विराटनगर । अत्यधिक चिसो बढेपछि हिमाली पर्यटनको मुख्य गन्तव्य सोलुखुम्बुको उत्तरी क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
चिसोको कारण खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन् भने पर्यटकहरुको चहलपलह पनि बन्द भएको छ ।
स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधरणले खुम्बु छाडिसकेका छन् । उनीहरू काठमाडौँ र भारतको बुद्धगैयालगायतका क्षेत्रमा जाने गरेका छन् । अहिले खुम्बु क्षेत्र सुनसान बनेको छ ।
पर्यटकीय याम चलिरहँदा पर्यटकले खचाखच हुने खुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान बनेका हुन् । खुम्बु क्षेत्रमा चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा पनि समस्या भएकोले त्यहाँ बसिरहेका स्थानीयलाई समस्या भएको छ ।
चिसोका कारण पाइपमै पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्ति प्रभावित भएको हो । चिसोले खाने तेलदेखि घरभित्र भरेको पानीसमेत जमेर ढिक्का बनेको स्थानीयले बताएका छन् । मज्जाले घाम लागेको बेला मात्र पानी र तेल पग्लने गरेको छ ।
खुम्बु क्षेत्रको तापक्रम अहिले माइनस १७ डिग्री सेल्सियससम्म झरेका छ । चिसोले मानवीय दैनिक क्रियाकलाप नै ठप्प भएको छ । अघिकांश विद्यालय बन्द गरिएको ले बालबालिका आगो तापेर समय कटाइरहेको पिके माध्यमिक विद्यालय लोदिङका शिक्षक ल्हाक्पा शेर्पाले जानकारी दिए ।
नाम्चेका लामाकाजी शेर्पाले सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, गोक्यो, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायतका ठाउँमा पर्यटकको चहलपहल सुनसान बनेपछि होटल व्यवसायी पनि घरेलु कामदारलाई होटल छाडेर अन्यत्र गएका छन् । पर्यटकीय सिजनमा दैनिक सयभन्दा बढी हवाई उडान हुने लुक्लामा अहिले दैनिक ५–६ वटा मात्रै उडान हुने गरेको छ ।
भौगोलिक विकटता तथा उच्च हिमाली क्षेत्र भएकाले जाडो महिनामा सो क्षेत्रमा बस्न गाह्रो छ । उच्च हिमाली क्षेत्र भएकाले पर्यटकीय याममा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ । उच्च हिमाली क्षेत्र खुम्बुका नागरिकको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटन व्यवसाय हो । यहाँ अन्य अन्नबाली उब्जाउ नहुने भएकाले सिजनमा पर्यटन व्यवसाय गर्ने र अफसिजनमा घुमफिर तथा रमाइलो गर्ने यहाँका नागरिकको बाध्यता हो ।
चिसोले विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेको छ । हावापानी मापन केन्द्र सल्लेरीका नवराज पराजुलीका अनुसार पछिल्लो एक सातायता सल्लेरीकै तापक्रम निरन्तर माइनसमा छ । मङ्गलबार सल्लेरीको तापक्रम माइनस २ डिग्री सेल्सियस मापन गरिएको छ ।
सल्लेरी बजार क्षेत्रसहित आसपासका धेरैजसो स्थानमा मानिसले आगो तापेर समय बिताउने गरेका छन् । अधिक चिसोका कारण व्यवसाय सञ्चालन गर्नसमेत कठिन भएको सल्लेरीमा टेलरिङ व्यवसाय गर्दै आएका खड्गबहादुर हिङ्माङले जानकारी दिए ।
जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन चिसोले अझ धेरै प्रभावित बनेको छ । हिमाली क्षेत्र नाम्चे, लुक्ला, फाक्दिङलगायतका स्थानमा चिसोले दैनिकी कष्टकर बनेको हो । चिसोले वस्तुभाउको स्याहार गर्न, घाँसपात गर्नसमेत समस्या भएको छ ।