कोशी प्रदेशका लेखाका कर्मचारीहरु आन्दोलित, अर्थ मन्त्रालयमा धर्ना

असार ९ गतेसम्ममा पनि माग सम्बोधन नभए लेखा समूहका सम्पूर्ण कर्मचारीले सामूहिक रूपमा बिदा लिने

विराटनगर । कोशी प्रदेश सरकार मातहतका लेखा शाखामा काम गर्ने आठौं तहसम्मका कर्मचारीहरु समान बढुवाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बिहीबार प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय अगाडि धर्ना दिएका छन् । ‘…प्रदेश निजामती सेवा ऐनमा रहेको नवौं तह प्रशासन सेवाको समूह हटाई प्रशासन सेवा मात्र कायम गरी बढुवाको समान अवसर प्रदान गर्ने गरी ऐन नियम शंसोधन तथा विज्ञापन स्थगित गरी सोही विज्ञापनमा समावेश गराई बढुवा प्रक्रिया सुरु गर्न हामीले माग गरेका हौं,’ आन्दोलनमा सहभागी कर्मचारी सुरज कोइरालाले भने ।

चौथो तहका लेखाका कर्मचारीलाई कर्मचारी समायोजन ऐन २०७५ बमोजिम राप अनं द्वितीय श्रेणीबाट पाँचौ तहमा समायोजन भएकोलाई पाँच वर्ष पुगेको मितिबाट जेष्ठता कायम गरि प्रदेश सेवाको पाँचौ तहमा बढुवा गरि पदस्थापन गर्नुपर्ने, कर्मचारी समायोजन ऐन २०७५ वमोजिम राप अनं द्वितीय श्रेणीबाट चौथो तहमा समायोजन भई प्रदेश निजामती सेवा अध्यादेश २०७९ बमोजिम पाँचौं तहमा तह वृद्धि भएकालाई पाँच वर्ष पुगेको मितिबाट जेष्ठता कायम गरि प्रदेश सेवाको पाचौं तहमा बढुवा गरि पदस्थापन गर्ने र कर्मचारी समायोजन ऐन २०७५ बमोजिम राप अनं द्वितीय श्रेणीबाट चौथो तहमा समायोजन भएकोलाई पाँच वर्ष पुगेको मितिबाट जेष्ठता कायम गरी प्रदेश सेवाको पाचौं तहमा बढुवा गरि पदस्थापन गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

यस्तै छैटौं तहका लेखा अधिकृतहरुका लागि स्थानीय सेवा ऐनमा जस्तै छैटौं तहमा कार्यरत कर्मचारीलाई एक पटकको लागि सातौं तहमा मिलान गर्नुपर्ने र छैटौ तहबाट सातौं तहमा न्यूनतम ५० प्रतिशत बढुवाको व्यवस्था गर्नुपर्ने माग लेखाका कर्मचारीहरुको छ । यस्तै आठौं तहका लेखा अधिकृतहरुका लागि संघीय सेवाको प्रशासन तर्फ राजपत्रांकित प्रथम श्रेणीको प्रचलन अनुसार प्रदेश निजामती सेवामा एक तह मुनिको अभ्यास गरे बमोजम प्रदेश सेवाको नवौं तहमा प्रशासन सेवामा समूह नरहने व्यवस्था ऐनमा गर्नुपर्ने माग छ ।

आफूहरुको माग सुनुवाई नभए चरणबद्ध आन्दोलन गर्ने भन्दै उनीहरुले आन्दोलनका कार्यक्रम पनि घोषणा गरेका छन् । जसअनुसार असार ६ र ७ गते लेखा समूहका कर्मचारीहरु कामकाज स्थगित गरी हातमा कालोपट्टी बाँधेर आर्थिक मामिला तथा योजना मन्त्रालय विराटनगरमा भेला भै धर्ना दिने र असार ९ गतेदेखि माग सम्बोधन नभएसम्मका लागि लेखा समूहका सम्पूर्ण कर्मचारीले सामूहिक रूपमा बिदामा रहने उल्लेख छ । उनीहरुले आफ्ना मागसहितको ज्ञापन पत्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएृका छन् ।

बिहिबार, ०७ असार, २०८१, दिउँसोको ०४:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर