डाइभर्सन आयोजनाको आवश्यकता

 सम्पादकीय

मध्य तराई (मधेश प्रदेश)का जिल्लाहरुको लाखौं हेक्टर जमिन सिचाईं गर्नसक्ने आयोजना सुनकोशी—मरिण डाइभर्सन आयोजना निर्माणाधीन छ । त्यो आयोजनाको महत्वपूर्ण अर्थात् सुरुङ छेड्ने काम सम्पन्न भइसकेको छ । सुरुङको काम सम्पन्न भएबाट आयोजना अब अगाडि बढेको संकेत हो । आयोजना सम्पन्न हुने दिशामा पनि ठूलो ब्रेक थु्र भएको छ । नेपालको ‘गेम चेन्जर’ परियोजनाका रूपमा अगाडि बढेको यो आयोजना सुनकोशीको बाँध बाँधेर सिन्धुली र रामेछाप जिल्ला हुँदै तराईका पाँच जिल्लामा सिंचाइ गराई देशको आन्तरिक उत्पादन बढाउने लक्ष्यसहित अगाडि बढेको हो । सिन्धुली र रामेछापहुँदै बग्ने सुनकोशी नदीलाई बाँध बाँधेर तराईका पाँच जिल्लाको लाखौं हेक्टर जमिनमा सिँचाई तथा ३१ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाले लिएको छ । खुर्कोटमा हेडवर्क निर्माण गरी १३.२ किलोमिटर सुरुङमार्फत ६७ क्विक मिटर सेकेण्डले सुनकोशी नदीको पानी मरिन नदीको किनारमा पु¥याउने योजना अनुसार काम भइरहेको छ ।

नेपालको अन्न भण्डारको रुपमा चिनिने तराई पछिल्लो समय सुख्खाग्रस्त बनेको छ । चुरे क्षेत्रमा भएको दोहनको कारण खोलानालाहरु सुकेका छन् । जसको असर कृषि उत्पादनमा परेकै छ । नियमित सिचाईं हुने हो भने नेपालको तराई क्षेत्रमा तीन बाली अन्न उत्पादन हुन्छ । त्यसैले सुनकोशी–मरिण डाइभर्सन आयोजना अत्यन्तै महत्वपूर्ण आयोजना हो । यो आयोजना अगाडि बढेसँगै यस्तै प्रकृत्तिकमा डाइभर्सन आयोजना पूर्व तराई र पश्चिम तराईमा पनि सञ्चालन गर्नुपर्छ । जसले खेर गइरहेको पानीको सदुपयोगबाट उत्पादनमा बृद्धि हुने मात्र नभएर, जलविद्युत उत्पादन, बाढी पहिरोको जोखिम न्युनिकरण र वातावरणीय विनासलाई पनि कम गर्न सक्छ । कोशी प्रदेशमा  पनि कोशी नदिको पानी डाइभर्सन गरेर चुरे क्षेत्रबाट वितरणको व्यवस्था मिलाउने हो झापा, मोरङ, सुनसरी र उदयपुरमा सिचाईंको कुनै समस्या हुँदैन । डाइभर्सन आयोजनाबाट विद्युत उत्पादनसमेत गर्न सकिन्छ भने तल्लो क्षेत्रमा कोशी नदिले बाढी र कटानबाट गर्ने क्षति पनि न्युनिकरण हुनेछ । त्यसैले यस क्षेत्रमा पनि यस्ता आयोजना सञ्चालन गर्नेगरि अगाडि बढ्नुपर्छ ।

राष्ट्रिय भावना र एकताका लागि पनि यस्ता आयोजना एउटा कोसेढुंगा सावित हुनेछन् । एकातिर बिजुली र अर्काेतिर सिँचाइ हुँदा सुनकोशी—मरिण डाइभर्सन मधेस प्रदेशको अर्थतन्त्रका लागि एउटा गेमचेन्जर आयोजना हुने विश्वास गर्न सकिन्छ । त्यसैले कोशीसहित लुम्बिनी प्रदेशमा पनि यस्ता आयोजना आगाडि बढाउन सरकारले ध्यान दिनुपर्छ । कृषिलाई उब्जाउ बनाई उत्पादनमा वृद्धि गर्ने ठूलो सम्भावनाको दैलो यसले उघार्नेछ । उत्पादकत्व वृद्धि गर्नेछ । सुक्खा र खडेरीपनबाट छुटकारा दिनेमात्रै नभई चुरे विनाश नियन्त्रणमा अप्रत्यक्ष भूमिका खेल्नेछ । यस्ता आयोजनामा गरेको लगानीको प्रतिफल पनि छिट्टै प्राप्त हुनेछ । राष्ट्रिय अर्थतन्त्र र समृद्धिको आधार यस्ता आयोजनाले तयार गर्न सक्छन् । त्यसैले यस्ता आयोजना सफल बनाउन सिंगो मुलुक एक हुनुपर्छ ।

सोमबार, ३१ बैशाख, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर