मुख्यमन्त्री कार्कीद्वारा सगरमाथा दिवसको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ७१ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै हिमाली क्षेत्रको फोहोरको व्यवस्थापन हुने अपेक्षा गरेका छन् ।

मुख्यमन्त्री कार्कीले बुधबार जारी गरेको शुभकामना सन्देशमा सगरमाथा दिवसले हिमाली क्षेत्रमा हुने फोहोरको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने, भौगोलिक सम्पदा संरक्षणका लागि समुदायमा जनचेतना जागृत हुने विश्वास व्यक्त गरेका हुन् । यस्तै उनले भौतिक विकाससँगै पर्यावरणको सम्मान र वातावरण संरक्षणसँगै देशको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुने अपेक्षा पनि गरेका छन् । ‘जलवायु परिवर्तनको हालको सम्वेदनशील घडीमा विकास र वातावरणबीच सन्तुलन कायम राख्दै हिमालय क्षेत्रको मात्र नभएर मुलुकको समग्र विकासको नमूना तयार गर्ने प्रसङ्गमा साँच्चै नै यो ७१ औं अन्तराष्ट्रिय सगरमाथा दिवसले योगदान गर्नेत भन्ने मैले आशा लिएको छु,’ शुभकामना सन्देशमा उल्लेख छ, ‘कोशी प्रदेशको गौरवको रुपमा रहेको सगरमाथा लगायतका हिमालहरुको सन्दर्भमा कोशी प्रदेश सरकारले नेपाल सरकारबाट ठूलो अपेक्षा राखेको छ ।’

मुख्यमन्त्री कार्कीले पर्वताराहण संघको एकल अधिकारसूचीमा रहेता पनि सो क्षेत्रको विकास र प्रबद्र्धनबाट नेपाल सरकारलाई प्राप्त हुने लाभांश भूगोलको स्वामित्वको हिसावले कोशी प्रदेशकै हिमाली पर्यटन प्रबद्र्धनमा लगानी हुने अपेक्षा पनि गरेका छन् ।

सन् १९५३ मे २९ तारिकका दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण गरेका तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको स्मरणमा सन् २००८ देखि हरेक वर्ष मे २९ लाई अन्तराष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाइँदै आएको छ ।

बुधबार, १६ जेठ, २०८१, दिउँसोको १२:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर