विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा

विराटनगर । न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रीकालिन गोल्डकपमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो ।

जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम डे«गानसँग प्रतिस्पर्धा गर्नेछ ।

जितको लागि एनआरटीका विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले गोल गरेका थिए । खेलको पहिलो हाफको २६ औं मिनेटमा एनआरटीका रिचार्डले गोल गरी टिमलाई अग्रता दिए । आफिजले निकालिदिएको क्रस पासलाई रिचार्डले डिबक्स भित्रबाट गरेको प्रहारलले जाली चुमेको थियो । पहिलो हाफमा १–० गोलले अग्रता लिएको एनआरटीले दोस्रो हाफको ७५ औं मिनेटमा आफिजले गोल गरी टिमको जित सुनिश्चत गरे । डिबक्स भित्र बैकल्पीक खेलाडी सुदिप श्रेष्ठले निकालिदिएको पासलाई आफिजले हेडिङ गरेको बललाई आर्मीका गोलकिपर समित श्रेष्ठले पन्च गरेर नियन्त्रणमा लिन नसक्दा आकर्षक गोलमा परिणत भयो ।

आर्मीले खेल सुरु भएको ६ मिनेटमा गोल गर्ने अवसर गुमायो । टोलीका दिनेश हेमजुङको कडा प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले उत्कृष्ट बचाए । आर्मीका जिलेस्पी जंग कार्कीले १३ औं मिनेटमा ३० यार्डदेखिको कडा प्रहार पनि एनआरटीका किपर गच्छदारले नियन्त्रणमा लिँदै गोल हुनबाट जोगाएका थिए । त्यसलगतै दिनेशले बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन सकेनन् । १६ औं मिनेटमा एनआरटीका जय गुरुङले आर्मीका डिफेन्डरलाई क्रस गरेर पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्न चुके ।
४० औं मिनेटमा जय गुरुङले निकालिदिएको वान भर्सेस वानको प्रहार एनआरटीका रिचार्डले गोल गने अवसर गुमाएका थिए । त्यसलगतै उनको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठले डिफ्लेक्ट हुँदै बाहिरियो ।
दोस्रो हाफबाट आर्मीले आक्रमक खेल पस्किए पनि गोलमा परिणत गर्न नसक्दा घर फर्किन बाध्य भयो । ५२ औं मिनेटमा जिलेस्पीको हेड पोस्टमाथिबाट बाहिरिँदा आर्मीले बराबारीमा ल्याउन सकेन ।
६५ औं मिनेटमा एनआरटीका संजीव विष्टले वान भर्सेस वानको प्रहार पोस्ट माथिबाट जाँदा थप गोल गर्ने अवसर खेर फाले । ७३ औ मिनेटमा आर्मीका युद्ध शाहीले निकालिदिएको पास जिलेस्पीले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुक्यो । ८६ औं मिनेटमा आर्मीका निरजले बल एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट एनआरटीका गोलरक्षकलाई बीट गर्न नसक्दा गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।
हारपछि आर्मीका प्रशिक्षक मेघराज केसीले पाएको अवसर खेलाडीहरुले चुकाउँदा हार व्यर्वहनु परेको बताए । ‘नियमित खेलहरु भइरहेको कारणले धेरै नयाँ खेलाडीहरु छन् । राम्रै खेल्दाखेल्दै पनि पाएको अवसर चुकाउँदा हार्नुपर्यो,’ उनले भने ।

जितपछि एनआरटीका सहायक प्रशिक्षक आशिष थापामगरले खेलाडीको राम्रो टिमवर्क भएकोले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको बताए । ‘केटाहरुले धेरै मेहनत गर्दा नतिजा राम्रो आएको छ,’ उनले भने, ‘क्वाटरफाइनलमा थप नयाँ खेलाडी राखेर राख्नेछौं ।’

प्लेरअफ द म्याच एनआरटीका आफिज ओलावाले घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।

शनिबार पहिलो क्वाटरफाइनल खेलमा घरेलु टिम संग्रीला मोरङ फुटबल क्बल र भुटानको आरटीसि एफसी क्बलबीच हुनेछ ।

शुक्रबार, १६ चैत, २०८०, रातीको ०९:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर