विराटनगर । इलाम २ को प्रतिनिधिसभामा विजयी भएका सुहाङ नेम्वाङको विजय जुलुस मनाउन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली इलाम जाने भएका छन् । उनी आज दिउँसो १ बजे इलाम आइपुग्ने एमाले इलामका नेता कृष्ण काफ्लेले बताए ।
यसअघि एमाले अध्यक्ष ओली इलाम २ मा पार्टीको उम्मेदवार बनेका सुहाङको चुनावी सभामा समेत सहभागी भएका थिए ।
मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै एमालेका सुहाङ विजयी भएका छन् ।
मंगलबार बिहान सुहाङको घरमा एमाले कार्यकर्ताको भीड लागेको छ । उनलाई बधाई दिनेको भीड लागेको हो । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि उनकै छोरा सुहाङले यो क्षेत्रमा चुनाव जितेका छन् ।
सुहाङले २७ हजार ७७२ मत ल्याए भने दोस्रो स्थानका खड्काले २१ हजार ९४२ मत पाए ।
तेस्रो स्थानमा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले ११ हजार ४५७ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूले ५ हजार ५० मत ल्याएर चौथो भए । मिलनले जमानत जफत भएको छ ।