराटनगर महानगरपालिकाको आन्तरिक आम्दानी घटेको छ । अघिल्लो आर्थिक वर्षमा ६४ करोड रुपैयाँ राजश्व आम्दानी गरेकोमा चालु आर्थिक वर्षमा महानगरको आम्दानीमा भारी गिरावट आएको हो । चालु वर्षमा १ अर्ब २ करोड रुपैयाँ राजश्व आम्दानी गर्ने अनुमान गरेको महानगरले जेठ मसान्तसम्म ४७ करोड रुपैयाँ मात्र राजश्व संकलन गरेको छ । असार मसान्तसम्म करिव ५५ करोड राजश्व संकलन हुन सक्ने देखिएको राजश्व महाशाखाका प्रमुख सरोज गौतमले जानकारी दिए । गत आर्थिक वर्षको आम्दानीको तुलनामा झण्डै १५ प्रतिशत कम आम्दानी गरेको महानगरले आगामी आर्थिक वर्ष चालु वर्षको भन्दा ८ करोड बढी राजश्व संकलन हुने भन्दै १ अर्ब १० करोड आन्तरिक आयको अनुमान गरेको छ ।
विराटनगर महानगरपालिकाले आगामी वर्ष भौतिक पूर्वाधार, सामाजिक विकास, स्वास्थ्य र शिक्षा तर्फ नियमित झैं बजेट विनियोजन गरेको छ । स्वास्थ्यतर्फ आफ्नै फार्मेसी सञ्चालन गर्ने महानगरले जनाएको छ । महानगरले आगामी वर्षका लागि नयाँ कार्यक्रमहरु भने प्रस्तुत गरेको छैन । महानगरले आगामी वर्षको अनुमानबाट झण्डै ४५ करोड रुपैयाँ दायित्व भुक्तानी गर्नुपर्ने भएकोले नयाँ कार्यक्रमहरु समावेश गर्न नसकेको हो ।
पथरीशनिश्चरेको बजेट ८५ करोड ४१ लाख
यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८५ करोड ४१ लाख ८ हजार रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरेको छ । पथरीशनिश्चरेले चालू खर्च १३ करोड ४५ लाख, कार्यक्रम खर्च २ करोड ६३ लाख, पूँजीगत तथा कोष ब्यवस्थापनका लागि २० करोड ५१ लाख २८ हजार, आर्थिक विकास १ करोड ४५ लाख, सामाजिक विकासतर्फ ४ करोड २५ लाख, वन वातावरणतर्फ १५ लाख, सुशासन र संस्थागत विकासतर्फ १३ लाख, वडा पूँजीगत ६ करोड ३० लाख, न्यायीक समितिलाई सशर्त २० लाख र समपुरक अनुदान खर्च ३६ करोड ४३ लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त पालिकाले चालू आर्थिक वर्षका लागि ७८ करोड ९१ लाख ७५ हजार २४३ रुपैयाँको बजेट ल्याएको थियो ।
लेटाङको बजेट ६० करोड ८५ लाख
उता लेटाङ नगरपालिकाले ६० करोड ८५ लाख ५७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरसभामा पालिकाका नगर उपप्रमुख कृष्णकुमारी निरौलाले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयबाट ३ करोड ७१ लाख ५० हजार, राजश्व बाँडफाँडबाट १७ करोड ७२ लाख १५ हजार, नेपाल सरकारको वित्तीय हन्तान्तरणबाट ३६ करोड ८ लाख ७० हजार, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट २ करोड ९८ लाख ४९ हजार र अन्य अनुदान ३५ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । उक्त पालिकाले चालू आर्थिक वर्षका लागि ७५ करोड ९ लाख ७ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको थियो ।
रतुवामाईले ल्यायो ७८ करोड ९० लाखको बजेट
यसैबीच मोरङको रतुवामाई नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७८ करोड ९० लाख ३३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगरकी उपप्रमुख दमयन्तादेवी चुडालले १४ औं नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा कृषि र सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिइएको छ । जसमा सबै किसानलाई सिंचाईको विद्युत महशुल निःशुल्क गर्ने, एम्बुलेन्स र शव वाहन निशुल्क गर्ने, क्याम्पस पढ्न चाहने बुहारीलाई निःशुल्क शिक्षा दिइने, ८० वर्ष उमेर माथिकालाई प्रतिमहिना १ हजार पोषण खर्च दिने, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा र सबै सरकारी विद्यालयको पुरानो जस्ता हटाई एउटैको जस्ता लगाइदिने कार्यक्रममा उल्लेख छ ।
मिक्लाजुङको पशुपालनमा जोड
उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकाले पनि ७७ करोड ४५ लाख ५ सय रुपैयाँको बजेट ल्याएको छ । बजेटमा ४३ करोड ६ लाख १९ हजार रुपैयाँ चालू खर्च र ३४ करोड ४४ लाख ५६ हजार ५ सय रुपैयाँ पूँजीगत खर्च रहेको छ । पालिकाको १४ औं नगरसभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष दिनेश पौडेलले कृषि तर्फ ५५ लाख ५७ हजार ५ सय रुपैयाँ खर्च गर्ने र पशुपालनतर्फ २९ लाख रुपैयाँ खर्च गर्ने प्रस्ताव गरेका छन् ।
कटहरीको बजेट ५० करोड ८२ लाख
मोरङको कटहरी गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८१/०८२ को लागि ५० करोड ८२ लाखको बजेट यसअघि नै ल्याइसकेको छ । गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले गत बिहीबार सो बजेट प्रस्तुत गरेकी हुन् । जसमा प्रशासनिक तथा संचालन खर्च ११ करोड ६८ लाख ८४ हजार र पूँजीगत ३८ करोड ३१ लख ९८ हजार विनायोजन गरिएको छ । गाउँपालिकाले कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षालाई प्राथामिकतामा राखेर बजेट ल्याएको हो ।
अन्य पालिकाहरुको कति ?
यसैबीच मोरङको सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि १ अर्ब ८२ करोड ६१ लाख ७९ हजार २ सय ४८ रुपैयाँको अनुमानित बजेट ल्याएको छ । सोमबार भएको चौधौं नगरसभामा उपमेयर अकली चौधरीले सो बराबरको बजेट प्रस्तुत गरेकी हुन् । जसमा चालू तर्फ ७५ करोड २९ लाख ४३ हजार ५ सय रुपैयाँ र पूँजीगततर्फ १ अर्ब ६ करोड ६७ लाख ३५ हजार ७ सय ४८ रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा ६५ लाख रकम विनियोजन गरिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षका लागि १ अर्ब ७२ करोड ८ लाख २२ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।
उता, मोरङको सुदूरपूर्वमा पर्ने उर्लाबारी नगरपालिकाले १ अर्ब ५ करोडको बजेट पारित गरेको छ । गत असार ५ गते नगरसभामा प्रस्तुत उक्त बजेट सोमबार पारित गरेको हो । प्रस्तुत बजेटमा चालूतर्फ ४२ करोड ८१ लाख र पूँजीगत तर्फ ६२ करोड ३५ लाख ३३ हजार ५ सय रुपैयाँ छुट्याइएको छ । बजेटमा कृषि, सडक, पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।
यसैबीच जहदा गाउँपालिकाले यसअघि नै बजेट ल्याइसकेको छ । उक्त पालिकाले आगामि आर्थिक वर्ष २०८१–८२ का लागि ६३ करोड ७६ लाख ३४ हजार बराबरको बजेट ल्याएको हो ।
यस्तै बेलबारी नगरपालिकाले ९७ करोड १५ लाख ८५ हजार बराबरको बजेट ल्याएको छ । उपप्रमुख नितु थापा कोइरालाले उक्त बजेट नगरसभामा पेश गरेकी हुन् । उक्त बजेटमध्ये चालूतर्फ ५८ करोड ९३ लाख, १८ हजार तथा पूँजीगत तर्फ ३८ करोड २२ लाख ६७ हजार रुपैयाँ रहेको छ । केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि ७८ करोड ४० लाख ४४ हजारको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।
सुनवर्षी नगरपालिकाले ६२ करोड ८१ लाख रुपैयाँको बजेट ल्याएको छ भने रंगेली नगरपालिकाले ७२ करोडको बजेट ल्याएको छ । मोरङकै ग्रामथान गाउँपालिकाले चालूतर्फ ४२ करोड र पूँजीगततर्फ २२ करोड बजेट ल्याएको छ । यस्तै धनपालथान, बुढीगंगा र कानेपोखरी गाउँपालिकाले भने बजेट ल्याए पनि विवरण अहिलेसम्म प्राप्त भएको छैन ।