सम्पादकीय
पछिल्ला दिनमा गर्मी निकै बढ्दो छ । तराई मधेशको तापक्रम बढेर ३९ डिग्रीदेखि ४२ डिग्रीसम्म पुगेको छ । झण्डै एक सातादेखि बढेको गर्मीका कारण तराई र भावर क्षेत्रमा बसोबास गर्नेहरुको जनजीवन प्रभावित बनेको छ ।
बढ्दो तापक्रमसँगै तातो हावा पनि चलिरहेको छ । पश्चिमी तातो वायुका कारण सर्वसाधारणको दैनिकीमा नै असर गरिरहेको छ । अधिक गर्मीले मानिसको स्वास्थ्यमा पनि समस्या ल्याउने भएकोले सचेत रहन आवश्यक छ । स्वास्थ्यमा सावधानी अपनाइएन भने गर्मी मौसममा विभिन्न खालका स्वास्थ्य समस्याहरू देखिने सम्भावना धेरै हुन्छ । यो मौसममा हाइड्रेटेड रहनु अनिवार्य हुन्छ । यो मौसममा हाम्रो शरीरलाई हाइड्रेटेड राख्न धेरै पानी र तरल पदार्थ पिउनु आवश्यक छ । विज्ञहरूले गर्मीको कारण शरीरमा देखिने स्वास्थ्य समस्याबाट बच्न हरेक दिन कम्तिमा ८–१० गिलास पानी पिउने सल्लाह दिने गरेका छन् । त्यसलाई हामीले जीवनशैलीको रुपमा विकास गर्नुपर्छ । जसले शरीरलाई गर्मीबाट जोगाउन सहयोग गर्दछ ।
सितलमा बसेर काम गर्ने, मध्ये दिनमा काम नगर्ने, अनावश्यक काममा बाहिर नजाने आदि बानीको विकास गर्नुपर्छ ।
यस्तो बेलामा हाम्रो खानपान, लवाइखुवाइ आदि बानीमा परिवर्तन ल्याउन जरुरी हुन्छ । गर्मीमा कपासबाट बनेको हलुका रङको लुगा लगाउनाले शरीरलाई चिसो राख्न मद्दत गर्छ । गाढा रङका वा भारी लुगा लगाउँदा शरीरको तापक्रम अझ बढ्ने भएकोले समस्या हुन्छ । त्यसैले गर्मीमा हलुका र सकेसम्म सेतो रङको कपडा प्रयोग गर्नुपर्छ ।
दिनको सबैभन्दा तातो समय सामान्यतः दिउँसो १२ बजे र ४ बजेको बीचमा हुन्छ । यो समयमा बाहिर नजाने र साँझमा बजार जाने वा महत्वपूर्ण कामहरु बिहान बेलुकी गर्ने गर्दा पनि गर्मीबाट बच्न सकिन्छ । दिउँसो बाहिर जानै पर्दा टोपी लगाउने, छाता ओड्ने गर्नुपर्छ ।
गर्मीको समयमा विभिन्न प्रकारका संक्रामक रोगहरुको संक्रमण हुने सम्भावना रहन्छ । फ्लूको लक्षण देखिएमा तत्काल सावधानी अपनाउनु पर्छ । गर्मीको समयमा थकान र गर्मी स्ट्रोकको जोखिम पनि हुन्छ । चक्कर लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने र थकान आदि भएमा स्वास्थ्यकर्मी वा चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
तराईमा बढ्दो गर्मीका कारण जनजीवन प्रभावित हुँदै गए पनि स्थानीय वा प्रदेश सरकारहरुले जनतामा सचेतनामूलक सन्देशहरु राम्ररी प्रवाह गरिरहेको पाइदैन । लू चलेका कारण बढी प्रभावित भएको क्षेत्रमा पनि सरकारले आवश्यक उपचार र अन्य राहतको कुनै प्रबन्ध गरेको छैन । राजनीतिक दलहरुले पनि यस तर्फ खासै ध्यान दिएका छैनन् । गर्मीले सामान्य आर्थिक अवस्था भएका र खेतबारीमा श्रम गरेर जीवन चलाउने वर्गका मानिसहरु बढी प्रभावित भएका छन् । दिउँसो काम गर्न नसक्ने भएकोले उनीहरुलाई साँझ बिहान हातमुख जोर्न गाह्रो परेको छ । यस्तो बेलामा उनीहरुलाई राहत र सहयोगको खाँचो पर्छ सक्छ । सामाजिक संघ संस्था र राजनीतिक दलहरुले त्यस तर्फ विशेष ध्यान दिनुपर्छ । तर हाम्रा राजनीतिक दलहरुको ध्यान त्यसतर्फ गएको पाइदैन । नेकपा माओवादी केन्द्रले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर आफ्ना नेता कार्यकर्ताहरुलाई गर्मी प्रभावित नागरिकको सहयोगमा खटिन आह्वान गरेको छ । उनीहरुलाई राहात तथा सहयोग गर्न निर्देशन दिएको छ । तर अरु राजनीतिक दलहरुले भने गर्मीलाई खास समस्याको रुपमा लिएको देखिदैन । यो पनि प्राकृतिक विपत्तिको एउटा रुप हो । यसबाट सर्वसाधारणलाई जोगाउन सबैको समान प्रयत्न जरुरी छ ।