विराटनगर । ज्वरो आएको कारण विराटनगरका अस्पतालले भर्ना लिन नमान्दा एक विरामीको समयमा उपचार नपाएर मृत्यु भएको छ ।
खेतमा प्रयोग हुने किटनाशक औषधि हार्बिसाइड सेवन गरेका सुनसरीको देवानगञ्ज १ का २७ वर्षीय रविन्द्र यादवको समयमा उपचार हुन नसक्दा बिहीबार साँझ मृत्यु भएको हो ।
गत आइतबार विराटनगरको कोशी अस्पतामा भर्ना गरिएका उनलाई भेन्टिलेटर आवश्यक पर्ने भएपछि बुधबार बेलुका अन्यत्र रेफर गरिएको थियो । मिर्गौला र कलेजोमा समस्या देखिएपछि भेन्टिलेटर चाहिने भएकोले अन्यत्र रेफर गरेको कोशी अस्पतालले जनाएको छ ।
कोशीबाट रेफर भएपछि भेन्टिलेटर भएको अस्पताल खोज्दै बुधबार साँझदेखि बिहीबार अपरान्हसम्म आफन्तले विराटनगरका अस्पताल चाहारेका थिए । तर, रविन्द्रलाई ज्वरो आएकोले विराटनगरस्थित कुनै पनि अस्पतालले भर्ना नगरेपछि अपरान्ह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
बुधबार साँझ भेन्टिलेटरमा राख्नुपर्ने भएको भन्दै कोशीले रेफर गरेपछि आफन्तले विराटनगरस्थित नोबेल मेडिकल कलेज लगेका थिए । नोबेलले ज्वरो आएको कारण भर्ना नगरेपछि उनीहरू लाइफगार्ड अस्पताल पुगेका थिए । ज्वरो नापेर अस्पतालले गेटबाटै फर्काएपछि बाध्य भएर मध्यरातमा आफन्तले विरामीलाई घर लगेका थिए ।
रविन्द्रका बुबा जोगीलाल यादवका अनुसार विहीबार बिहान पुनः घरबाट एम्बुलेन्समा रविन्द्रलाई लिएर आफन्तले विराटनगरका सबै अस्पताल चाहारेका थिए । बिहान फेरि रविन्द्रको अवस्था खराब हुँदै गएपछि आफन्तले बिरामी लिएर न्यूरो अस्पताल पुगे । त्यसपछि ग्रिनक्रस अस्पताल लगियो, त्यहाँबाट गोल्डेन अस्पताल । तर, सबैले ज्वरो नापे र गेटबाटै फर्काएका थिए ।
विराटनगरका कुनै पनि अस्पतालले भर्ना नलिएपछि दिउँसो १२ बजेतिर एम्बुलेन्स खोजेर परिवारले रवीन्द्रलाई धरान लगेको थियो । विराटनगरमा उपचार नपाएर एम्बुलेन्समा घुम्दाघुम्दै उनको मुखबाट रगत निस्कन थालेको थियो । प्रतिष्ठानमा भर्ना गरिएका उनको उपचारको क्रममा साँझ ७ बजे निधन भएको हो ।
अस्पताल ल्याउन ढिलो भएकोले बचाउन नसकेको चिकित्सकले बताएको मृतकका बाबु जोगीलालले बताउनुभएको छ । मृतकको पोष्टमार्टमपछि मात्र शव परिवारलाई हस्तान्तरण गर्ने प्रतिष्ठानले जनाएको छ ।