लगनशीलताले नमुना बन्दै रबि आधारभूत विद्यालय

सबै विद्यार्थी दलित समुदायका

विराटनगर । मोरङको ग्रामथान २ झोराहाट स्थित एउटा सरकारी विद्यालय जहाँ अध्ययनरत सबै विद्यार्थी र अध्ययापनरत अधिकांश शिक्षकहरु दलित समुदायका छन् । त्यस क्षेत्रमा नमुनाको रुपमा सञ्चालन भइरहेको रबि आधारभूत विद्यालय व्यवस्थापन कला र लगनशीलताका कारण आशालाग्दो ढंगले सञ्चालन भइरहेको छ ।
दलित जातिको बाक्लो बसोबास रहेको बस्तीमा सञ्चालन भएका कारणले पनि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरु त्यस समुदायकै छन् । आर्थिक रुपमा कमजोर अवस्था भएकाहरुले बस्तीकै विद्यालयमा आफ्ना छोराछोरीहरु पढ्न पठाउँछन् । त्यस ठाउँमा बसोबास गर्ने अन्य जाति समुदायका बालबालिकाहरु स्थानीय बोर्डिङ स्कुल वा विराटनगरतिर पढ्छन् । त्यसैले रबि आधारभूत विद्यालयमा अरु समुदायका विद्यार्थीहरु पछिल्ला केही वर्षदेखि भर्ना भएका छैनन् ।

विद्यालयमा दलित विद्यार्थी मात्र भएको शिक्षक अभिभावक संघका अध्यक्ष किरण सरदारले बताए । सरदारका अनुसार कटहरी गाउँपालिका र ग्रामथानका तराईका दलित परिवारका ४०० सय विद्यार्थीहरु अध्ययनरत छन् । शिक्षक भने दलित र गैरदलित रहेका छन् । विद्यालयमा अध्ययापनरत दश जनामध्ये प्रधानाध्यापकसहित पाँच जना शिक्षक दलित समुदायकै छन् ।

२०४५ सालामा स्थापना भएको सो विद्यालयमा सञ्चालित बालविकास कक्षामा कोशी प्रदेशमै धेरै विद्यार्थी अध्ययन गर्छन् । त्यस बालबिकासमा अध्ययनरक्त रहेका छन् । सो विद्यालयमा हाल बालविकासमा भने १३० जना बालबालिका अध्ययनरत छन् । उनीहरू सबै दलित समुदायकै हुन् ।‘यसअघि दलित समुदायमा विद्यार्थीहरु निरन्तर विद्यालय नआउँदा सो विद्यालयमा मर्ज गर्ने अवस्थामा पुगेको थियो । उचित वतावरण र अभिभावक शिक्षाप्रति जागरुक नहुँदा दलित बालबालिका पठनपाठनबाट बन्चित थिए,’ प्रअ जितेन्द्र्र सरदारले भने, ‘अन्य विद्यालयमा गएर दलित बालबालिकाले पढ्ने वातावरण पनि थिएन त्यसैले गाउँमै स्थापना गरिएको विद्यालयमा अभिभावकलाई शिक्षाप्रति जागृत गराएपछि विद्यार्थीहरुको चाप बढेको हो ।’ दलित समुदायको बाहुल्यता भएको त्यस क्षेत्रमा शिक्षा, चेतना, सरसफाइ, पूर्वाधार, लगायतको अभाव छ । तर निरन्तर विद्यालयका शैक्षिक र भौतिक रुपमा विकास गरेर अभिभावको भावना अनुसार पठनपाठन सुरु गरेपछि विद्यार्थी र अभिभावको आकर्षण बढेको हो ।

दलितविद्यार्थी मात्रै अध्ययन गर्ने सो विद्यालयमा शिक्षक भने आधा गैरदलित छन् । प्रअ जितेन्द्र सरदारले जिम्मेवारी पाएपछि विद्यालयप्रति अभिभावकको आकर्षण बढेको हो । ‘दलित बालबालिकालाई शिक्षण गर्न पाउँदा खुसी छौं,’ उनले भने । पूर्वाधार विकासका हिसाबले अझै अभिभावकको चाहनाअनुसार विद्यालय सञ्चालन गर्न समस्या भएको उनको भनाइ रहेको छ । ४० देखि ५० जनालाई एउटै कक्षाकोठामा राखेर अध्यापन गराउन बाध्यता रहेको प्रअ सरदारले बताए । भौतिक संरचनाप्रति सरोकारबालाहरुले ध्यान नदिँदा सोचे अनुसारको काम गर्न नसकेकोमा सरदारले दुःख व्यक्त गरे ।

विद्यालयमा भवन, खेलमैदान, फर्निचर, शैक्षिक सामग्रीको अभाव छ । ‘दलित बस्तीको विद्यालय भएकाले सरकारी निकायको नजर परेको छैन,’ सरदारले सुनाए । बालविकासदेखि कक्षा चारसम्म अग्रेंजी माध्यम र ४ देखि ८ सम्म नेपालीमा माध्यममा अध्यापन हुने सो विद्यालयमा भैतिक संरचनाको अभावले विद्यार्थीको चापलाई भित्र्याउन नसकेको बताइको छ । प्रअ सरदारलको आफ्ना दुवै छोरीलाई सोही विद्यालयमा भर्ना गरेर पढाउन थालेपछि अन्य अभिभावकहरुले पनि विद्यार्थी निरन्तर रुपमा विद्यालयमा पठाउन थालेका छन् । प्रअ सरदारको जेठी छोरी अंकिता ७ र कान्छी छोरी मोनीका कक्षा २ मा सोही विद्यालयमा अध्यनरत छन् ।

आर्थिक वर्ष २०७९÷८० मा आधारभूत विद्यालयहरुको मध्ये कोशी प्रदेशको उत्कृष्ट व्यवस्थापन भएको आधारभूत विद्यालयको रुपमा प्रदेश सरकारले पुरस्कृत गरिएको थियो । राज्यले भौतिक संरचना बनाउन सहयोग गरे प्रदेशकै नमुना दलित पढ्ने विद्यालयको रुपमा बनाउन योजना रहेको प्रअ सरदारले बताए ।

बुधबार, २३ जेठ, २०८१, बिहानको ०७:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर