विराटनगर । कोशी राजमार्गको विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरणको काम अगाडि बढ्ने भएको छ । सडक सौन्दर्यकरणका लागि प्रतिबद्धता जनाए अनुसार विभिन्न बैंक तथा निजी प्रतिष्ठानहरुले महानगरको खातामा रकम जम्मा गर्न थालेपछि परियोजना अगाडि बढाउने आधार तयार भएको महानगरले जनाएको छ । महानगरले बैंक तथा वित्तीय संस्थाको सहयोगमा सडकको सौन्दर्यकरण प्रक्रिया सुरु गर्न केही दिनअघि छलफल गरेको छ ।
सडक सौन्दर्यकरणका लागि आवश्यक पर्ने रकम विराटनगरमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउने प्रतिबद्धताअनुसार पहिलो चरणमा चारवटा बैंकले ७ लाख ५० हजार रुपैयाँ जम्मा गरिसकेका छन् । सोमबार महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई बैंकहरूले रकमको चेक हस्तान्तरण गरेका छन् । बैंकर्स एसोसिएसन कोशी प्रदेशका अध्यक्ष सन्तोष बुढाथोकीसहितको टोलीले महानगरमै पुगेर मेयर कोइराला र उपमेयर कार्कीलाई चेक हस्तान्तरण गरेका हुन् । एनएमवी बैंकका प्रदेश प्रमुखसमेत रहेका बुढाथोकी, एनआईसी बैंकका हिरा पौडेल, एनआईएमवीका राजीव गजुरेल, नेपाल बैंकका सूर्यप्रकाश भट्ट, ग्लोबल आइएमई बैंकका सुलभहरि जोशीलगायतले आ–आफ्नो बैंकका तर्फबाट उपलब्ध रकमको चेक हस्तान्तरण गरेका छन् ।
सार्वजनिक निजी साझेदारी अवधारणाबमोजिम महानगरले दुई महिनाअघि छलफल आयोजना गरेर बैंकर्स एसोसिएसनका प्रदेश अध्यक्ष बुढाथोकीको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको थियो । प्राविधिकसहितको सो समितिले लामो अध्ययन गरी फूल र विरुवाको जात, लागत अनुमानलगायत समेटेर महानगरलाई प्रतिवेदन बुझाएको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा सौन्दर्यकरणको प्रक्रिया सुरु भएको महानगरका मेयर कोइरालाले जानकारी दिए ।
महानगर एक्लैले विराटनगर बनाउन असम्भव भएकाले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण गर्न आह्वान गरेअनुसार सहयोग प्राप्त भएको मेयर कोइरालाले बताउनुभयो । ‘विराटनगर बनाउने दायित्व हामी जनप्रतिनिधि र महानगरको मात्रै होइन,’ मेयर कोइरालाले भने, ‘विराटनगरमा प्रदेश कार्यालय र शाखा कार्यालय भएका बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् । यसपटक सडक सौन्दर्यकरणका लागि सहयोग प्राप्त भएको छ । विराटनगर बनाउने सन्दर्भमा अन्य संघसंस्थालाई पनि महानगरसित हातमालो गर्न आह्वान पनि गर्दछु ।’
५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेको सडक सौन्दर्यकरण अभियानको संयोजन गरिरहेको वातावरण तथा सरसफाइ शाखाका प्रमुख पुनमकुमार दाहालले जानकारी दिए । सो सडक सौन्दर्यकरण गर्न ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
अनुमान गरिएको रकम माटो मिलाउने, विभिन्न जातका फूल तथा विरुवा रोप्ने, घेराबार गर्ने, पानी पटाउन ट्यांकर खरिद गर्ने, दुईजना मालीको व्यवस्थापन गर्ने, एक वर्षसम्म व्यवस्थापनका लागि खर्च गरिनेछ । महानगरले गठन गरेको समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ५० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने गरी सहमति गरेको थियो ।
सोही समितिले निर्धारण गरेको रकममध्ये बैंकहरूले रकम जम्मा गर्न सुरु गरेका हुन् । सो परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याइएको दाहालले बताए । प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । विराटनगरको सौन्दर्यकरणमा सबै बैंक सहभागी हुने एसोसिएसनका अध्यक्ष बुढाथोकीले बताए । परियोजनालाई पारदर्शी बनाउन महानगरले उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा ९ सदस्यीय उपभोक्ता समितिसमेत गठन गरेको छ । सो समितिले जनसहभागिता गराएर आगामी हप्तादेखि परियोजनालाई अगाडि बढाउनेछ ।