इलाम २ मा मत सर्वेक्षण गर्दै नेपाली कांग्रेस

विराटनगर । इलाम–२ मा वैशाख १५ गते हुने उप निर्वाचनमा उम्मेदवारी छनोट गर्न नेपाली कांग्रेसले आन्तरिक मत सर्वेक्षण गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिलेसम्म उम्मेदवारको टुंगो गरिरहेको छैन । कुन उम्मेदवार उठाउँदा कस्तो प्रभाव पर्छ भनेर मत सर्वेक्षण गरी निर्णय लिने उसको तयारी छ ।

मतदाताको भावना बुझ्न महामन्त्री विश्वप्रकाश शर्मा आफैं निर्वाचन क्षेत्रमा खटिएका छन् । अहिले मतदाताको आकाङ्क्षा र भावना बुझ्ने काम भइरहेको उनले बताए । ‘हामीले पार्टीका नेता तथा मतदातासँग उम्मेदवार छनोट र कसरी जीत निकाल्ने भनेर छलफल गरिरहेका छौ,’ उनले भने, ‘२० गतेसम्म उम्मेदवारको टुंगो लगाउँछौ ।’
एमालेले भने उम्मेदवार टुंग्याएर मैदानमा पठाइसकेको छ । सत्ता गठबन्धनमै रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि उम्मेदवार उठाउने भएका छन् । एमालेले इलाममा सुवासका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ ।

इलाम क्षेत्र नम्बर २ को राजनीतिक अवस्था बुझ्न प्राध्यापकहरू खटाइएको शर्माले बताए । ‘हाम्रो अवस्थाको अध्ययन गर्न प्राध्यापकहरूलाई खटाएका छौं । उहाँहरूले १९/२० गतेतिर अध्ययनको प्रतिवेदन हामीलाई बुझाउनुहुन्छ । अनि हामी उम्मेदवारको टुंगो लगाउँछौ,’ उनले भने ।

कांग्रेस कोशी प्रदेश समितिले इलाम २ को उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । पाँच जना पुरुष र दुई जना महिलाको नाम केन्द्रीय कार्यालय पठाएको हो । डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेको कांग्रेस कोशी प्रदेश समितिले जनाएको छ ।

२०७९ मा भएको आम निर्वाचनमा धोरै मतान्तरले सुवास नेम्मवाङ (हाल स्वर्गीय)ले चुनाव जितेका थिए । तर, त्यति बेला गठबन्धन थियो । माओवादी केन्द्र, एकीकृत समाजवादीले पनि माओवादीले सहयोग गरेको थियो । चुनावमा पराजय भोगेपछि माओवादीले असहयोग गरेको कांग्रेसले निष्कर्ष निकालेको थियो । गत आम निर्वाचनपछि सांगठनिक अवस्था राम्रो बनेकाले चुनाव जित्नेमा आशावादी रहेको महामन्त्री शर्माले बताए ।

माओवादी केन्द्रले धिरेन्द्र शर्मासहित चार जनाको नाम सिफारिस गरेको छ । गठबन्धनमै रहेको नेकपा (एकीकृत समाजवादी)ले पनि उम्मेदवारको टुङ्गो लगाइसकेको छ । एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

यस्तै सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि उम्मेदवार टुंग्याइसकेको छ । उसले पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूले पनि प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक केन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएको छ । सिके राउतको जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाइसकेको छ । राप्रपाले पनि आफ्नै उम्मेदवार उठाउँदै छ ।

यसपटक जसरी भएपनि चुनाव जित्नेमा कांग्रेस रहेको छ । माओवादी र नेकपा एस सत्ता गठबन्धमा रहेकाले एमालेलाई नै सघाउने आशंका ती दलका नेताहरुले गरेका छन् ।
संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सोही निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । यो उपनिर्वाचनलाई दलहरूले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । एमालेले आफ्नो विरासत जोगाउन बल गरिरहेको छ भने अहिलेसम्म त्यो क्षेत्रमा जीत निकाल्न नसकेको कांग्रेस चारतारे झण्डा फहराउने दाउमा छ ।

शुक्रबार, १६ चैत, २०८०, बिहानको १०:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर