विराटनगर । कानुनी प्रक्रिया पुरा नगरी सञ्चालनमा रहेको विराटनगरको जनआन्दोलन चोकस्थित पारस हस्पिटल म्याद सकिएको चार महिनापछि नविकरण भएको छ ।
बहुआयमिक स्वास्थ्य उपचार दिने प्रचार गर्दै आएको अस्पतालको म्याद २०८० को ९ पुसमा सकिएकोमा नविकरण नगरी सञ्चालनमा रहेको समाचार हाम्रोमत दैनिकले प्रकाशित गरेको थियो । म्याद सकिएपनि नविकरणमा चासो नदिएको अस्पतालले बुधबार नविकरणको पत्र प्राप्त गरेको छ ।
हरेक वर्ष स्वास्थ्य संस्था नविकरण गर्नुपर्ने स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० मा उल्लेख छ । तर, पारस हस्पिटलले अटेरी गर्दै नविकरण गर्न चासो देखाएको थिएन् । स्वास्थ्य निर्देशिकामा तोकिएको समय अवधिभित्र दर्ता नगरे दोब्बर दस्तुर लाग्ने र त्यसपछि पनि नविकरण नगर्ने संस्थाको अनुमति खारेज हुने व्यवस्था रहेको छ ।
निर्देशिका अनुसार ५० शय्यासम्मको अस्पताल नविकरण स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय धनकुटामा हुन्छ । पारस हस्पिटल ५० शय्याको अस्पताल हो ।
नविकरणको म्याद सकिएको चार महिनापछि पारसको नविकरण भएको स्वास्थ्य निर्देशानलयले जनाएको छ । ‘एक वर्षको ५० शय्याको अस्पताल सञ्चालन गर्न दिएको सञ्चालन अनुमतिको म्याद मिति २०८०/०९/०७ मा समाप्त भई अनुमति पत्र नविकरणको लागि पेश गरेको निवेदन उपर कारवाही हुँदा तपसिलमा उल्लेखित सुझावहरु कार्यान्वयन गर्ने शर्तमा स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० एवं स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ ले तोकेको मापदण्ड बमोजिम सञ्चालन गर्ने गरी म्याद समाप्त भएको मितिले १ (एक) वर्षको लागि सञ्चालन अनुमति नविकरण गरिएको छ,’ स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले हस्ताक्षर गरेर दिएको नविकरण पत्रमा उल्लेख छ ।
निर्देशालनयले अस्पताललाई तीन वटा सुझाब पनि कार्यान्वय गर्न निर्देशन दिएको छ । स्वास्थ्य संस्था सञ्चालन गर्दा तोकिएको न्यूनतम मापदण्ड पालनाका सम्बन्धमा स्वमूल्यांकन गरी सुधार गर्दै लैजानपर्ने तथा संघीय सरकार र प्रदेश सरकारबाट स्वीकृत गरिएको सरकारी कार्यक्रम लागू गर्दै कार्यान्वयनमा ल्याउनु पर्ने सुझाब निर्देशनालयले दिएको छ । यसैगरी मन्त्रालय र निर्देशनालयले समय समयमा तोकेको अन्य शर्तहरु पालना गर्नुपर्ने र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा मापदण्ड सम्बन्धी निर्देशिका, २०७० को दफा ४ को (ध) र (न) ले तोकेका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्नुपर्ने निर्देशानालयले अस्पताललाई सुझाब दिएको छ ।
अस्पातल नविकरण नगरी सञ्चालन भएको समाचार बाहिर भएपछि केहि व्यक्ति लगाएर समाचारविरुद्ध सञ्चालकले गलत प्रचारबाजी गराएका थिए । तर, दुई दिनपछि निर्देशनालयमा गएर अस्पताल नविकरण गरिएको हो ।
अस्पतालविरुद्ध अख्तियारमा पनि उजुरी
विशिष्टकृत सेवा सुरु गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको कार्यालयमा पारस हस्पिटल विरुद्ध अख्तियारमा पनि उजुरी परेको छ । तर, अस्पताल प्रशासनले त्यसबारे कुनै प्रतिक्रिया दिन चाहेको छैन ।
विशिष्टकृत अस्पतालको स्वीकृति संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मात्र दिने कानुनी व्यवस्था छ । तर, प्रदेशबाट अनुमति पाएको अस्पतालले गलत प्रचार गरेर विरामी ठगेको भन्दै अख्यितारमा उजुरी परेको हो ।
अख्तियारमा उजुरी परेपछि निरीक्षणको लागि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा अख्तियारले पत्रसमेत पठाएको थियो । स्वास्थ्य मन्त्रालयमा अख्तियारबाट पत्र आएपछि स्वास्थ्य मन्त्रालयका कर्मचारीले अस्पतालको निरीक्षण गरेका थिए । निरीक्षणपछि मन्त्रालयले प्रतिवेदन अख्तियार पठाउने तयारी गरेको जनाएको छ ।