विराटनगर । आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल भारतको गुजरात राज्यस्थित अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।
भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै १२ वर्षपछि एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाएको हो । अष्ट्रेलियाले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गरेको थियो ।
फाइनल पुग्ने क्रममा अपराजित भारतले १० मध्ये १० वटै खेल जितेको थियो भने लिग चरणमा सुरुवाती दुई खेलमा पराजित अष्ट्रेलियाले ७ खेल जितेर सेमिफाइनलमा पुगेको हो । लिगमा तेस्रो भएको अष्ट्रेलियाले दोस्रो भएको दक्षिण अफ्रिकालाई पराजित गर्दै ८ वर्षपछि फाइनलमा पुगेको हो ।
विश्वकप क्रिकेटमा अहिलेसम्म अष्ट्रेलियाले ५ पटक उपाधि जितेको छ भने भारतले २ पटक उपाधि जितेको छ । यसअघि सन् २००३ मा यी दुई टोली फाइनलमा भिड्दा अष्ट्रेलियाले जित हात पारेको थियो ।
भारतले यस पटक उत्कृष्ट प्रदर्शन गर्दै सबै खेल जितेको थियो । तर, अष्ट्रेलियाले खराब सुरुवात गरेपनि त्यसपछिका खेलमा आफ्नो वास्तविक खेल प्रदर्शन गर्दै फाइनलसम्म पुगेको छ ।
अष्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो भने भारतले १९८३ र २०११ मा उपाधि जितेको थियो ।
भारत र अष्ट्रेलियाबीच अहिलेसम्म कुल १५० वटा एकदिवसीय खेल भएको छ । जसमा अष्ट्रेलियाले ८३ वटा खेल जितेको छ भने भारतले ५७ वटा जितेको छ । बाँकी १० खेलमा नतिजा आएको थिएन । भारत र अष्ट्रेलियाबीच विश्वकपमा १३ खेल भएकोमा अष्ट्रेलियाले ८ खेल जित्दा भारतले ५ खेल मात्र जितेको छ ।
खेलामा करिब एक अर्ब ४० करोड जनसंख्याको भारतका खेलाडी रोहित शर्मा र विराट कोहलीको समर्थन अपार हुनेछ । नरेन्द्र मोदी स्टेडियममा जम्मा हुने करिब १ लाख ३० हजार दर्शकमध्ये अधिकांश भारतको समर्थनमा हुनेछन् ।