विराटनगर, २३ माघ/ मोरङको सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले हाजिरी खाता गायब गरेपछि हाजिर गर्न नपाएको कर्मचारीहरुले बताएका छन् ।
नगरप्रमुख दासले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृृत पुरुषोत्तम घिमिरेलाई हाजिर हुन नदिने भन्दै हाजिरी खाता नै गायब बनाएका हुन् ।
तत्कालीन कार्यकारी अधिकृत राजकुमार केसी धनुषाको नगराइन नगरपालिकामा सरुवा भएर गएपछि सरकारले घिमिरेलाई पुसमा सुनवर्षीमा पठाएको थियो । पुस २८ गते नगरपालिका कार्यालयमा हाजिर हुन पुग्दा मेयर दासले कार्यकारीले हाजिर गर्ने एक नम्बर हाजिरी रजिस्टर लिएर हिँडेको बताइएको छ ।
दासले हाजिरी खाता लिएर हिँडेपछि घिमिरेले नयाँ रजिस्टर किनेर त्यसैमा हाजिर जनाउँदै आएको बताउनुभयो । तर, अरू अधिकृत कसैले पनि एक महिनादेखि हाजिर गर्न नपाएको उहाँको भनाइ । प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिने भन्दै मेयर दासले कार्यकक्षमा माघ २९ गते तालाबन्दी गरेका थिए । त्यसपछि उनी उपमेयरको कार्यकक्षमा बस्दै आएका छन् ।
तत्कालीन कार्यकारी अधिकृत केसी विवादमा परेपछि वडाध्यक्षहरले उनको सरुवाको माग गरेका थिए । नगरको काममा वास्ता नगरेको, विकास बजेट सार्वजनिक नगरेको, ठूला योजनाको बजेट फ्छर्योट नगरेको, वडा प्रमुखहरूसँग समन्वय नगरेको भन्दै वडाध्यक्षले सामूहिक रूपमा केसीलाई सरुवा गर्न ज्ञापनपत्र नै बुझाएका थिए ।
– सम्झना राई तामाङ