विराटनगर । मोरङ पथरीशनिश्चरेस्थित हसन्दहको सुनदह वचत तथा ऋण सहकारीमा अचानक संकट आइलाग्यो । उक्त सहकारीले वचत फिर्ता दिन नसकेपछि आएको समस्याबारे छुट्टै एउटा टोलीले तीन महिना लगाएर लेखापरीक्षण ग¥यो । लेखापरीक्षणका क्रममा उक्त सहकारीले ९ वर्षअगाडिदेखि नै गरेको लेखापरीक्षण रिपोर्टमा त्रुटि भेट्टायो ।
९ वर्ष अगाडिदेखि नै रमेश बस्नेत भन्ने व्यक्तिले लाइसेन्स होल्डर लेखापरीक्षकको नक्कली छाप लिएर लेखापरीक्षण गर्दथे । उनले १५ हजार लेखेर ५ हजार मात्रै लेखापरीक्षण शुल्क लिन्थे । लेखापरीक्षण रिपोर्टमा प्रत्येक वर्ष नाफा देखाइन्थ्यो । तर, सहकारी चल्नै नसक्ने भएपछि ९ वर्ष अगाडिदेखिको लेखापरीक्षण गर्दा प्रत्येक वर्ष सहकारी ५–७ लाख घाटामा गएको पाइयो । जम्मा घाटा ६९ लाख रहेको पत्ता लाग्यो । अहिले उक्त सहकारीका संचालक समिति अध्यक्ष, व्यवस्थापक तथा अन्य संचालकहरु पक्राउ परेका छन् र उनीहरुमाथि मुद्दा चलाइएको छ ।
मोरङ मिक्लाजुङको चुरेफेरि महिला बचत तथा ऋण सहकारी संस्थामा पनि लामो समयदेखि छद्म लेखापरीक्षकले लेखापरीक्षण गरे । उक्त सहकारीको चार खातामा २६ लाख रुपैयाँ नगद देखिन्छ । तर, व्यवहारमा छैन । पैसा नभएपछि शेयर सदस्यहरुको दबाबमा सहकारीको सेफ (भल्ट) खोलेर हेर्दा ५÷६ हजार मात्रै भेटियो । पछि अरु नै लेखापरीक्षकहरुले गएर हिसाब हेर्दा ३८ लाख रुपैयाँ पैसा हुनुपर्ने देखिन्छ । तर, पैसा भेटिँदैन । त्यसको केही दिन पछि सेफ नै चोरी भयो । चोरीको आरोपमा व्यवस्थापकलाई पक्राउ गरियो । घटना सामसुम बनाउन चोरीको अभिनय भएको एक सहकारीका शेयर सदस्य नै बताउँछन् । उक्त सहकारीमा अहिले समस्या आएको पनि लेखापरीक्षककै कारण भएको जानकारहरु बताउँछन् । किनकी लेखापरीक्षकले चारखाता हेरेनन् । संचालक र व्यवस्थापकले भनेको आधारमा हिसाब राखे । नगद देखियो । तर, व्यवहारमा सहकारी नै घाटामा थियो ।
विराटनगरको माछापुछ्र्रे बचत तथा ऋण सहकारीमा पनि छद्म भेषमा लेखापरीक्षण गर्नेले डुबाएको पत्ता लाग्यो । सहकारीको कारोबार प्रत्येक वर्ष घाटामा हुन्थ्यो । तर, बचतकर्तालाई झुक्याएर बचत संकलन गर्न नाफामा रहेको देखाइयो । ६ करोड वचतलाई लेखापरीक्षकसँग मिलेमतो गरेर ३ करोड देखाइयो । १ करोड ५० लाख कर्जा प्रवाहलाई लेखापरीक्षकसँगको मिलेमतोमै ३ करोड कर्जा देखाइयो । बाँकी रहेको रकम संचालक समितिमा रहेका अध्यक्ष, सचिव, व्यवस्थापकले मनपरी चलाए । अहिले उक्त सहकारीले बचतकर्ता र शेयरधनीलाई फिर्ता दिनुपर्ने रकम ६ करोड ८६ लाख रुपैयाँ अपुग छ । बचतकर्ताको रकम फिर्ता गर्ने रकम नै सहकारीसँग छैन ।
विराटनगरकै जामुनेश्वर वचत तथा ऋण सहकारी संस्थाको पनि अवस्था उस्तै छ । फोनको भरमा कतिपय बैंकका कर्मचारीले लेखापरीक्षण रिपोर्ट बनाए । संस्थामा गएर अवस्था बुझेनन् । चारखाता पनि हेरेनन् । तर, घाटामा गएको सहकारीले वर्षेनी २० प्रतिशत लाभांश भने बाँडिरहयो । २० प्रतिशत लाभांश दिएको भनेर टोलमा कुरा गरियो, बजारमा हल्ला पिटाइयो । शेयरधनीहरु थप हुँदै गए । शेयरपूँजी पनि बढ्दै गयो । वर्षेनी लाभांश बाँड्दा कागजमा दोब्बर, तेब्बर शेयरपुँजी रकम वृद्धि भएको देखेर मख्ख परेका शेयरधनीहरु जब सहकारी डुब्यो अनि झसङ्ग भए । उक्त सहकारीमा अहिले ८२ लाख रुपैयाँ अपचलन गरेको पाइयो ।
विराटनगरकै तुलसी बहुउद्देश्यीय सहकारीमा पनि लेखापरीक्षकको मिलेमतोकै कारण सयौं वचतकर्ताको करोडौं रकम अहिले डुबिरहेको छ । विराटनगरका आधाजसो वचत तथा ऋणको कारोबार गर्ने सहकारीको समस्या यस्तै छ । सहकारीको लेखा परीक्षणबारे सामान्य ज्ञानसमेत नभएकाहरुले संचालकले भनेको भरमा जथाभावि रिपोर्ट लेखिदिँदा समस्या बढीरहेको छ ।
‘लेखापरीक्षण गर्नेलाई समस्या थाहा नभएको होइन । तर, लेखापरीक्षकका कलम र हिसाव हेर्ने आँखामा पैसाको बिटोले पट्टी लगाइदिएपछि जे लेखेपनि भयो । अहिले सहकारीमा आएको समस्या त्यही कारण हो,’ एक सहकारीका लेखापरीक्षक भन्छन् । ‘एउटा सहकारीमा नाफा रहेछ ८ लाख रुपैयाँ । १ लाख नाफा राखियो र बाँकी रहेको रकम बाँडफाँड गरेको पाइयो । त्यो किन भयो भनेर हेर्दा ३ लाख, ४ लाख रुपैयाँ शेयर हाल्नेहरूलाई शेयर प्रतिशतको आधारमा लाभांश बाँड्न त्यसो गरिएको रहेछ,’ उनले भने ।
आजभन्दा १० वर्ष अगाडिको कुरा सम्झदै कतिपय लेखापरीक्षकहरु भन्छन्, ‘डिभिजन सहकारी कार्यालयमा जिल्लाभरका सहकारी संचालकले फाइल बोकेर आउँथे र कर्मचारीले लेखापरीक्षण रिपोर्ट बनाइदिन्थे । कर्मचारीले लेखापरीक्षण रिपोर्ट बनाएवापत मोटो रकम लिन्थे । उनीहरुको अनुगमन पनि हुँदैन थियो । तर, उनीहरु बाहेकले लेखापरीक्षण गरेको सहकारीलाई अनुगमनको नाममा दुःख दिइन्थ्यो ।’ त्यस्तै सहकारीहरू अहिले समस्याग्रस्त बन्दै गएका छन् ।
मोरङमा अहिले पनि एक हजार बढी सहकारी छन् । तर, वास्तविक लेखापरीक्षकहरुले फिल्डमै गएर एक सय सहकारी लेखापरीक्षण गर्लान् । तर, अरू सहकारीको लेखापरीक्षण सहकारी रजिष्टर कार्यालय, सहकारी मन्त्रालय र सहकारी विभागका कर्मचारीको मिलेमतोमै भइरहेको जानकारहरु बताउँछन् । ‘जहाँ पनि अडिटरको कारण समस्या छ । संचालकले जे भन्यो त्यही मान्ने प्रवृत्तिका कारण भएको हो । अडिटरले कन्भिन्स गरेर जानुपर्छ । ३ वर्षभन्दा बढी समय लगातार एउटै संस्थाको अडिट एउटै अडिटरले गर्न नपाउने कानूनी व्यवस्था छ । तर, छद्म अडिटगरेकै कारण धेरै सहकारी बिग्रिएको ती लेखापरीक्षक बताउँछन् ।
लेखापरीक्षकले गलत रिपोर्ट दिएकै कारण समस्या भएको कुरामा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीपनि सहमत छन् । तर, मुख्य जिम्मेवार भने सहकारीका संचालक नै रहेको उनको भनाइ छ । ‘मुख्य समस्या सहकारी संचालककै हो । तर, सहकारी संचालक गरेको कमजोरीलाई यो कमजोरी छ । यसले भविष्यमा यस्तो समस्या हुनसक्छ भनेर नबुझाउनु वा समस्या लुकाइदिनु लेखापरीक्षकको पनि समस्या हो । लेखापरीक्षकले त्यसरी समस्या नलुकाउने र समस्या देखाउने हो भने धेरैहदसम्म सहकारीका समस्या समाधान हुन्छन्,’ उप्रेती भन्छन् ।
लेखापरीक्षकहरूको सिण्डिकेटकै कारण पनि सहकारीमा समस्या रहेको पूर्व सचिव समेत रहेका सहकारी अभियान्ता गोपीनाथ मैनाली बताउँछन् । ‘सीमित मानिसहरुले स्वार्थसहित सहकारी क्षेत्रमा प्रवेश गरेको कारण समस्या भयो,’ उनले भने, ‘एउटै अडिटरले लामो समयदेखि एउटै सहकारीको लेखापरीक्षण गरिरहँदा पनि समस्या भएको पाएका छौं ।’