धरान । सुनसरीको धरानमा आयोजना हुने २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप यही फाागुन २६ गतेबाट सञ्चालन हुने भएको छ ।
आयोजक धरान फुुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । आयोजकका अध्यक्ष प्रताप तामाङका अनुसार देशविदेश गरी ८ टिम सहभागी हुँदैछन् ।
प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लब, श्री स्टार क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल सङ्घ मोरङ, भारतीय क्लब युकेएफसी सहभागी हुनेछन् । प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी पाउने छन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख र प्रत्येक खेलको म्यान अफ द म्यान नगद १० हजार पाउनेछन् । यस्तै उत्कृष्ट गोल रक्षकले २५ हजार, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार तथा सर्वाधिक गोलकर्ताले नगद ३५ हजार रुपैयाँ पाउने छन् ।
क्लबका अध्यक्ष तामाङका अनुसार प्रतियोगिताको ९० प्रतिशत तयारी पूरा भएको छ । सरकारको बियरसहित मादक पदार्थको ब्रान्डलाई प्रचारको लागि खेलकुद प्रतियोगिता प्रयोजन गर्न नपाउने गरी रोक लगाएपछि यो वर्षको गोल्डकप आइएमई बैंकलगायतको प्रायोजन र विदेशबाट प्राप्त हुने सहयोगमा हुँदैछ ।
विजेतालाई दिइने पहिलो पुरस्कार १० लाख रुपैयाँ धरान हङकङ मञ्च लगायत हङकङ स्थित नेपाली सङ्घ संस्थाहरूले प्रयोजन गर्ने निश्चित भएको छ । यस्तै उपविजेतालाई दिइने ५ लाख रुपैयाँको पुरस्कार बेलायत स्थित धरान युके समाजले प्रायोजन गर्नेछ । यसैगरी धरान युके हेल्पिङ हेण्डस्ले ४ लाख रुपैयाँ र अस्ट्रेलिया, पोर्चुगल, जापान, दुबई, कोरिया, अमेरिका, बहराइन, मकाउ लगायतका नेपालीहरूबाट ३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
प्रतियोगिताको लागि धरान उपमहानगरपालिकाले ९ लाख रुपैयाँ, प्रायोजक आइएमईले ५ लाख, कोशी प्रदेश खेलकुद विकाश बोर्डले ५ लाख र क्वालिटी नुडल्सको २ लाख रुपैयाँ दिनेछन् । प्रतियोगिताको अनुमानित बजेट ७७ लाख ६० हजार रुपैयाँ रहेकोमा ६६ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।