सागर थापाहरुलाई कारवाही गर्नुपर्छ

 लिलाबल्लभ घिमिरे

केही महिनादेखि मेरो लेखाइमा ब्रेक लागेको थियो । एक मनले सोच्दै थिएँ, ‘अब लेख्न थाल्नु पर्छ ।’ फेरी अर्को मनले भन्दै थियो, ‘केही समय पर्खनु पर्छ ।’ तर, आज लेख्न बाध्य भएँ । मनका बहावहरू उर्लेर आए । लेखुँलेखुँ लाग्यो । आज मैले लेख्न विषय छ सागर थापाहरुलाई कारवाही गर्नु पर्छ ।

हो, नेकपा एमाले विराटनगर कमिटीका अध्यक्षलाई मैले भने झैं नेकपा एमाले जिल्ला कमिटी मोरङले उनको अध्यक्ष पद मात्र हैन पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । यो बहादुर र एक मात्र साहसिक कदमका लागि नेकपा एमाले मोरङका अध्यक्ष कमरेड बाबुराम कार्कीलाई धन्यवाद !

वास्तवमा पार्टीहरूमा सागर थापा जस्ता युवाको काम छैन । यिनिहरूलाई केटा केटीमा नै पार्टीको साधारण सदस्यता नै नदिनु पर्ने हो । यो उमेर कमाएर खाने उमेर हो सागर थापाको । पार्टीको झोले भएर लुखुरलुखुर स्कुटरमा चप्पल पड्काउँदै हिंड्ने बेला होइन । त्यही भएर उनलाई कारवाही गरेको हुनुपर्छ । हिंजो, विराटनगर महानगरपालिकाको मेयरको टिकट दिएकै हो । महानगर कमिटिको अध्यक्ष पनि बनाएको हो । तर माखो मार्न नसक्ने एउटा आलिसान घर बनाउन नसक्ने एउटा नाथे गाडि किन्न नसक्ने अनि स्कुटरमा लुखुरलुखुर जनताका घर दैलो गर्ने सागर थापाको एमाले पार्टीमा कुनै काम छैन ।

उनबाट अग्रजहरुले के पाउने ? पार्टी कसरी चलाउने ? पछिल्लो पिँडीले उनीबाट के लिने ? खाली पेटले राजनीति हुन्छ ? यो कुरा सागरले पहिला नै बुझ्नु पर्ने हो । बुझेनन्, त्यसैले यिनलाई कारवाही गर्नै पर्छ । अहिलेसम्म विराटनगरमा एउटा घर छैन । घडेरीहरू छैनन । उद्यौगिक शहरमा बसेर एउटा पनि उद्योगमा लगानी गर्नु छैन । टिनको छानो भएको घरमा बसेर । खुट्टामा चप्पल लगाएर सर्वहारा वर्गको नेतृत्व गर्ने नेकपा एमाले पार्टीको महानगरको अध्यक्ष हुन पटक्कै सुहाउँदैन सागर थापालाई । यो कुरा उनले पहिला नै बुझ्नु पर्ने हो । नेता हुन बाबुराम दाई जस्तो सँधै सफा सुन्दर, अनि सुटमा सजिनु पर्छ । आफ्नो नभएपनि पालो गरी गरि अर्का कै भएपनि गाडी चढ्न सक्नु पर्छ । खानेपानी मात्र हैन शौचालयदेखि सबै उपभोक्ता समितिका एमालेका मान्छेलाई जिताएर कमिसन उठाउन सक्नु पर्छ अनि मात्र चल्छ महानगर कमिटी ।

अब, वास्तवमा पुराना पार्टीभित्र युवाहरुको काम छैन । नेपालीमा उखान छ नि ! ‘वुढो गोरुले कोरली कुरे जस्तै’ बुढा नेताहरूले पार्टी समाउने हो । भोट जति बालेन र रवीले लाने हो । मेरो विचारमा युवाहरुले अब नयाँ सोच लिएर आउनु पर्छ । शेरबहादुर दाईको पार्टीमा गगन, विश्वप्रकाश, गुरु अनि केदारहरुको के काम ? यिनलाई पनि सक्न लागेकै छन् । गुरुराज घिमिरे त पटक–पटक त्यहीँ भित्रबाट सकिएका छन् । अहिले केदार कार्कीहरुलाई सक्न बाहिरका भन्दा भित्रकै बढी लागेका छन् ।
हिंजो एमाले मोरङका सचिव रुपेश खतिवडालाई विदा गरियो । आज सागर थापा विदा हुँदैछन् । भोली कुन युवाको पालो आउने हो थाहा छैन । सागर थापालाई जे मुद्दामा कारवाही ग¥यो त्यसले एउटा प्रश्न अवश्य पनि खडा गर्छ । उनलाई लगाएको आरोप मानगढ खानेपानीको निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन लागेको भन्ने छ । के हामीले वलिदान गरेर ल्याएको प्रजातन्त्रदेखि गणतन्त्रसम्म यसैका लागि हो ? खानेपानी, अस्पताल, शौचालय, उपभोक्ता समिति सबै पार्टी कै मान्छेलाई जिताउनु पर्ने हो ? कि त्यहाँबाट जितेपछि पार्टी चलाउने र नेतालाई पाल्ने घुसका लागि दलहरु त्यस्ता समितिका अध्यक्षमा मरिहत्ते गर्छन् । सागर थापाले त्यहाँ के गरेका हुन् त्यसबारे म अनविज्ञ छु । तर खानेपानी जस्तो पवित्र स्थानलाई चरम राजनीतिकरण गर्नु एमाले जस्तो पार्टीका लागि शोभनीय विषय पक्कै होइन ।

अब रहयो कारवाहीको कुरा । उनलाई कारवाही गर्ने पात्रलाई विराटनगरले राम्रोसँग चिन्छ । हुन त उनी प्रयोग मात्र भएका हुन सक्छन् । तर एमाले मोरङको अध्यक्ष आफ्नै पार्टी सक्नका लागि किन यसरी प्रयोग भए भन्ने प्रश्न निकै पेचिलो छ । कारवाही नै गर्ने हो भने हिंजो सागर थापा महानगरको मेयर पदमा हारेका हुन् । अहिले पनि सागर थापाको गोजीमा एउटा पर्स छ । त्यो पर्स भित्र पैसा छैनन् । यदी टन्न पैसा हुन्थ्यो त उनीले यस्तो नियति भोग्नु पर्ने थिएन होला । त्यो पर्स भित्र उनलाई चुनावमा हराउने लामो लिष्ट छ । बाबुराम कमरेडले तिनिहरुलाई कारवाही गर्ने हिम्मत गर्नु हुन्छ ? त्यो बेलाको निर्वाचनमा के–के भयो कस्ले के के गरे ? भन्ने बारेमा यहाँ मैले लेख्न मिलेन र लेख्नु पनि हँुदैन । तर मलाई के थाहा छ भने……।

यो एमाले भन्ने पार्टीमा वास्तवमा युवा छैनन् जस्तो लाग्छ । हिंजो माओवादीको वाइसिएललाई तह लगाउन युथ फोर्स खडा भएको थियो । त्यसको अहिले नामो निसानो छैन । हिंजो रुपेश खतिवाडा खेदिँदापनि एमालेका युवाहरुको कुनै आवाज सुनिएन आज सागर थापामाथि छुरा प्रहार हुँदा पनि मौन छन् । हुन त ‘बा’ को पनि कुरा सुनिएको छैन । तर, विचरा ‘बा’ लाई युवा नेता रवि लामिछानेकै संरक्षण गर्न फुर्सद छैन । सागर थापाहरुको के बाल !

अन्त्यमा दलहरुले सागर थापा जस्ता इमान्दार युवाहरुलाई यसरी नै निमोठ्दै जाने हो भने हामीले बलिदानी गरेर ल्याएको व्यवस्थामा रही रहन्छ भन्ने छैन । पहिलो पटक सदनमा २१ सिटका साथ प्रवेश गरेको रवी लामिछानेको पार्टीमा हेरे हुन्छ युवा अनुहार । यदी सयमा नै दलहरुको चेत खुलेन भने ८४ सालमा बाघको छालामा स्यालको रजाइँ यि नै पार्टीका बुढा नेताहरूले गराउने कुरालाई कसैले रोक्न सक्दैन् ।

बुधबार, ०६ असार, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर