थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५४ पुगेको छ । रौतहटमा आज थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४ पुगेको हो ।

रौतहटको वृन्दावन नगरपालिका–९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।

त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् । काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिनुभयो ।

मङ्गलबार, १६ बैशाख, २०७७, दिउँसोको १२:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर