प्रहरीलाई उच्च मनोवलका साथ काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार प्रहरीको उच्च मनोवल बनाएर काम गर्न निर्देशन दिएका छन् । सोमबार प्रदेश प्रहरी कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरीको उच्च मनोवल बनाउन प्रदेश सरकारले प्रहरीलाई आधुनिक बनाउन विभिन्न खालका तालिम र स्रोतसाधनले पूर्ण बनाउनेतर्फ लागेको बताए ।

‘प्रहरीका लागि उपकरण, सवारीसाधन, भवन निर्माण गरिरहेका छौँ । आगामी वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिएर प्रहरीको मनोवल उच्च बनाइनेछ । त्यसैले उच्च मनोवलका साथ काम गर्नुस्, हामी साथमा छौँ,’ उनले भने ।
विश्वका धेरै मुलुकभन्दा नेपाल सुरक्षित भएको र यसको श्रेय नेपाल प्रहरीलाई जाने बताउँदै मुख्यमन्त्री कार्कीले थप सुरक्षालाई मजबुत बनाउन प्रहरी लाग्नुपर्ने बताए ।

उनले तीनै तहको समन्वयमा प्रहरीलाई आम नागरिकसम्म स्थापित गर्दै जाने नीति रहेको स्पष्ट पारे । प्रहरी संगठन प्रदेशमा समायोजन हुने चरण रहेको भएपनि यसलाई कार्यान्वयनमा ल्याउन समय लाग्ने कार्कीले बताए । उनले भने, ‘दुई सय, तीन सय वर्षदेखिको मानसिक उल्झन बाँकी छ । त्यसैले एकैचोटी समायोजनको काम सकिँदैन । हामी कानुनी उल्झनलाई पनि समाधान गर्दै प्रहरी समायोजनमा लाग्छौँ ।’

मुख्यमन्त्री कार्कीले आफू आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा पनि निकै काम गरेको र अहिले पनि प्रहरीलाई आधुनिक बनाउने काममा लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सीमित स्रोतसाधनबाट पनि प्रहरीले काम गर्न सकेकोमा खुसी व्यक्त गरे। उनले प्रहरी जिउँदो भगवान भएको टिप्पणी गरे । उनले भने, ‘हरेक नागरिकलाई अप्ठ्यारो पर्दा प्रहरी सम्झिने भएकाले प्रहरी जिउँदो भगवान हुन् ।’ कार्यक्रममा प्रमुख सचिव केदारनाथ शर्मा र प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि बोलेका थिए ।

सोमबार, २१ जेठ, २०८१, दिउँसोको ०२:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर