विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६५ स्थानमा विभिन्न कार्यक्रम गरी स्वयंसेवक दिवस मनाएको जनाएको छ ।
जीवन विकासले हरेक वर्ष वैशाख ७ गते ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाउँदै आएको छ । शुक्रबार लघुवित्तले १६५ स्थानमा विभिन्न कार्यक्रम मार्फत श्रमदान गरी दिवस मनाएको हो ।
जीवन विकास लघुवित्तका ७१ वटा शाखा कार्यालयहरुले विपन्न परिवारको घर निर्माण तथा मर्मतमा सहयोग गरेका थिए । सुनसरीको वराहक्षेत्र नगरपालिका–४ पीडारीकी गोदी चौधरी, मोरङको धनपालथान गाउँपालिका–६ लोहन्द्रा घाटकी मोनिया कामत र धनपालथान गाउँपालिका– २ की इनरवती ऋषिदेवको घर निर्माणमा जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीलगायत कर्मचारीहरु खटिएको संस्थाले जनाएको छ ।
लघुवित्तले १७ स्थानमा वृक्षारोपण, २१ स्थानका स्थानीय बजार र १३ स्थानका मठमन्दिर सरसफाई गरी डस्टविन वितरण गरेकोसमेत जनाएको छ । यस्तै शैक्षिक सामग्री पनि वितरण गरेको थियो ।
२०७२ सालमा जीवन विकास लघुवित्तको सदस्य सम्मेलनले श्रमदान गरेर स्वयंसेवक दिवस मनाउने घोषणासहित ७ वैशाखलाई स्वयंसेवक दिवस घोषणा गरेको थियो । २०७३ सालदेखि हरेक वर्ष वैशाख ७ मा जीवन विकास स्वयंसेवक दिवस मनाउँदै आएको छ ।
समुदायमा श्रमदानको भावना विकास गर्नका लागि सामाजिक काम गर्दै स्वयंसेवक दिवस मनाउन थालिएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए । २४ जिल्लामा फैलिएको जीवन विकास लघुवित्तले १६० वटा शाखा कार्यालयमार्फत ३ लाख २५ हजार भन्दा बढी परिवारलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!