हिलो, काँडा र युद्ध !

मलाइ कमल मन पर्छ,
हिलो र खाडी हैन ।
मलाइ गुलाब मन पर्छ,
काँडा र माली हैन ।
रित्तिएर कुरुप बन्दै गएका,
मेरा जिजिबिषाहरुमा
जब कमल रोपियो,
निस्सार मेरो सयनकक्षमा
जब गुलाब छरियो,
जीवन पनि सुन्दर भो !
सपना पनि रंगिन भो !
अब तिमि नै भन
यो सुन्दर जिबन र रंगिन सपनामा,
हिलो र काँडा, खाडी र माली,
कसरी अटाउन सक्छ ?

त्यो फोहरी हिलो, घोच्ने काँडा ।
त्यो बेकामे खाडी, असभ्य माली ।
मेरो समृद्धिले कमल मात्र चिन्दछ ।
मेरो भब्यताले गुलाब मात्र बुझ्दछ ।
पर.. कन्टेनरमा मिल्काउ, फोहरी हिलो,
डढेलोमा सल्काउ, घोच्ने काँडा
डोजर लाएर सम्याउ, बेकामे खाडी ।
एउटा नयाँ मुद्दा लाएर, पन्छाउ त्यो असभ्य माली ।
मलाई सेतो कमल मात्रै मन पर्छ ।
मलाई रातो गुलाब मात्रै मन पर्छ ।
आजकल मलाई गणतन्त्र मन पर्छ,
तर, युद्ध र सहिद हैन ।
मलाइ झन् धेर अवसर प्रिय लाग्छ,
बलिदान र रगत हैन ।

दरबारिया अत्याचार चिर्दै,
जब गणतन्त्र फुल्यो !
काल कोठरी फुटाल्दै,
जब अवसर चम्कियो !
तिम्रो रक्तमुच्छेल काँधमा उभ्भिएको,
मेरो १९ दिन मात्रै महान्,
मबिनाको तिम्रो दशक बेकार ।
तिम्रो गौरव एउटा झूर कहानी !
मेरो बठ्याई एउटा हिट कहानी !
मृत्यु र पीडा मात्रै बोकेको,
त्यो कहालीलाग्दो युद्ध ।
अनि आतंक ओकल्ने सहिदहरु !
जम्मै सँगै बोकेर म कसरी हिँडु ?
मलाई त कमल मात्रै मन पर्छ ।
हिलो र खाडी हैन ।
मलाई त गुलाब मात्रै मन पर्छ ।
काँडा र माली हैन ।

… अब आउने फाल्गुन १ ले,
हिलो, काँडा, र सहिद जम्मा पारेर,
कमल, गुलाब र गणतन्त्र मात्रै रुचाउने,
बैमान महत्वाकांक्षाका बिरुद्ध,
अर्को जनयुद्धको उद्घोष गर्न पर्छ ।
र तिन्को कानको जाली फुट्नेगरी
सम्झाउनु पर्छ,
मुर्ख मनुवा ! हिलो र खाडीबिना, कमल कहाँ फुल्छ ?
काँडा र मालीविना, गुलाब कहाँ खेल्छ ?
युद्ध र सहिदविना, गणतन्त्र कहाँ खुल्छ ?
(महान् जनयुद्ध दिवसको स्मृतिमा)

फाल्गुन ४, २०७६, दिउँसोको ०१:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर