अब मन्त्रीको होइन माटोको बहस गरौं

  विमल लामिछाने

मन्त्रीको कुरा सडकदेखि सदनसम्म चलेकै छ । कसका कति मन्त्री ? को कति पटक मन्त्री ? जस्ता विषयमा बहस अब नौलो हुन छाड्यो । अब माटोको बहस सुरु गर्नु आवश्यक छ । मन्त्रीको संख्या बर्सेनि बढेको छ, माटोको उर्भराशक्ति बर्सेनि घटेको छ ।

कृषि उत्पादन घट्दै जानु माटोको उर्वराशक्तिमा ह्रास हुनु मुख्य कारण हो । माटोमा प्राकृतिक र जैविक मलको प्रयोग घटेपछि उत्पादन बढ्ने कुरै भएन । अर्कोतर्फ कृषि व्यवसायलाई उत्पादनमुखी र नाफामूलक वनाउने उद्देश्यले कृषिवालीमा प्रयोग गरिने झारनाशक र किटनाशक औषधीको प्रयोग हानिकारक बन्दै गएको छ । कृषि वस्तु उत्पादन र उत्पादकत्व वृद्धिका लागि रासायनिक विषादीलाई महत्वपूर्ण मानिए पनि त्यसको सुरक्षित प्रयोग, भण्डारण, प्रयोग गर्ने तरिका र सहि तरिकाले विसर्जन नगरिदिँदा जनस्वास्थ्य र वातावरणमा गम्भीर असर पर्दै गएको छ ।

यस्ता बिषादीको जथाभावी वा मापदण्ड विपरीत प्रयोग गर्नाले माटोमा पाइने फाइदाजनक सुक्ष्म जीवाणुहरु जसको क्रियाकलापले माटोको उर्वराशक्ति बढाउनमा सहयोग पु¥याउँछ त्यस्ता जीवाणुहको विनाश हुने अथवा उनीहको वृद्धि विकासमा अवरोध पु¥याउने हुनाले माटोको उर्वराशक्ति घट्ने गर्दछ । साथै विषादीको अवशेष ज्यादा रहेका त्यस्ता तरकारी, फलफुल तथा खाद्यान्न उपभोग गर्दा अथवा असुरक्षित तवरले विषादी छर्कदा मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको विज्ञहरुको तर्क छ ।
विषादीको प्रयोगबाट सकरात्मक भन्दा बढी उत्पन्न हुने नकारात्मक प्रभावलाई दृष्टिगत÷समीक्षा गर्दा विषादी प्रयोगको सह िदिशा आत्मसात गर्नु पर्दछ । आखिरमा विषादी विष नै हो र यसलाई औषधीको रुपमा प्रयोग गर्न सकिदैन । प्राकृतिक तवरले हुने उत्पादनले बढ्दो जनसंख्यालाई धान्न नसकेपछि रासायनिक मललाई प्रयोजनमा ल्याइएको पाइन्छ । उत्पादन वृद्धि र रोगकीराबाट जोगाउन रासायनिक विषादीको प्रयोग सबैतिर निरन्तर बढ्दै गएको छ ।

रासायनिक विषादी मानव स्वास्थ्यका निम्ति लाभदायक हुँदैन । विषादीको मात्रा, प्रयोग, समय र विधि आदिमा उपयुक्त ज्ञान र सीप नहुँदा रासायनिक विषादीका जथाभाबी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने चिकित्सकको भनाइ छ । खासगरी तरकारीमा प्रयोग हुने रासायनिक विषादी जनस्वास्थ्यसित प्रत्यक्ष सम्बन्धित हुन्छन् । नेपालमा विषादीको आयात तीव्रतर बढेसँगै उत्पादनमा विषादी परीक्षणसमेत आवश्यक हुन्छ तर विषादी परीक्षण सम्बन्धित निकायको मौनता विडम्बनाको विषय बनेको छ । अझ एकथरी बिषादीको प्रयोग भइरहेकोमा अर्कै तवरको बिषादी परीक्षणसमेत गर्ने गरेको पाइएको छ । झन् प्रयोगमै नरहेको बिषादी परीक्षणले उपभोक्तामाथि व्यापक बेवास्ता गरेको स्पष्टै हुन्छ ।

रासायनिक मल र विषादीको प्रयोग विधि, पद्धतिको ज्ञान र सीपको विस्तार भने हुन सकेको छैन । त्यसैकारण जथाभावी बिषादीको प्रयोगले खाद्य, ताजा तरकारी तथा फलफुलमा बिषादीको प्रयोग तीव्रतर बढ्दो छ, तर परीक्षणको संस्थागत संरचना नाजुक अवस्थामा छन् । विषादीको अवैज्ञानिक बढ्दो प्रयोगले क्यान्सर लगायतका घातक रोग लाग्ने गर्छ भन्ने चिकित्सकीय सुझावको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । मानव स्वास्थ्यमा प्रतिकूल हुने विषादीको प्रयोग घटाउने र त्यस्ता विषादी प्रयोग भएका खाद्य तथा तरकारीको परीक्षणपछि मात्र उत्पादन बजार पठाउन सरकारले पहल गर्नु जरुरी छ ।

गाउँघरमै पाइने वनस्पति र गाईवस्तुको पिसाब प्रयोग गरी बनाइने जैविक बिषादी पनि प्रभावकारी र सुरक्षित पाइएको छ । गोबर मल, कम्पोस्ट मल, गँड्यौला मलले बालीनालीलाई आवश्यक पर्ने धेरै पोषणतत्व परिपूर्ति गर्छ । तिनको नियमित प्रयोगले रासायनिक मललाई विस्थापित पनि गर्न सक्छ । त्यसैले यस्ता प्राङ्गारिक मलको उत्पादनलाई व्यवसायीकरण गर्न स्थानीय सरकारको ध्यान खिचिनुपर्छ ।

बिषादीको प्रयोग घटाउन र प्राङ्गारिक कृषिलाई प्रवद्र्धन गर्न अन्य प्रयाससँगै उपभोक्ताको रोजाइ र सोचाइमा परिवर्तन ल्याउन जरुरी छ ।भनिन्छ, संसारका ९० प्रतिशतभन्दा बढी कीरा फाइदाजनक हुन्छन् । तिनीहरू मांसाहारी हुन्छन् र हानिकारक कीरा खाएर बाँच्छन् । प्रकृतिको यस्तो अलौकिक प्रक्रियाको महत्वबारे किसानलाई बुझाउन आवश्यक छ । तत्काल र धेरै नाफा लिने नाममा अत्यधिक र अव्यवस्थित रूपमा विषादी प्रयोग गर्ने प्रवृत्ति निरुत्साहित गरिनुपर्छ । विषादीको प्रयोग घटाउदै लानु र प्राङ्गारिक कृषिलाई प्रवद्र्धन गर्नु अहिलेको आवश्यकता हो । अब बहस मन्त्रीको होइन, माटोको गरौं ।

शुक्रबार, २८ बैशाख, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर