भोजपुर । भोजपुरबाट खोटाङतर्फ जाने चर्चित मुन्दुम पदमार्गमा गएको तीन महिनामा एक लाख पर्यटकले भ्रमण गरेका छन् ।
प्राकृतिक रूपमा सुन्दर मानिने स्थानबाट अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडाहरू, तराईका समथर फाँटको मनोरम दृश्य अवलोकन गर्दै पदयात्रा गर्न पुग्ने पर्यटकको संख्या बढेको हो ।
पूर्वीपहाडी जिल्ला भोजपुर र खोटाङको सीमा क्षेत्रको ३ हजार १ सय ६५ मिटरको टेम्के डाँडा क्षेत्रबाट शुरु हुने पदयात्रा ३ हजार ३ सय ५० मिटरको मैयुङ डाँडा, ४ हजार १ सय ५५ मिटरको सिलिचुङ डाँडा हुँदै ३ हजार ७ सय ५० मिटरको साल्पापोखरी पुग्न सकिन्छ । भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङबाट सुरु भएर धोत्रे भञ्ज्याङ, मैयुङ डाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा भञ्ज्याङ हुँदै सिलिचुङ डाँडासम्म पुग्छ ।
मुन्दुम पदमार्गमा पर्यटकको सङ्ख्या बढेको टेम्के मैयुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए । पदमार्गको आसपासमा निर्माण भएका किरातको संस्कार र संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसे मैदान, स्थानीय गोठवालाले पालेका चौरी, भेडीगोठ लगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पारेको छ ।
मुन्दुम पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ । किरात राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्कने परिकार, गोठवालाहरूले उत्पादन गर्ने प्राङ्गारिक खानेकुरा, विभिन्न किसिमका वनस्पति, जडीबुटीलगायतको स्वादले पदमार्थमा पर्यटकलाई थप आनन्द दिने गरेको छ ।
उकालो र ओरालो हुँदै फैलिएको पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला देख्न सकिन्छ । किरात राईहरूको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किरात राईहरूको ‘मुन्दुम’ संस्कारबाट राखिएको हो । करिब ६२ किलोमिटर निर्माण सम्पन्न पदमार्गमा २१ वटा विश्राम स्थल, २३ वटा खानेपानी धारा, ५७ वटा ढुङ्गे चौतारा छन् ।
किरात राईको संस्कृति झल्कने चिण्डो आकार का १५ वटा पोखरी निर्माण गरिएको छ । तीन महिनाको अवधिमा यो पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेको भोजपुरको टेम्के मैयुम गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । पर्यटकको आवागमन बढेपछि यहाँको व्यवस्थापनमा ध्यान दिइएको र घुम्न आउने पर्यटकलाई यात्राका क्रममा आइपर्ने समस्या पहिचान गरेर समाधान गर्न गाउँपालिकाको अगुवाइमा स्थलगत रूपमा अनुगमन गरिएको उनको भनाइ छ ।
पदमार्गमा आउने पर्यटकको सङ्ख्या बढेसँगै व्यवस्थापनमा ध्यान दिएको गाउँपालिकाले जनाएको छ । अनुगमनपश्चात् पर्यटकको सहजताका लागि भत्केको ठाउँमा बाटो मर्मत गर्ने, सहज बास बस्नका लागि घरबास होमस्टे लाई व्यवस्थित गर्ने, पानीको व्यवस्थापन गर्नेलगायत काम गरिने उनको भनाइ थियो ।
प्राकृतिक सुन्दरताको मनमोहक दृश्य अवलोकन गर्न, हावापानीका हिसाबले हिमालमा जस्तो ठण्डा र तराईजस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटनलाई व्यावसायीकरण गर्न यो पदमार्गले सहयोग पुर्याउने गाउँपालिकाले जनाएको छ ।
टेम्केमैयुङ गाउँपालिका प्राकृतिक रूपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम भइरहेको गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन् । आउने पर्यटकहरूलाई लक्ष्य गरेर चखेवामा पर्यटन सूचना केन्द्र निर्माण गरिएको उनको भनाइ थियो । पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र पनि निर्माण गरिएको छ ।