विराटनगर । दमक–चिसापानी–रवि सडक खण्ड अन्तर्गत इलामको चुलाचुलीमा सोमबार बेलुका रतुवा खोलाले बोलेरो जीप बगायो । बलेरो बगाउँदा इलाम माङ्सेबुङ–३ का तीनवर्षका बालक नियन नेम्वाङ र माङ्सेबुङ ५ की ३० वर्षीय सर्मिला फागोको ज्यान गयो । मृतक ३ वर्षीय बालककी आमा निरु नेम्वाङ घाइते भइन् । उनको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।
इलामको लारुम्बादेखि दमकका लागि छुटेको लु १ च ९४९१ नम्बरको बुलेरो साँझ करिब छ बजे चुलाचुलीको चपेटी क्षेत्रमा रतुवा खोला तर्न लागेको थियो । चालकले बाढी आएको थाहा नपाउँदा उक्त बलेरो एक्कासी बगेको थियो ।रतुवाको यही स्थानमा तीन वर्ष अगाडि माङ्सेबुङ वडा नम्बर ४ का वडा सदस्य धनप्रसाद राईको लडेर मृत्यु भएको थियो । चुलाचुली ५ का वडाध्यक्ष बबिन राईका अनुसार यो सडकको दुर्दसाकै कारण वर्षेनी जस्तो मानवीय क्षतिका घटना भइरहेका छन् ।
उक्त बाटो हुँदै इलामको माङ्सेबुङ, फाकफोकथुम, पाँचथरको मिक्लाजुङ गाउँपालिकाका मानिसहरु तराईका जिल्लाहरु आवत–जावत गर्छन् । दैनिक १ हजार १२ सय सवारी साधन ओहोर दोहोर गर्ने गरेको वडाध्यक्ष राई बताउँछन् । बाटो बन्द हुँदा त्यही खोलाबाट शिक्षक र विद्यार्थीहरु पनि वार–पार गर्छन् । माङ्सेबुङबाट चुलाचुली पढ्न र पढाउन आउने शिक्षक, विद्यार्थी ओहोरदोहोर गरिरहन्छन् । ‘आर्थिक वर्षको समापनको अवस्थामा मनसुन सक्रिय भएको समयमा चलिरहेको सडकलाई अवरोध गरेर, ढुंगा राखेर, जेसिबी राखेर डाइभर्सन गरी खोलाको बाटो प्रयोग गर्न बाध्य बनाएको ठेकेदारले नै हो,’ वडाध्यक्ष राईले भने, ‘ठेकेदारलाई सम्बन्धीत निकायले निगरानी र निर्देशन दिन नसक्नु पनि उनीहरुको कमजोरी हो । जसले गर्दा २ जना मानिसको ज्यान गयो ।’उनले समयमा काम गर्न नसक्ने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरे । ‘ठेकेकदारले पनि काम गर्दा वान वे आवत जावत गर्न सक्ने गरी काम गर्नुपर्ने होइन ? कार्यान्वयन गर्ने निकायले यो विषयमा किन निगरानी गर्न सकेन,’ उनले भने ।
उता, दमक–चिसापानी–रवि सडक निर्माण समितिका अध्यक्ष गगन पुरीले निर्माण कम्पनीले अस्वभाविक रुपमा काममा ढिलाइ गरेको बताए । यद्यपि बलेरो रतुवा खोलाले बगाएर भएको मानवीय क्षति भने संयोग मात्रै भएको उनको भनाइ छ । ‘ब्ल्याकटप गर्दा बाटो बन्द नै हुन्छ । त्यही बेलामा दुर्घटना हुनु संयोग जस्तो भयो । यो दुःखद घटना भयो,’ पुरीले भने, ‘पटक–पटक म्याद थप भएको छ । निर्माण व्यवसायीले काम नगर्दा हामी आजित भएका छौं ।’
दमक–चिसापानी–रवि सडक पहिलो खण्डको दमकबाट सुरुको प्याकेज ७ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्कामा लागेको हो । उक्त बाटो ३० महिनाभित्र कालोपत्रे गर्ने गरी २०७५ साउन २९ गते २२ करोड ५९ लाख ६४ हजारमा महालक्ष्मी–किराँतेश्वर जेभीले ठेक्कामा लिएको थियो । तर, चौथोपटक थपिएको म्याद गत पुसमै सकियो । सो कम्पनीले हर्जना तिरेर जेठ अन्तिमसम्ममा कालोपत्रे सक्ने गरी काम गरिरहेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । सडक डिभिजन कार्यालय दमकका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले सडक निर्माण ढिलो हुनुमा निर्माण व्यवसायीको आफ्नै कारण रहेको बताए । उनले पनि जिप खोलाले बगाएको विषय दुःखद संयोग भएको उनले बताए ।
गत पुसदेखि निर्माणको समयावधि सकिएको भएपनि हर्जना तिरेर काम गरिरहेको उनले बताए । अब साढे ४ किलोमिटर कालोपत्रे गर्न बाँकी रहेको छ । ‘बजेटको कारणले होइन, समयमा काम नगरेको कारण यस्तो भएको हो । उसलाई अहिले हामीले तत्काल गर्नसक्ने भनेको हर्जना लगाउने हो । हर्जनाको समय सुरु भइसकेको छ । १० प्रतिशत हर्जना लाग्दा उसले साढे २ करोड तिर्नुपर्ने अवस्था आएको छ । त्यति गर्दा पनि असारसम्ममा काम सम्पन्न नगरे ठेक्का तोडेर निर्माण व्यवसायीलाई कालोसूचिमा राख्ने प्रक्रिया सुरु हुन्छ,’ पौडेलले भने, ‘अहिलेसम्म ७० प्रतिशत काम सकियो । कालोपत्रे गरेपछि काम सकिन्छ ।’
इलामका पत्रकार राम योङहाङले भने मध्य बर्षामा कालोपत्रे गर्ने भन्दै बाटो बन्द गर्नेपछि सवारी साधन खोलामा कुदाउनुपर्ने बाध्यता रहेको बताउँदै सोही कारण मानिसको ज्यान गरेको बताएका छन् । उनले निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेका छन् । चुलाचुली ५ का वडाध्यक्ष राईले पनि निर्माण कम्पनीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।
‘यो सडक बन्न थालेको धेरै भयो । समयमा काम हुँदैन । अनि बर्खा लागेपछि बाटो बन्द गरेर सडक बनाएको नाटक गर्छ । हामीले रतुवा खोलाबाट नै हिँड्नुपर्ने बाध्यता छ । बर्खा लागेपछि एक्कासी खोलामा बाढी आउँदा गाडी बगायो,’ माङसेबुङ– ५ का देवराज आङदेम्बेले भने, ‘दुईजनाको मृत्युको जिम्मा सरकार र ठेकेदारले लिनुपर्छ ।’
दमक–चिसापानी–रवि सडकलाई सडक डिभिजन कार्यालय दमकले तीन खण्डमा विभाजन गरी ठेक्कामा लगाएको थियो । दमक–चिसापानी सडकको दोस्रो र तेस्रो खण्ड गरी २६ किलोमिटर सडक निर्माणको जिम्मा लुम्बिनी–गणपति जेभीले पाएको थियो । २०७६ फागुनमा ठेक्का लागेको भएपनि २०७९ फागुनमै म्याद सकिएको छ । त्यसपछि थपिएको दश महिनाको समय पनि गत पुसमा सकिएको छ । त्यस अवधिमा पनि दोस्रो खण्डको काम ६२ प्रतिशत र तेस्रोमा ३० प्रतिशत मात्र सकिएको छ । दोस्रो ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको थियो । निर्माण कम्पनीले काम गर्न नसकेपछि सडक विभागले एक महिनाअघि दुईवटै खण्डको ठेक्का भने तोडिसकेको छ ।