पूर्वाञ्चल विश्वविद्यालयको दिक्षान्त समारोहमा शेखर र सुनिल किन अनुपस्थित ?

अनुपस्थितको कारण कुण्ठा भएको आरोप

विराटनगर । पूर्वाञ्चल विश्विद्यालयको शुक्रबार भएको १२ औं दिक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयमा मेडिकल कलेजको लागि ३०० शैय्याको सुविधासम्पन्न अस्पताल सञ्चालनको प्रक्रिया अगाडि बढ्ने घोषणा गरे । सोही समारोहमा प्रधानमन्त्रीले यस प्रदेशका प्रमुख पूर्वाधारको विकासमा आगामी बजेटबाट ठोस योजना अगाडि सार्ने बताउँदै विराटनगर चक्रपथको काम पनि अगाडि बढ्ने बताए ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले गरेका महत्वपूर्ण २ घोषणा यस क्षेत्रका हरेक राजनीतिज्ञले चुनाबमा उठाउँदै आएका एजेण्डा हुन् । तर, प्रधानमन्त्रीले ती दुई घोषणा गरेको कार्यक्रममा दुबै योजनासँग सम्बन्धित रहेको निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सांसद एवं काँग्रेस नेता डा.शेखर कोइराला भने अनुपस्थित थिए । कार्यक्रममा सहभागीले विश्वविद्यालयका सिनेट सदस्यसमेत रहेका कोइरालाको खोजी गरेका थिए ।

आयोजकले डा. कोइरालाको लागि कुर्सी राखेको थियो । कार्यक्रम सञ्चालकले मञ्चबाट उनको नाम पनि लिए । तर, कोइराला कार्यक्रममा सहभागी भएनन् । कोइराला मात्र नभएर विश्वविद्यालयका अर्का सिनेट सदस्य मोरङ क्षेत्र नं. ३ का सांसद सुनिल शर्मा पनि कार्यक्रममा अनुपस्थित थिए ।

पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज बनाउने मुद्दा दुबै सांसदले आफ्नो चुनाबी घोषणापत्रमा राखेका छन् । राजनीतिक भाषणमा पनि उनीहरु त्यो कुरा भन्ने गर्दछन् । तर, विश्वविद्यालयलाई मेडिकल कलेज बनाउने र सुविधायुक्त अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा प्रधानमन्त्रीले गरेको कार्यक्रममा उनीहरुको अनुपस्थितिलाई अर्थपूर्ण रुपले धेरैले लिएको देखिन्थ्यो ।

लामो समयदेखि चुनाबी नारामा सीमित रहेका ती योजना अगाडि बढाउनेगरि प्रचण्ड नेतृत्वको सरकारले अघिल्लो वर्ष नै पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गरिसकेको छ । तर, विश्वविद्यालयको आफ्नै मापदण्ड अनुसारको अस्पताल निर्माण भएको छैन । यस्तै सरकारले अघिल्लो बर्ष विराटनगर चक्रपथ निर्माणको काम अगाडि बढाउनेगरि सो आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । प्रदेशले आयोजना अगाडि बढाउने तयारी गर्दागर्दै राजनीतिक दाउपेचको कारण सो योजना संघमै फिर्ता गरिएको छ ।

विराटनगर चक्रपथको आयोजना फिर्ता हुनुको कारण डा. शेखर कोइरालाकै इगो रहेको काँग्रेसकै नेताहरु बताउँछन् । प्रधानमन्त्री प्रचण्डका ज्वाइसमेत रहेका मोरङ ६(१) का प्रदेशसभा जीवन आचार्यको पहलमा तीन दशकदेखि अलपत्र रहेको चक्रपथको आयोजना संघीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेको थियो । प्रदेशले स्रोत सुनिश्चितता गरेर ठेक्का प्रक्रिया अगाडि बढाउन लागेको बेला डा.कोइरालाले आफ्नो दशकौंदेखिको चुनाबी एजेण्डा रहेको आयोजना निर्माणको जस प्रदेश सांसद आचार्यले पाउने देखेपछि आयोजना संघमै फिर्ता पठाउन भूमिका खेलेका थिए ।

डा. कोइरालाले तत्कालिन अर्थमन्त्री डा.प्रकाशरण महतमार्फत भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश ज्वालासमेतलाई प्रभावित पारेर आयोजना फिर्ता गराउने निर्णय गराएका थिए । सो प्रकरणमा डा. कोइराला र प्रदेशसभा सदस्य आचार्यबीच तिक्तता उत्पन्न भएपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहजीकरण गराएर संघमा गएको आयोजनालाई अगाडि बढाउन सहकार्य गर्ने सहमति गराएका थिए । तर, आयोजनाको लागि डा. कोइरालाले कुनै पहल गरेनन् ।
बरु आचार्यले प्रधानमन्त्री र अर्थमन्त्री वर्षमान पुनसँग लामो प्रयास गरेपछि आगामी बजेटबाट आयोजना अगाडि बढाउने वातावरण निर्माण गरेका हुन् । सोही अनुसार प्रधानमन्त्रीले विश्वविद्यालयको कार्यक्रममा त्यसको घोषणा गरे । त्यसको जस आचार्यले पाउने देखेपछि डा. कोइराला विश्वविद्यालयको दिक्षान्त समारोहमै नगएको कार्यक्रमका सहभागीबीच चर्चा थियो । ‘कुण्ठाको कारण डा.कोइराला कार्यक्रममा आएनन्’ एक सहभागीले भने, ‘नत्र आफ्नो क्षेत्रका वडाका कार्यक्रममा पनि पुग्ने उनी विश्वविद्यालयको दिक्षान्त समारोहमा नआउनुपर्ने कारण थिएन ।’

त्यसो त अघिल्लो वर्ष सरकारले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गर्दा डा. कोइरालाले आफ्नो पहलमा सो निर्णय भएको भन्दै जस लिन खोजेका थिए । तर, उनको कुरो पत्याईदिने कोही भएनन् । त्यसैले उनले विश्वविद्यालयमा मेडिकल कलेज चलाउने तयारीप्रति खासै वास्ता गर्न छाडेको बताइन्छ ।

विश्वविद्यालयको अर्का सिनेट सदस्य सुनिल शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक हुन् । उनले मोरङ क्षेत्र नं. ३ का मतदातालाई आफ्नो अस्पतालमा निःशुल्क र सहुलियतमा उपचार गर्ने प्रचारसहित राजनीति गर्दै आएका छन् । त्यसैले उनी विश्वविद्यालयमा मेडिकल कलेज र सुविधायुक्त अस्पताल बनाउने कुराप्रति सन्तुष्ट नरहेको बताइन्छ ।

गोठगाउँमा सुबिधायुक्त अस्पताल र मेडिकल कलेज सञ्चालन भएमा शर्माको नोबेल मेडिकल कलेको ब्यापार मात्र नभएर उनको राजनीतिलाई नै असर गर्नेछ । किनकि मतदाताको उपचार गर्ने आश्वासनको आधारमा राजनीति गर्दै आएका उनको कुरालाई आफ्नो नजिकमा सरकारी अस्पताल स्थापना भएपछि मतदाताले पत्याउने अवस्था बन्ने छैन । त्यसैले शर्मा पनि विश्वविद्यालयको कार्यक्रममा अनुपस्थित भएको अनुमान कार्यक्रमका सहभागीले गरेका थिए ।
प्रदेशसभा सदस्य आचार्य भने जस कसले लिने भन्दा पनि यस क्षेत्रका महत्वपूर्ण आयोजनाहरु अगाडि बढाउन पहल गरिरहेको बताउँछन् । प्रधानमन्त्री र अर्थमन्त्री कन्भिन्स रहेको कारण दुबै आयोजना आगामी वर्षमा अगाडि बढ्ने सुनिश्चित भएको उनको दावी छ ।

‘यसअघि ठूलो मेहनत गरेर चक्रपथ आयोजनालाई पहल गरेर प्रदेशमा ल्याइएको थियो’ उनले भने, ‘राजनीतिक दाउपेचको कारण संघमै फिर्ता भएको आयोजना अब संघबाटै अगाडि बढ्ने निश्चित भएको छ ।’ उनले विकासको काम अगाडि बढाउने प्रदेश र संघका सांसदसँग पनि समन्वय गरेर अगाडि बढ्न प्रयास गर्ने बताएका छन् ।

आइतबार, १६ बैशाख, २०८१, साँझको ०६:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर