विवादास्पद पप्पु कन्स्ट्रक्सनका मालिक रौनियार एमाले प्रवेश गर्दै

विराटनगर । देशभर दर्जनौँ निर्माण ठेक्का अलपत्र पारेर बदनाम पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

आज पर्सा पुगेर एमाले अध्यक्ष केपी ओलीले रौनियार र उनका समर्थकलाई पार्टीमा भित्र्याउन लागेका हुन् ।

अघिल्लो संसदमा जसपाबाट सांसद रहेका उनी भ्रष्टाचार मुद्दा परेपछि निलम्बनमा परेर कार्यकाल सकिएको थियो । नेकपा एमालेको केन्द्रीय सदस्य भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले छाडेर गणतन्त्र फाल्ने भन्दै अभियान चलाइरहेको बेला एमालेले बद्नाम कम्पनीका सञ्चालक रौनियारलाई पार्टीमा स्वागत गर्न लागेको हो ।

विवादास्पद मेडिकल व्यवसायी प्रसाईंलाई एमाले अध्यक्ष ओलीले पार्टीको केन्द्रीय सदस्य मनोनीत गरेका थिए । एमालेको केन्द्रीय सदस्य छँदै झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएर मेची महाकाली अभियान घोषणा गरेका प्रसाईले अहिले एमाले र अध्यक्ष ओलीविरुद्ध चर्को अभिव्यक्ति दिँदै आएका छन् ।

मंसिर ७ गते प्रसाईले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् ।एमालेनिकट युवा संघले उनको प्रदर्शनलाई काउन्टर दिने गरी सोही दिन प्रदर्शन गर्दैछ । दुवैले माइतीघर मण्डलामा प्रदर्शन गर्न खोजेकोमा प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा लगाएको छ ।

माओवादीविरुद्ध जथाभावी बोल्ने गरेको कारण एमालेले प्रसाईलाई कुनै राजनीतिक हैसियत नभएपनि केन्द्रीय सदस्य बनाएको थियो । अहिले उनी एमालेलाई नै घाँडो बनेको बेला अर्का विवादास्पद व्यवसायीलाई एमालेले स्वागत गर्न लागेको हो ।

पर्सा ३ बाट २०७४ सालमा प्रतिनिधिसभामा निर्वाचित भएका रौनियार सञ्चालक रहेको पप्पु कन्ट्रक्सन ठेक्कामा सबैभन्दा विवादित कम्पनी हो । गुणस्तरहिन काम गर्ने र ठेक्का लिएर काम अलपत्र पार्न बद्नाम कम्पनीका रौनियारले राजनीतिमा सक्रिय हुन पछिल्लो समयमा कागजी रूपमा पप्पु कन्स्ट्रक्सनलाई आफ्नो नामबाट परिवारको नाममा नामसारी गराएका छन् । एमालेबाट पर्सा ३ मा आउँदो निर्वाचनमा चुनाव लड्नेगरी उनी पार्टी प्रवेश गर्न लागेको बताइएको छ ।

मङ्गलबार, ०५ मंसिर, २०८०, बिहानको ११:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर