विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सहितको सरकारी टोलीले आजदेखि हात्ती प्रभावित क्षेत्रबाट पदयात्रा सुरू गर्दैछ । पदयात्रा झापाको मेचीनगर नगरपालिका– १ स्थित प्रसाद गौंडाबाट सुरु हुनेछ। त्यस दिन झापाका हात्ती प्रभावित विभिन्न क्षेत्रको पदयात्रा सकेर मुख्यमन्त्री कार्की १० गते झापाको दोमुखा हुँदै रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्र भएर सताक्षीधाम पुग्नेछन्। त्यसपछि उनी गैंडे सामुदायिक वनबाट सताक्षीधाम हुँदै कमलखोला(चुलाचुलीको बस्ती सीमा)भएर चुलाचुली आर्मी क्याम्प हुँदै चुलाचुली वन सब–डिभिजन र चाँजुखोला पुग्नेछन्।मन्त्रालयका अनुसार झापाको मेची नगरबाट सुरु भइ इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरसम्म पुग्नेछ ।
फागुन १५ गते उदयपुर जिल्लाको कटारीको बेलसोत बजारमा पदयात्रा सम्पन्न हुनेछ । पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा हुने पदयात्राले पृथ्वीकै भीमकाय एवम शान्त स्थलचर प्राणी हात्तीको जैविक मार्गको पुनस्थापना एवं बासस्थानको सुधार गरी जैविक विविधताको संरक्षण, प्रदेशमा मानव हात्ती सहअस्तित्व कायम गर्दै हात्तीको माध्यमबाट पर्यापर्यटनको थप विकास गर्न सकिने सम्भावनाको उजागर गर्ने विश्वास गरिएको छ ।
‘प्रकृति संरक्षण र पर्यटन प्रवर्धनका लागि हात्ती प्रभावित क्षेत्रमा पदयात्रा–२०८० भन्ने नाराका साथ पदयात्रा आयोजना भएको हो । पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, सन्चारकर्मी, हात्ती विज्ञ, नागरिक समाज एवं आम नागरिकहरुको सहभागिता रहनेछ ।
हात्तीको परम्परागत जैविक मार्गको पुनस्स्थापना तथा बासस्थानको संरक्षण एवम् मानव(हात्ती द्वन्द न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटनको विकास गर्ने उद्देश्यसाथ पदयात्रा आयोजना गरिएको मन्त्रालयका सचिव विशाल घिमिरेले बतनए ।
‘मानव जीवनको उत्पत्तिदेखि नै प्रकृति, वनजङ्गल, अन्य जीवजन्तु र मानवबीच अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ। सदियौंदेखि दक्षिण एसियाको नेपाल र भारतको आसाम तथा पश्चिम बङ्गाल क्षेत्रमा सयकडौँको सङ्ख्यामा एसियाली हात्तीहरुको प्राकृतिक वासस्थानमा विचरण गर्दै आएका छन् । यी हात्तीहरू वर्षेनी भारतको आसामबाट मेचीनदी पार गरी झापा जिल्लाको बाहुनडाँगीबाट नेपाल प्रवेश गर्दै कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभर आवतजावत गर्ने गरेका छन्, घिमिरेले भने, ‘पछिल्लो पाँच दशकयता यी जिल्लाहरूमा जनसङ्ख्या वृद्धि र मानवीय विकासको आवश्यकताको चाप सँगसँगै हात्तीको जैविक मार्गको सङ्कुचन र प्राकृतिक बासस्थानको क्षयीकरण भएको छ । यसले गर्दा एकातिर हात्तीले मानवीय घरगोठ, खेतबारी तथा अन्नबाली विनाश गर्ने र मानवीय क्षति पुर्याउँदै आएको छ भने अर्कोतर्फ विभिन्न दुर्घटना, शिकार तथा प्रतिशोधजन्य कारणबाट वर्षेनी हात्तीको समेत मृत्यु हुने गरेको छ। संरक्षणको क्षेत्रमा गरिएका हालसम्मका अनुभवबाट सिकेर असल प्रयासहरूलाई निरन्तरता दिँदै संरक्षण एवम मानव(हात्ती सहअस्तित्वलाई अझ सफलीभूत बनाउने जिम्मेवारी हाम्रो काँधमा आइपरेको छ ।’