राष्ट्रियसभामा यी हुन् माओवादीका ६ उम्मेदवार

विराटनगर । माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले ६ जना उम्मेदवारको टुंगो लगाएको छ ।

नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले सत्तारुढ गठबन्धनमा भएको सहमतिबाट पार्टीले पाएको कोटामा उम्मेदवार तय गरेको हो ।

सत्तारुढ दलहरुबीचको भागठबन्डा अनुसार माओवादी केन्द्रले कोशीको महिला कोटा पाएको थियो । त्यसमा चम्पादेवि कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । यस्तै बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कुप्रसाद सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

राष्ट्रियसभाको फागुन २१ गते पदाबधि सकिने १९ पदमा निर्वाचन हुन लागेको हो । १९ पदमध्ये नेपाली काँग्रेसले १० जना, माओवादी केन्द्रले ६ जना, नेकपा एकीकृत समाजवादीले २ जना र जनता समाजवादी पार्टीले १ जना उम्मेदवार बनाउने सहमति गठबन्धनबीच भएको छ ।

राष्ट्रियसभाका उम्मेदवारहरुको मनोनयन सोमबार हुनेछ ।

आइतबार, २२ पुष, २०८०, दिउँसोको ०२:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर