विपी प्रतिष्ठानको आन्दोलन : राजीनामा दिन उपकुलपतिलाई मेयरको सुझाब

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेट सदस्यसमेत रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काम गर्न नसकेको भन्दै कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले राजीनामा दिनुपर्ने बताएका छन् ।

आफ्ना माग पुरा नभएको भन्दै प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलनमा उत्रिएपनि समस्या समाधान नगरेको भन्दै साम्पाङले निर्णय गर्न नसक्ने उपकुलपति पदमा बसिरहन नहुने बताए ।

‘उपकुलपतिले कार्यकारी समितिको बैठक नै नराखेको भन्ने कुरा आयो । काम गर्न नसक्ने, निर्णंय नै गर्न नसक्ने हो भने राजीनामा दिनुपर्छ’ उनले भने, ‘नेतृत्वले निकास दिन सक्दैन भने किन पदमा बसिरहने ? पद छोड्नुपर्छ, अर्को आउछ र गर्छ ।’

प्रतिष्ठानको वर्तमान समस्याबारे सबैतिर बुझ्दा कायममुकायम उपकुलपतिले नै निकास दिन नचाहेको भन्ने जानकारी पाएको पनि मेयर साम्पाङले बताए । ‘मन्त्री र लोक सेवा आयोगबाट काम अगाडि बढाउन ग्रिनसिग्नल आएको भएपनि कामु उपकुलपतिले नै नै काम गर्न नचाहेको रहेछ’ उनले भने, ‘निर्णय गर्न नसक्नेले नेतृत्व नै लिनुहुदैन ।’

शिक्षक, कर्मचारीहरु अन्यायमा परेकोले न्यायोचित सम्बोधन गर्नुपर्ने मेयर साम्पाङले बताए । आन्दोलनको कारण प्रतिष्ठानलाई लगातार आर्थिक रुपमा पन क्षति भएको भन्दै उनले निकास नदिने हस्तक्षेप गर्ने चेतावनीसमेत दिएका छन् । मेयर साम्पाङ शुक्रबार उपकुलपति कार्यालयमा ताला लगाउन पुगेपनि उपकुलपति कार्यालयको गेटमा नै ताला लागिसकेकोले त्यसै फर्किएका थिए ।

आन्दोलनरत शिक्षक र कर्मचारीहरुले उपकुलपति डा.कार्कीलाई प्रतिष्ठानमा निषेध घोषणा गरेका छन् । वषौंदेखि बढुवा नहुँदा प्रतिष्ठानका शिक्षक, कर्मचारीहरुको वृत्तिविकास रोकिएको भन्दै बढुवा प्रक्रियाको माग गर्दै उनीहरु आन्दोलनमा छन् ।

गत कार्तिकमा उपचार सेवा र विद्यार्थीहरुको पठनपाठन ठप्प भएपछि मेयर साम्पाङकै उपस्थितिमा वार्ता भएर शिक्षक र कर्मचारीसँग ४ बुँदे सहमति भएको थियो । तर, उक्त सहमति कार्यान्वयन नभएपछि पुनः शिक्षक तथा कर्मचारीहरु आन्दोलित भएका हुन् ।

उनीहरुले आइतबार बिहानसम्म उपकुलपति कार्की आएर कार्यकारी समितिको बैठक नराखे इर्मजेन्सी, आइसियु र वार्डबाहेक सम्पुर्ण उपचार सेवा बहिष्कार गर्ने तथा पठनपाठन र परीक्षाका कार्यक्रम पनि बहिष्कार गर्ने घोषणा गरिसकेका छन् ।

यसैबीच प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलाले स्वास्थ्योपचार सेवा र पठनपाठन प्रभावित हुन नदिन आन्दोलनरत पक्षलाई अपिल गरेका छन् । शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले आइतबार बिहानसम्म पनि कार्यकारिणी समिति बैठक बसेर बढुवाको लागि अन्तर्वार्ताको मिति तय नगरे आकमिस्क, आइसियु र वार्डबाहेक सम्पुर्ण सेवा बहिष्कार गर्ने संयुक्त विज्ञप्तीमार्फत घोषणा गरेपछि रजिष्ट्रार संग्रौलाले आन्दोलनप्रति प्रतिष्ठान व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

मागहरुप्रति प्रतिष्ठान सदैव सकरात्मक रहेको, गम्भीर एवं अत्यन्त संवेदनशील भएर समस्या समाधानका लागि निरन्तरुपमा लागिरहेको पनि संग्रौलाको विज्ञप्तिमा उल्लेख छ । समस्याको समाधान सामुहिक प्रयासबाट गर्न सकिने भन्दै उनले उपचारार्थ आउने सर्वसाधारण, विरामीको सेवा र विद्यार्थीहरुको पठनपाठन, परिक्षालगायत शैक्षिक कार्यहरु सुचारु राख्न सहयोगको अपिल पनि गरेका छन् ।

शनिबार, २८ पुष, २०८०, साँझको ०५:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर