विराटनगर । आफ्ना सेवाग्राहीलाई सन्तुष्ट बनाउन विभिन्न स्थानीय तहहरुले नागरिकहरूलाई खुसी बनाउन विभिन्न उपायहरू अपनाउन थालेका छन् । करमाथि कर थोपरेको भन्दै आलोचना गर्नेहरुलाई सरकारप्रति सकारात्मक भावना पैदा गराउने उपायको खोजीमा इटहरी उपमहानगरपालिकाले त्यस्तै नौलो तरिका अपनाएको छ ।
जनताको घर दैलोमा जोडिने स्थानीय सरकारले कर बढाएको भन्दै नागरिकहरू रुष्ट बनिरहेका बेला सुनसरीको इटहरी उपमहानगरपालिकाले कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राहीलाई मिठो कफी खुवाएर स्वागत गर्ने गरेको छ । उपमहानगरले सेवाग्राहीसँग कफिको शुल्क लिँदैन ।
उपमहानगरले कफी पिउन व्यवस्थित र शान्त प्रतीक्षालय बनाएको छ । सेवाग्राही आरामसँग बसेर कफी पिउँछन् र शान्त भएर फकिन्छन् । वातानुकुलित प्रतीक्षालयको एकातर्फ अलग्गै स्तनपान कक्ष पनि राखिएको छ । त्यहाँ ४५ इन्चको टेलिभिजन सेट जडान गरिएको छ । एउटा कुनामा कफी बनाउने मेसिन राखिएको छ र कफी बनाउन दुई जना कर्मचारी खटाइएको छ । प्रतीक्षालयमा बन्ने कफी सेवाग्राहीका लागि मात्र नभएर कार्यालयका सबै कर्मचारीहरुका लागि पनि हो । पहिले मासिक करिव ४ लाख रुपैयाँ चियामा खर्च हुने गरेको इटहरीमा अहिले सेवाग्राहीसमेतलाई सेवा दिँदा पनि झण्डै आधाजति चिया खर्च घटेको छ ।
सोही प्रतीक्षालयको हलमा नागरिक साहयता कक्ष तथा विद्यालयहरूको अनुगमन गर्न छुटै कोठामा सिसी क्यामरा राखिएको छ । त्यहिँबाट इटहरीका सबै विद्यालयको नियमित अनुगमन गर्ने व्यवस्था मिलाइएको उपमहनगरपालिकाले जनाएको छ । सामुदायिक विद्यालयहरुको अनुगमन प्रतीक्षलयमा राखिएको सिसी क्यामराबाट हुने गरेको जनाइएको छ ।
नगरबासी नागरिकलाई केही सहजता प्रदान गर्ने उदेश्यले खेर गइरहेको भवनलाई सदुपयोग गरी फागुन ५ गतेदेखि उक्त भवनमा उपमहानगरपालिकाले प्रतीक्षलय सञ्चालन गरेको हो ।
‘पहिले हामीले मासिक ४ लाख भन्दा माथिको चियाको बिल तिर्नु पथ्र्याे,’ उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेले भने ‘अहिले चिया खर्च आधाले घटेको छ, एक पटक कार्यकक्ष व्यवस्थापन र यन्त्र उपकरणमा खर्च भयो तर मासिक खर्चमा ठूलो कटौती गर्न सकियो ।’प्रतीक्षालयमा पुगेर सेवाग्राही र कर्मचारीहरुसमेत गरी सरदर ३५० देखि ४०० कपसम्म कफी खपत हुने गरेको कफी बनाइरहेका कर्मचारीहरुले जानकारी दिए ।
सेवाग्राहीलाई कसरी सन्तुष्ट बनाउने भन्ने सोचले कफी योजना बनेका मेयर पौडेलले बताए । उपमहानगरले सेवाग्राहीहरुको निवेदन फारम भरिदिने व्यवस्था पनि मिलाएको छ । इटहरी उपमहानगरपालिकाले डेढ महिनायता सेवाग्राहीलाई एकीकृत सेवा प्रवाह गरिरहेको छ । विगतमा थोत्रा सामान राख्ने कोठालाई चिटिक्क पारेर उपमहानगरपालिकाले सेवाग्राहीलाई खुसी बनाउने उपाय कार्यान्वयनमा ल्याएको हो ।
कवाडी गोदाम भनेर राखिएको भवनलाई मेयर पौडेले प्रयोगमा ल्याएका हुन् । करिब २० लाख रुपैयाँ खर्चिएर उक्त कक्ष निर्माण गरिएको हो । ‘प्रक्रिया थाहा नभएका जो कोहीे सेवाग्राहीको सबै काम कर्मचारीकै सहयोगमा सम्पादन गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने ‘आफ्नो काम लिएर आउने सेवाग्राहीले समस्या झेल्नु पर्दैन ।’