विराटनगर । कोशी प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवन ५ नम्बरस्थित भौंसाबारीमा सार्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले जानकारी दिए । ‘कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन हाल भइरहेको ठाउँबाट वडा नम्बर ५ मा सार्ने गाउँसभाको दुई तिहाई बहुमतले निर्णय गरेको र उक्त निर्णय कार्यान्वयन गराउन अदालतबाट समेत फैसला आएको हुँदा सोही अनुसार भौंसाबारीमा प्रमुख प्रशासकीय भवन सार्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ,’ उनले भने ।
यस्तै मन्त्रीपरिषद्को बैठकले प्रदेश किताबखाना निर्देशिका २०८० स्वीकृत गरेको छ भने बराह पोखरी गाउँपालिकाको नाम परिवर्तन गरेर बाराहापोखरी गाउँपालिका राख्न माग गर्दै उक्त गाउँपालिकाले गरेको सिफारिस गरेअनुसार संघ सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । यस्तै मन्त्रीपरिषदको बैठकले आर्थिक वर्ष २०८१÷०८१ को लागि समपुरक र विशेष अनुदानसम्बन्धी पनि केही निर्णय गरेको मन्त्री राईले जानकारी दिए ।