विराटनगर । विराटनगर महानगरपालिकाले महानगरभित्रका ६१ वटा सामुदायिक विद्यालयहरुलाई सिलिङ पंखा उपलब्ध गराएको छ । अधिक गर्मीका कारण विद्यालयका विद्यार्थीहरुको पठनपाठनमा समस्या हुनथालेपछि महानगरले एकैपटक ठूलो संख्यामा पंखा वितरण गरेको हो ।
महानगरपालिका परिसरमा विद्यालयका प्राचार्यहरुलाई कार्यवाहक प्रमुख मधुबाबु तिवारीले पंखा हस्तान्तरण गरेका थिए । शैक्षिक प्रसाशन महाशाखाका अधिकृत सुशिल दाहालका अनुसार प्रतिविद्यालय ३ देखि २० थानसम्म सिलिङ पंखा उपलब्ध गराइएको छ ।
सामुदायिक विद्यालयमा एक हजार पंखाको आवश्यकता रहेको तर बजेट अभावका कारण तत्काल ५०० थान पंखा वितरण गरिएको दाहालको भनाइ छ । तत्काललाई ५०० थान उपलब्ध गराएसँगै विद्यालयहरुलाई जडान गर्न भनिएको छ । शैक्षिक प्रशाशन महाशाखा अन्तर्गत आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा विनियोजन रकम अनुरुप सामुदायिक तथा धार्मिक विद्यालयले पंखा पाएका हुन् ।
कार्यवहाक प्रमुख तिवारीले पंखा वितरण गर्नुको उदेश्य विद्यार्थीलाई गर्मीयाममा पठनपाठनमा सहजीकरण गराउने रहेको बताए । उनले महानगरले सामुदायिक विद्यालयमा अनुगमन गर्दा कक्षा कोठामा पंखा अभाव भएको देखिएकाले विद्यार्थीलाई राहत दिने कार्यक्रम तत्काल कार्यान्वयन गरिएको बताए । विगत एक महिनायता ३८ देखि ४२ डिग्री सेल्सियससम्मको तापक्रम विराटनगरमा देखिएको छ ।
विराटनगर महानगरपालिकामा पंखा आपूर्तिका लागि मोरङ सुन्दरहरैंचाको मनोकामना अटो मोवाइल्सले ठेक्का लिएको थियो । महानगरपालिकाले २० लाख बजेट छुट्याएको थियो ।