विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका स्थित चतरा धाममा एकमहिने लागेको कुम्भ मेलामा स्नान गर्न आउने भारतीय धार्मिक प्रर्यटकहरुले अनावश्यक हैरानी व्यहोर्नु परेको गुनासो गरेका छन् । ट्राफिक जाँचको नाममा अनावश्यक दुःख दिने र विभिन्न बहानामा रकम असुली गर्ने कामबाट धार्मिक पर्यटकहरु निरुत्साहित देखिएका छन् ।
नेपाल प्रवेश गर्ने वित्तिकै पटक पटक चेकिङ्गको नाममा विभिन्न बहाना बनाएर दुःख दिने गरेको उनीहरुले बताएका हुन् । १२ वर्षपछि आयोजना गरिएको महाकुम्भ मेलामा स्नान गर्न भारतबाट दिनहुँ ठूलो संख्यामा भक्तजनहरु आउने गरेका छन् ।
जोगवनी नाका हुँदै नेपाल प्रवेश गर्न साथ ठाउँठाउँमा चेकिङ्ग गर्ने र दुःख दिने, कतिपय ठाउँमा अवैध रुपमा रकम माग्ने र असुली गर्ने काम भएको बिहार बलुवाबाट आएका रमेश झाले बताए । नेपाल प्रवेश गर्नासाथ धेरै ठाउँमा अवरोध भएको र झमेला लगाएर दुःख दिएको उनले बताए । उनले भने ‘भन्सारले खोजेको सबै कागजात हामीले बुझायौं, त्यहाँबाट सबै ठिकठाक छ भनेपछि यता आएका हौं तर बाटोमा धेरै झमेला भयो । विभिन्न बहानामा दुःख दिने काम गरिदाँेरहेछ ।’ उनले भन्सारमा सबै ठिक छ भनेपछि बाटोमा फेरि किन ठिक हुँदैन भनेर प्रश्न गरे ।
अर्को राघोपुरका संजिव मण्डलले सिमा क्षेत्रमा रहेका ट्राफिकले त भन्सारको रसिद भन्दा ५० रुपैयाँ बढी रकम लिएर भन्सार कटाइदिने गरेको बताए । आफूहरुले नियम थाहा नभएकाले बुझ्न जादाँ सिमामा रहेको प्रहरी स्वयं पैसा लिएर भन्सार कटाइदिने गरेको बताए ।
प्राकृृतिक र धार्मिकस्थल अवलोकनका लागि उत्साह बोकेर आउने भारतीय पर्यटक गुनासो बोकेर फर्किने गरेको उनले बताए । नाकामै भारतीय पर्यटकले भोग्नुपरिरहेको सास्तीबारे कसैले पनि सुनुवाइ नगरेको स्थानीय अशोक साहको अनुभव छ । दुई किलोमिटर अन्तरमा तीन देखि पाँच ठाउँमा गाडी रोकेर जाँच गरिन्छ,’ मण्डलले भने, ‘नाकामै सबै खालका जाँच गरेर पठाउने व्यवस्था भइदिए पर्यटकलाई राहत हुन्थ्यो ।’
नाकाबाट प्रवेश गर्नासाथ नेपालका प्रहरी र शशस्त्र प्रहरीले जाँच गर्छन् । त्यसपछि भन्सारकाले छुट्टै जाँच गर्छ । भन्सार छुटेपछि नेपाल प्रहरीको डियुटी भएको स्थानमा वा आफ्नो चौकी सामुन्ने रोकेर जाँच गर्छन् । त्यहाँबाट पार पाएर अगाडि बढेको केही समयमा ट्राफिक प्रहरीले जाँच गर्छ । ‘एक घण्टा त भन्सारमै लाग्छ,’ भारतीय राजीव रञ्जनले भने, ‘ठाउँ–ठाउँमा रोकेर जाँदा समयमा गन्तव्यमा पुग्न सकिदैन ।’ अहिले धर्मको लागि चतरा आउन पनि सहज छैन । छोटो–छोटो दूरीमा प्रहरीले भारतीय गाडी रोक्दा पर्यटक हैरान हुने गरेको उनले बताए ।
‘भन्सार सुविधा लिएपछि ढुक्क भएर यात्रा थाल्ने सबै प्रकारका जाँच गरेर पर्यटकलाई निर्बाध गन्तव्यमा पुग्ने वातावरण रहेनछ । यस्तै व्यवहारले गर्दा राम्रो ठाउँ हुँदाहुँदै पनि आउन मन लाग्दैन,’ उनले भने ।
चैत महिनाको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीयासम्म एक महिना चल्ने गरी चतरामा पूर्ण महाकुम्भ मेला लागेको छ ।